coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जिडिपीमा निर्यातको योगदान बढाउन रणनीति

काठमाडौं- निर्यात बढाएर कुल गार्हस्थ उत्पादन (जिडिपी) मा योगदान पुर्‍याउन वाणिज्य मन्त्रालयले नयाँ रणनीति तयार गरेको छ। कृषिजन्य, शिल्प, उत्पादन तथा सेवा सम्बन्धी १२ वस्तु सहित सेवा निर्यात गरेर सन् २०२० को जिडिपीमा ४ प्रतिशत योगदान पुर्‍याउने रणनीति मन्त्रालयले बनाएको हो।

मन्त्रालयले तयार गरेको 'नेपाल व्यापार एकीकृत रणनीति २०१६' मार्फत चिया, अलैंची, अदुवा, कार्पेट, पस्मिना, जुत्ता लगायत १२ वस्तुको निर्यात बढाउने जनाएको छ। बढ्दो व्यापार घाटा कम गर्दै जिडिपीमा योगदान बढाउन मन्त्रालयले यस्तो नीति लिएको हो। विगतमा प्राथमिकतामा राखेका मह, दाल, हाते कागज, स्टिल लगायत वस्तुको निर्यात व्यापार वृद्धि हुन नसकेपछि नयाँ वस्तुलाई प्राथमिकतामा राखेको हो।

हरेक वर्ष व्यापार घाटा बढ्दै गएपछि वाणिज्य मन्त्रालयले घाटा कम गर्न नयाँ रणनीति बनाएको छ। मन्त्रालयले सन् २०१० मा तयार गरेको रणनीति परिमार्जन गर्दै 'नेपाल व्यापार एकीकृत रणनीति २०१६' जारी गरेर तुलनात्मक लाभका क्षेत्र पहिचान गरी नयाँ वस्तुको निर्यातलाई प्राथमिकता दिएको हो। यहाँ उत्पादित वस्तुलाई निर्यात गर्न बढावा दिँदै आएको मन्त्रालयले यो वर्ष कार्पेट, छाला, पस्मिना, जुत्ता लगायत सामग्रीलाई प्रोत्साहन गर्ने जनाएको छ। 'विगतमा सुरु गरेका सहित वस्तुलाई समावेश गरेका छौं,' वाणिज्य मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले भने, 'कृषिजन्य उत्पादन पनि प्राथमिकतामा छन्।' चिया, अलैँची, अदुवा लगायत सामग्रीको पनि निर्यात बढाउने योजना छ।

मुलुकमा आएको भूकम्प, नाकाबन्दीले वैदेशिक व्यापार घटे पनि व्यापार घाटा भने निरन्तर बढेको छ। आर्थिक वर्ष ०७२/७३ मा व्यापार घाटा करिब ७ खर्ब १३ अर्ब १३ करोड ४७ लाख ८९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो ७ खर्ब ९९ करोड रुपैयाँ थियो। आर्थिक वर्ष ०७१/७२ मा आयात ७ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा गत वर्ष घटेर ७ खर्ब ८१ अर्ब ७२ करोड रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ। आयात घटे पनि व्यापार घाटा भने घटेको छैन। आयातको तुलनामा निर्यात निकै कम रहेको छ। अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब निर्यात रहेकोमा आर्थिक वर्ष ०७२/७३ मा घटेर ६८ अर्ब ५८ करोड रुपैयाँमा झरेको छ। गत वर्ष अघिल्लो वर्षको तुलनाम वैदेशिक व्यापार करिब २१ अर्बले घटेको छ। अघिल्लो वर्ष ८ खर्ब ७१ अर्ब ३८ करोड ६१ लाखको व्यापार भएकोमा गत वर्ष घटेर करिब ८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँमा झरेको भन्सार विभागले जनाएको छ।

अनुत्पादक क्षेत्रमा लगानी बढेकोले आयात वृद्धि भएको वाणिज्य सचिव ङइन्द्र उपाध्यायले बताए। 'उत्पादन बढाएर नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु पर्‍यो,' उपाध्यायले भने, 'व्यापार विविधीकरण गर्दै अघि बढ्नुपर्ने अहिलेकेा आवश्यकता हो।' उलने उत्पादन वृद्धिसँगै व्यापारमा क्षमता बढाउनुपर्ने बताए। '२० वस्तुले ७५ प्रतिशत निर्यातलाई कभर गरिरहेको छ,' उनले भने, 'नेपाली ब्रान्डलाई गुणस्तरीय उत्पादन गरेर बजारमा पठाए कुनै समस्या छैन।'

नयाँ उत्पादन आउने सम्भावना रहेकोले अहिलेको अवस्था हेरेर लगानी गर्नुपर्ने उनको भनाइ छ। 'अनुत्पादनक क्षेत्रको खर्च घटाउनु पर्छ,' उनले भने, 'व्यापारमा देखिएका चुनौती सामना गर्ने योजना बनाएर अघि बढ्नु पर्छ।' आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले बुधबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य स्वर्णिम वाग्लेले व्यापार घाटा घटाउन नेपाल ब्रान्डका वस्तु उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्नुपर्ने बताए। 'नेपालमा तयार भएको घडी अन्तर्राष्ट्रिय बजारमा लाखौं रुपैयाँमा बिक्री भएको छ,' उनले भने, 'अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि विदेशी उपभोक्ताको मन जित्ने उत्पादन गरेर सजिलै बेच्न सकिन्छ।' सरकारले कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने तयारी गरिरहँदा आर्थिक वर्ष ०७२/७३ मा १ सय ५० अर्ब रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ। सरकारले हरेक वर्ष कृषि क्षेत्रमा लगानी बढाउँदै आत्मनिर्भर बन्ने घोषणा गरे पनि खाद्यान्न, तरकारी लगायत वस्तु आयात बढ्दै गएको हो

प्रकाशित: १३ श्रावण २०७३ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App