७ वैशाख २०८१ शुक्रबार
खेल

कतार विश्वकपबाट बाहिरिएपछि तरङ्ग

दोहा- एसियाबाट सिरियाले आश्चर्यजनक रूपमा विश्वकप छनोटको प्लेअफमा स्थान सुरक्षित गर्दा अन्य दुई राष्ट्रको यात्रामा पूर्णविराम लागेको छ । गृहयुद्धको चपेटामा परेको सिरियाले सुनौलो यात्रा तय गर्दा विश्व फुटबलका दुई महत्वाकांक्षी राष्ट्र चीन र कतार अर्को वर्ष रूसमा हुने विश्वकप २०१८ बाट बाहिरिएका हुन् ।

दक्षिण कोरियाले उज्वेकिस्तानसँग गोलरहित बराबरी खेल्दै एसियाली छनोटको समूह ‘ए’बाट उपविजेता बन्दै विश्वकपमा स्थान पक्का ग¥यो । उत्कृष्ट पुनरागमन गर्दैै कतारविरुद्ध २–१ को नतिजा निकाले पनि सिरियाले शीर्ष स्थानको इरानसँग २–२ को बराबरी खेल्दै प्लेअफमा स्थान सुरक्षित गरेपछि चीनको सम्भावना तुहिएको हो ।

यसअघि नै विश्वकमा स्थान पक्का गरिसकेको इरान २२ अंकका साथ शीर्ष स्थानमा रहँदा १५ अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा रह्यो । सिरिया र उज्वेकिस्तानको समान १३ अंक भए पनि गोलअन्तरका आधारमा सिरिया प्लेअफका लागि छनोट भएको हो ।

२०२२ को विश्वकप आयोजनाको जिम्मेवारी पाएको कतारका लागि रूस विश्वकप छनोट प्रतियोगिता सुखद बन्न सकेन । तथापि कतारलाई विश्वकप आयोजनाको अधिकार दिने फिफाको निर्णय विवादास्पद बन्दै आएको छ । इटालीपछि विश्वकपका कुनै संस्करणमा छनोट हुन नसके पनि प्रतियोगिता आयोजनाको अधिकार पाउने कतार पहिलो राष्ट्र हो । १९३४ अघि विश्वकपका कुनै संस्करणमा छनोट नभए पनि इटालीले फुटबलको कुम्भमेला आयोजना गर्ने अवसर पाएको थियो । इटालीले उक्त विश्वकप जित्दै आफू सक्षम भएको प्रमाणित गरेको थियो ।

विश्वकप आयोजनाका लागि कतार सक्षम नभएको र आयोजनाको अधिकार पाउन घुस खुवाएको तथा भैतिक संरचना निर्माण गर्दा श्रम शोषण गरेको दाबी गर्ने राष्ट्रका लागि कतारको बहिर्गमन सुखद खबर बन्न सक्छ । त्यसका साथै आतंकवादलाई प्रोत्साहन गरेको भन्दै कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने खाडी राष्ट्रका लागि पनि यो सुखद बन्न सक्छ ।

छनोट प्रतियोगिता अवधिभर तीन प्रशिक्षक परिवर्तन गरेको कतारले १० मध्ये २ खेल मात्र जित्न सफल भयो ।

गत जुनमा दक्षिण कोरियाविरुद्ध निकालेको ३–२ को नतिजा कतारका  लागि सम्झनलायक उपलब्धि बन्यो । उक्त खेलमा खेलाडीले खाडी मुलुकमा जारी संकटमा कतारी राजाको समर्थन गर्दै उनको तस्बिरअंकित टिसर्ट प्रयोग गरेको भन्दै फिफाले कतारलाई ५० हजार अमेरिकी डलर जरिवाना तिराएको थियो । फिफाको नियमअनुसार कुनै पनि खेलमा राजनीतिक र धार्मिक प्रचारका सामग्री प्रयोग गर्न पाइँदैन ।

उक्त खेल लगत्तै प्रशिक्षक जर्ज फासाटीले कतार फुटबल संघलाई समेत आश्यर्चमा पार्दै पदबाट राजीनामा दिएका थिए । कतार फुटबल संघ र फासाटीबीच घरेलु स्तरमा विकास भएका खेलाडीलाई खेलाउने अथवा कतारी मूलका खेलाडीलाई खेलाउने भन्नेबारे विवाद भएको खबर सार्वजनिक भएको थियो । त्यसपछि स्पेनका फेलिक्स सान्चेजले टोलीको प्रशिक्षण सम्हालेका थिए ।

‘हामीसँग धेरै युवा खेलाडी छन् र यो सन् २०२२ को विश्वकपका लागि सुखद खबर हो,’ चीनसँगको हारपछि सान्चेजले भने । तर उनी त्यस बेलासम्म टोलीको प्रशिक्षकका रूपमा बस्ने नबस्ने केही प्रष्ट पारिएको छैन ।

प्रकाशित: २३ भाद्र २०७४ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App