४ वैशाख २०८१ मंगलबार
राजनीति

दुई नम्बर प्रदेशको निर्वाचन मधेस पक्षधर र विरोधीबीचको जनमतसंग्रह: नेता लेखक

बारा- नेपाली कांग्रेसका नेता तथा केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचन मधेसको पक्षधर र मधेस विरोधीबीचको जनमत संग्रह भएको बताएका छन्।  

कलैया स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा प्रचार प्रसार  समिति बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले यो निर्वाचन मधेसमा बसोबास गर्ने समुदायलाई अधिकार दिने कार्यामा बिरोधी गतिबिधी गर्ने एमाले र मधेसको पक्षधर नेपाली कांग्रेसबीचको जनमत संग्रह भएको पत्रकार सम्मेलनमा लेखकले दावी गरेका छन्।

नेता लेखकले नयाँ जारी गरीएको संविधानमा तराई मधेसको भावना समेट्न नसकिएको स्वीकार्दै संविधानमा भएको त्रुटी सच्याउन नेपाली कांग्रेसले भविष्यमा पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

एमालेले तराई पहाड हिमालबीच द्वन्द ल्याएर राष्ट्रियतालाई खतरामा पार्ने कार्यमा उद्धत रहेको आरोप उनले गराए।

मधेस केन्द्रित दलहरु विभक्त भएको बताउँदै नेता लेखकले मधेसको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने क्षमता ती दलहरुमा नभएको तर नेपाली कांग्रेसले त्यसको पहल कदमी लिएको बताए।

‘तराई– मधेसमा बसोवास गर्ने मधेसी समुदाय लोकतान्त्रिक आन्दोलनमा अन्य समुदाय जस्तै खटेको समुदाय हो,’ कांग्रेस नेता लेखकले भने, ‘ लोकतान्त्रिक आन्दोलनमा खटेको समुदायलाई एमाले पार्टीले हेला गर्नु हुन्न्।’

मधेसको जिल्लालाई समृद्ध बनाउनको लागि फास्टट्रयाक, हुलाकी राजमार्गको निर्माण कार्य नेपाली कांग्रेसकै सहकार्यम बनेको सरकारले अगाडी बढाएको र निजगढ अन्तराष्ट्रिय विमानस्थलको कार्यपनि नेपाली काग्रेस नेतृत्वको सरकारले छिट्टै अगाडी बढाउने आश्वासन उनले दिए।

चुनावी गठबन्धनको सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा कांग्रेस नेता लेखकले मधेस र संघीयताको एजेन्डा बोकेका दलहरुसँग नेपाली कांग्रेसले सहकार्य गरेको उनले बताए।

नेपाली काग्रेसको बहुमत आएपछि संविधान संशोधन गरी मधेसको माग पूरा गर्न नेपाली कांग्रेस कुनै कसर बाँकी नराख्ने लेखकको भनाई छ।

 

प्रकाशित: २३ भाद्र २०७४ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App