coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कलमवीर गौरी लंकेश

कुनै बेला नेपाली पत्रकारहरूले आफ्नो पेसाका निम्ति प्रेरक मुलुकका रुपमा लिने गरेको भारत अहिले अत्यन्तै प्रतिकूल अवस्थाबाट गुज्रिरहेको छ । स्वतन्त्र पत्रकारिताका निम्ति भारतको हावापानी अनुकूल देखिन छाडेको छ । भारतको कर्णाटका राज्यकी वरिष्ठ पत्रकार एवं अभियन्ता गौरी लंकेशको मंगलबार भएको हत्याले यस्तै प्रकृतिका विगत घटनालाई पुनः स्मरण गराएको छ । ‘संसारकै ठूलो लोकतन्त्र’ का रूपमा चिनिने भारत अहिले पत्रकारका निम्ति अत्यन्तै खतरनाक मुलुकका रूपमा चित्रित हुन थालेको छ । भारतमा मौलाउँदै गएको हिन्दु अतिवादविरुद्ध आवाज उठाएकै कारण उनको हत्या भएको निष्कर्ष त्यहाँका सञ्चारमाध्यमले निकालेका छन् । व्यक्तिगत सम्बन्धमा अत्यन्तै हार्दिक र विनम्र गौरीले राज्यका गलत नीति र व्यवहारविरुद्ध आगो ओकल्ने गरेकी थिइन् । यही नै उनको जीवनहरणको कारक बन्न पुगेको छ । यसै पनि पछिल्ला वर्षमा भारतका पत्रकारले प्रेस स्वतन्त्रताको कमजोर अवस्थाका कारण असजिलो अवस्थामा पत्रकारिता गरिरहेका छन् । राज्यसत्ता सञ्चालकलाई सहज हुने गरी त्यहाँका सञ्चारमाध्यमले फुकीफुकी हिँड्नुपर्ने अवस्था छ । भारतीय सञ्चारमाध्यमले विगतमा जति सशक्त भएर काम गर्ने गरेको थियो अहिले त्यो स्थिति देखिँदैन । त्यहाँ क्रियाशील पत्रकारले व्यक्तिगत रूपमा समेत मुलुकमा विद्यमान असजिलो स्थितिलाई यदाकदा चित्रण गर्ने गरेको पाइन्छ । यथार्थमा त्यहाँ सत्तालाई मन नपर्ने विषय उठाउन अघोषित प्रतिबन्ध छ । जसका कारण ‘आत्मनियन्त्रण’ को स्थितिमा सञ्चारमाध्यम रहेका छन् । कतिपय ख्यातिप्राप्त पत्रकारले आफ्नो पेसाबाट हात धुनुपरेका खबर पनि बेलाबेलामा सार्वजनिक हुन्छन् । गौरीजस्तै पत्रकार हत्या अहिले भारतमा एउटा नियमित आकस्मिकताजस्तो हुन पुगेको छ ।

कन्नड भाषाको साप्ताहिक पत्रिका ‘गौरी लंकेश पत्रिके’ की सम्पादक गौरीको तीन बन्दुकधारीले उनकै घरबाहिर हत्या गरेको घटनाले भारत मात्र होइन संसारभरिका उनका सहकर्मीलाई उद्वेलित तुल्याएको छ । त्यति मात्र होइन आलोचनात्मक आवाजलाई बन्दुकको बलमा सधैंका निम्ति बन्द गर्न सकिन्छ भन्ने एकथरी शासन सहयोगीको मूर्खतापूर्ण व्यवहार यसबाट प्रकट भएको छ । यो हत्याले सत्तालाई सहयोग गर्ने भन्दा पनि त्यसको मुखुण्डो उतार्ने काम गरेको छ । गौरीको हत्या भएको दुई वर्षअघि कन्नड ‘¥यास्नलिस्ट’ मालेसप्पा कालबुर्गीको उनकै घरमा हत्या भएको थियो । भारतमा पत्रकारको हत्या एउटा आम प्रचलनजस्तो हुन पुगेको छ । संसारभरिका पत्रकारको सुरक्षाका निम्ति क्रियाशील संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) को एक अनुसन्धानअनुसार भारतमा सन् १९९२ यता पत्रकारिता गरेकै कारण कम्तीमा २७ जना पत्रकारको हत्या भइसकेको छ । यसको पछिल्लो शृंखलामा गौरीलाई सिकार बनाइएको छ । यसले भारतमा निकै ठूलो हंगामा भइरहेको छ । अभिव्यक्ति स्वतन्त्रता खतरामा परेको घटनाका रूपमा यसलाई चित्रण गरिँदैछ । विवादास्पद धर्मगुरु राम रहिमको बलात्कारको मुद्दा सार्वजनिक जानकारी गराउने पत्रकार रामचन्दर छत्तरपतिको पनि यसै गरी हत्या गरिएको थियो । त्यहाँको अदालतले उनलाई दोषी ठहर गर्दै जेलचलान गरेपछि रामचन्दरको साहसिक कार्यलाई सबैले सम्झना गरेका थिए । राम रहिमजस्ता बलिष्ठ र राज्यसत्तासँग सीधा सम्बन्ध भएका व्यक्तिका बारेमा समाचार लेखेकै कारण उनको हत्या भएको थियो । आफ्ना कर्तुत सार्वजनिक हुन थालेपछि हत्यालाई आफ्नो रक्षा गर्ने साधनका रूपमा आततायी समूहले उपयोग गर्ने गरेको देखिएको छ । श्रीलंकाको सन्डे लिडरका प्रधानसम्पादक लसान्था विक्रमतुंगा ख्यातिप्राप्त पत्रकार थिए, जसलाई सन् २००९ मा कामका लागि गइरहँदा हत्या भएको थियो । त्यो बेला पनि नेपाललगायत यस क्षेत्रका पत्रकारले अपूरणीय क्षतिका रूपमा उनको सम्झना गरेका थिए । हत्या हुनुअघि उनले कुनै खास व्यक्ति, समुदाय वा धर्ममा आक्रमण हुँदा चुप लागेर बस्ने हो भने भोलि आफ्नै पालो आउने संकेत गरेका थिए । उनले सजग गराएजस्तै नियति भयो उनको । लसान्थाको हत्या भएपछि त्यसले संसारभरिका कलमजीवीमा आक्रोश उत्पन्न गराएको थियो ।

