७ वैशाख २०८१ शुक्रबार
राजनीति

आफ्नैबाट चुनौती

जनकपुर- प्रदेश २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख राजनीतिक दललाई बागी उम्मेदवारले अप्ठेरोमा पारेका छन् ।  टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै धनुषाका विभिन्न नगर र गाउँपालिकामा नेपाली कांग्रेस, एमालेसहित दलका नेताले स्वतन्त्र उम्मेदवारी दिएपछि ती दललाई आफ्नै पार्टीभित्रको चुनौतीले पिरलेको छ ।

उम्मेदवार छनोटलाई लिएर अन्य दलभित्र पनि असन्तुष्टि छ तर कांग्रेस र एमालेमा जस्तो विद्रोहको अवस्था भने छैन । कांग्रेस र एमालेमा विवाद समाधान हुनुको साटो एकपछि अर्को गर्दै बल्झिन थालेको छ । 

एमाले जनकपुर उपमहानगरपालिकाका संयोजक सुरेन्द्र राईसहित आधा दर्जन नेताले तल्लो तहको निर्णयविपरीत पार्टी नेतृत्वले आर्थिक चलखेल गरेर उम्मेदवार छनोट गरेको आरोप लगाएका छन् । धनुषाका पाँच नगर र गाउँपालिकाका संयोजकले शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जिल्ला कमिटीका अध्यक्ष राजकिशोर यादव र नेता रघुवीर महासेठले आर्थिक चलखेलका आधारमा तत्लो कमिटीका निर्णय उल्टाएको आरोप लगाए । 

उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै नागराइन, कमला, जनक नन्दनी  र सहिद नगर तथा गाउँपालिकाका संयोजकसहित एक दर्जन बढी वडाध्यक्षले जिल्ला अध्यक्ष यादव र नेता महासेठलाई कारबाहीको माग गरेका छन् । उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।

गणेशमान चारनाथ नगरपालिकामा पार्टी नेता महासेठले बेचन साहको नाम काटेर कांग्रेसबाट प्रवेश गरेका आफन्तलाई उम्मेदवार बनाएको असन्तुष्ट पक्षको आरोप छ । महासेठले अघि सारेका व्यक्तिप्रति पार्टीभित्रबाट तीव्र असन्तुष्टिपछि नाम परिर्वतन गर्दै पुरुषोत्तम लामालाई उम्मेदवार बनाउने निर्णय भए पनि जिल्ला अध्यक्ष र महासेठले २ बजेसम्म टिकट नदिएपछि उनीहरूले जनमुक्ति पार्टीको नामबाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट टिकट नपाएपछि जनमुक्ति पार्टीबाट उम्मेदवारी दिएका लामा पक्षले ११ वटै वडामा उम्मेदवारी दिए पनि एमालेले सबै ठाउँमा उम्मेदवारी दिनसकेको छैन ।

त्यस्तै, कमलामा हरिशचन्द्र ठाकुर, धनुषाधाममा मोहन साह, हंसपुरमा सूर्यनारायण कामदले बागी उम्मेदवारी दिएका छन् भने मिथिला नगरपालिमा पार्टी नेता रामप्रसाद महतो कांग्रेसबाट विद्रोही उम्मेदवार बनेका राजाराम महतोको प्रस्तावक बसेका छन् । 

त्यस्तै, जनकपुर उपमहानगरपालिकामा पनि युवा उद्यमी दीपु यादवलाई अघि नसारेको भन्दै एमालेमा असन्तुष्टि बढको छ । एमाले जिल्ला सचिव लक्ष्मीनारायण यादवले विवाद मिलाउने प्रयास जारी रहेको बताए । ‘पार्टीलाई बलियो बनाउने कुरा एक जनाले गरेर मात्र हुँदैन,’ उनले भने ।

आन्तरिक कलहका कारण चुनावी प्रचारमा अझै निस्कन नसकेको एमालेले धनुषाका आधा स्थानीय तहमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेको छ । शत्रुधन महतो र महासेठ खेमामा विभाजित धनुषा एमालेलाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज छैन ।

एमाले सचिव यादव पार्टीभित्रको विवाद मिलाउन सके धनुषाका १८ मध्ये आधा नगर र गाउँपालिकाको निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दाबी गर्छन् । ‘पार्टीका केन्द्रीय तहका नेताहरूको विवादकै कारण समस्या देखिएको हो,’ उनले भने, ‘तेरो र मेरो गुटले गर्दा अझै पार्टीले चुनावी अभियान तीव्र बनाउन सकेको छैन ।

एमालेमा मात्र होइन कांग्रेसमा पनि टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै आधा दर्जन तहमा पार्टीकै नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गणेशमान चारनाथ नगरपालिकामा रामचरित यादव, मिथिला बिहारी नगरपालिकामा रामउदय यादव, मुख्यापट्टी मसहरनिया गाउँपालिकामा विश्वनाथ यादव, लक्ष्मीनियाँ गाउँपालिकामा समीर यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनक नन्दनी गाउँपालिकामा पनि कांग्रेस नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेस धनुषाका पूर्व सभापति रामसरोज यादवले जिल्लामा आफ्नो दल निकै अघि रहेको दाबी गरे । टिकट वितरणमा केही स्थानमा मिलाउन नसक्दा केही समस्या रहेको स्वीर्कौ यादवले भने, ‘मिलाउने प्रयास भइरहेको छ ।’ उनले १८ स्थानीय तहमध्ये १६ मा कांग्रेसले जित्ने दाबी गरे । ‘केही ठाउँमा समस्या देखिएको छ, समाधान गर्ने प्रयास जारी छ,’ उनले भने, ‘अरु दलमा उम्मेदवार नभएर समस्या छ । हामीकहाँ व्यवस्थापनको समस्या छ ।’

एमाले वैकल्पिक केन्द्रीय सदस्य श्रीप्रसाद साहले धनुषामा पार्टीले ९ देखि ११ तह जित्ने दाबी गरे । उम्मेदवारी छनोटलाई लिएर पार्टीभित्र असन्तुष्टि रहेको स्वीकार्दै उनले भने, ‘नतावाद, अनुचित प्रभावले पार्टीले चुनाव जित्ने केही स्थानमा समस्या परेकै छ ।’ 

त्यस्तै माओवादी केन्दले धनुषामा आफ्नो उपस्थिति निकै सुधार हुने दाबी गरेको छ । जिल्ला अध्यक्ष झल्कु यादवले आठ स्थानीय तहको परिणाम आफ्नो पक्षमा आउने दाबी गरे । ‘पहिलाभन्दा हामी मजबुत भएका छौं,’ उनले भने, ‘हामी कमव्याक गर्दैछौ) धनुषामा ।’

यसैगरी संघीय समाजवादी फोरम नेपालले पनि धनुषामा आफ्नो अवस्था मजबुत रहेको दाबी गरेको छ । संघीय समाजवादी निर्वाचन प्रचार समिति संयोजक ज्ञानेन्द्र यादवले पार्टीको पक्षमा जनलहर आएको दाबी गरे । आफ्नो दलले जित्दा मात्र मधेस र मधेसी जनताको अधिकार र विकास सम्भव रहेको उनको भनाइ छ ।  राजपासहित चुनावी मैदानमा रहेका सबै दलले आआफ्नो अवस्था मजबुत रहेको दाबी गरे पनि उनीहरूले कांग्रेसलाई नै मुख्य प्रतिस्पर्धीका रुपमा हेरेका छन् ।

प्रकाशित: २४ भाद्र २०७४ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App