अहिले भारतीय पत्रकार गौरी लंकेशका सन्दर्भमा पनि यस्तै अवस्था देखिएको छ । धेरै निकट सम्बन्ध र चासो नभएको भारतको कर्णाटक राज्यकी यी पत्रकारको निधनले यतिबेला नेपाली पत्रकारको मनलाई पनि त्यसै गरी हल्लाइदिएको छ, जसरी एउटा परिवारको सदस्यको हत्या हुन्छ । नेपालमा सशस्त्र द्वन्द्वका बेला सत्ता र विद्रोही पक्षले १५ जना पत्रकारको हत्या गरेका थिए । त्यतिबेला नेपाललाई समेत पत्रकारका निम्ति खतरनाक मुलुकका रूपमा विश्वका पत्रकार पहरेदार संस्थाले चित्रण गरेका थिए । मुलुकमा लोकतन्त्र स्थापनापछि पत्रकारको अवस्थामा सुधार आएको महसुस गरिएको छ । तर, मुलुकका विकृति र विसंगतिमाथि कलम चल्नुसँगै पत्रकारमाथि यहाँ पनि दबाबको वातावरण बन्ने अवस्था देखिन थालेको छ । हाम्रो मुलुकमा पनि एकथरी भुइँफुट्टावर्गले नाजायज कमाइ गर्न थालेका छन् । राज्य संयन्त्रको दोहन गर्न पल्किएकालाई खोजपूर्ण सामग्री र निगरानीले पक्कै पनि गाह्रो पर्नेछ । पत्रकारले मेहनत गर्न थाले र खराबी गर्नेहरूलाई अप्ठ्यारो पर्न थाल्यो भने त्यसले यहाँ पनि खतराको स्थिति अवस्य आउँछ । अहिलेसम्म ‘सेटिङ’ मा कमाइ गर्ने एकथरीलाई पत्रकारले जेसुकै लेख्छन् भन्ने परिरहेको छ । पत्रकारले जेसुकै लेख्ने होइनन् बरु राज्यशक्ति दुरुपयोग गरेर व्यक्तिगत फाइदा उठाउन चाहनेले जे पायो त्यही गरिरहेका छन् । हो, यहींनिर आइपुगे पनि असल र खराबबीचको द्वन्द्व हुन थाल्नेछ । त्यसका लक्षण यहाँ पनि देखिन थालिसकेका छन् । भारतजस्तो लोकतान्त्रिक ठूलो र पुरानो लोकतन्त्रमा त पत्रकारका निम्ति असजिलो अवस्था छ भने संस्था निर्माण नै हुन नसकेको हाम्रो मुलुकको अवस्था झनै कठिन हुनेछ । भारतमा भएको यो घटनाबाट पाठ सिकेर पनि नेपाली प्रेसले भूमिका निर्वाह गर्न कटिबद्ध हुनुपर्छ । यही नै हाम्री भारतीय सहकर्मीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

प्रकाशित: २३ भाद्र २०७४ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App