५ वैशाख २०८१ बुधबार
विचार

मनोवैज्ञानिक सन्त्रास

हिमालयको पानी हजारौँ किलोमिटर टाढा महासागरसम्म पुग्छ । ठूल्ठूला चट्टान, खोल्सा, खेत, नदी, महानदी आदि छिचोल्दै विशाल जलनिधिमा मिसिएपछि कुन गाउँ र कुन देशबाट आएको पानी भनेर छुटिट्दैन । चौथो शताब्दीको ‘आर्ट अफ वार’ (युद्धकला) पुस्तकमा चीनका दार्शनिक सुन् जुले जीवनमा सफलता प्राप्त गर्न हावा, पानी र प्रकृतिबाट शिक्षा लिनुपर्छ भनेका छन् । पानी आकारविहीन, रंगविहीन, गन्धविहीन र आयतनविहीन हुन्छ । चट्टान अड्किएर बस्छ तर पानी अविरल प्रवाहित हुँदै महासागरको परिचय बनाउँछ । तर ‘नेपाली’ भइसकेका हामी पुनः खोल्सातिरै फर्किन खोज्दैछौँ किन ?

सबै नेपाली समान छन् भनेर स्वीकार्नुपर्ने नेपालको संविधानका धेरै ठाउँमा जातीय विभाजनका रेखा कोरिएका छन् । जनसंख्या, भूगोल र इतिहासको विवाद उठाएर राष्ट्रलाई खण्डखण्ड पार्न खोजिँदैछ । यो मनोवैज्ञानिक सन्त्रासको उपचार त्यति सजिलो देखिँदैन ।

दैत्यहरूले धोका दिएपछि देवराज इन्द्र गद्दीच्युत हुन पुगे । ब्राह्मणको भेषमा लुक्नुप¥यो । सम्राट् बलिसँग राज्य खोसेर लिनका निम्ति भगवान् विष्णुले हजारौँ कष्ट भोग्नुप¥यो । वृत्रासुरको वध गर्न नारायणले मनोवैज्ञानिक युद्ध नै गरेका हुन् भने देवताहरूको हितका लागि अग्नि देवताले जलमा लुकेर रणनीति बनाएका प्रसंग पुराणमा आउँछ ।

मत्स्यदेशको सहर विराटनगरमा राजा विराट्को दरबारमा भेष बदलेर बसे युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदी । त्रेतायुगमा दशरथपुत्र रामले चौधवर्ष वनबास बस्नुपरेको थियो । मर्यादापुरुषोत्तमले पनि लुक्नु परेको प्रसंग आउँछ रामायणमा ।

विधिपूर्वक शुभराज्याभिषेक गरेर ‘महाराजाधिराज’ नामको शास्त्रीय पदवी पाएका राष्ट्राध्यक्ष युधिष्ठिर कसरी विराट् राजाको नोकर बन्न सक्छन् ? साइला भाइ अर्जुनलाई छटपटी भयो । युधिष्ठिरले सम्झाए, “मलाई राजनीति, राजकाज र राजाको मनोविज्ञानको ज्ञान छ । धर्मग्रन्थ, ज्योतिषशास्त्र, वेद, उपनिषद् र देशदेशान्तरको ज्ञान पनि छ । यी सबै कुरा कहाँ जान्यौ भनेर राजा विराट्ले सोधे भने म पहिले युधिष्ठिरको दरबारमा काम गर्ने पण्डित हुँ भनिदिनेछु ।”

बकासुर, जटासुर र हिडिम्बासुरजस्ता दुर्दमनीय दैत्यहरूको वध गरेर प्रसिद्धि कमाएका भीमले पनि नोकरकै भेषमा बस्नुपर्ने भयो । उनी भान्से भएर बसे । अर्जुन स्त्रीभेषमा महारानी र राजकुमारीहरूको सेवा गर्न तयार भए । नकुल राजाका घोडाहरूको लिदी सोहोर्न पनि तयार भए । घोडाहरूको हेरचाह गर्न र घरपालुवा पशुको ओखती गर्न जानेका थिए उनले । सहदेव गाईगोठाला भए ।

द्रौपदीले महारानी र राजकुमारीहरूको सुसारे बन्न स्वीकार गरिन् । संकटको बेला प्राणरक्षा गर्न सफल भए मात्र जीवनमा विजय प्राप्त गर्न सकिन्छ भन्ने मनोवैज्ञानिक शिक्षा दिएको छ महाभारतले । राजनीति र रणनीतिको गहिरो ज्ञान छ महाभारतमा ।

आफ्नो माटो, गरिमा, अस्तित्व र इतिहास बचाउन सजिलो छैन । संसारका प्राचीन बीसवटा सहरमध्ये धेरैजसो आज क्षतविक्षत भइसके । किर्कुक, बेरुत, सिडोन, सुरा, अलेप्पो, दमास्कस आदि कुरूप हुन पुगे । पूर्वको पेरिस भनिने बेरुत युद्धले रोगी बन्यो । प्राचीन सभ्यतामाथि जताततै हमला भइरहेको छ । एसियामै उदाए सनातन धर्म, बौद्ध धर्म, यहुदी धर्म, कन्फ्युसियस विचार, ताओ धर्म, सिख, शिन्तो, इसाई, इस्लाम धर्म आदि सबै । ‘ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ’ भनेझैँ ज्ञान पुष्पित–पल्लवित त भइरहेकै छ तर पश्चिमका केही शक्तिले अनैतिक तबरले संसारलाई नियन्त्रणमा राख्ने दुस्साहस गरिरहेका छन् । उदाहरणका लागि अफ्रिकाका ५४ राष्ट्रमध्ये आत्मनिर्णयबाट सञ्चालित कति छन् ? एसियाका जापान, दक्षिण कोरिया, इराक, फिलिपिन्स लगायतका राष्ट्रमा ‘महाशक्ति’ राष्ट्रको सैनिक छाउनी रहर, बाध्यता षड्यन्त्र वा परिबन्द के हो ? संसार किन दुश्चिन्ताले ग्रस्त छ ? किन जताततै मनोवैज्ञानिक सन्त्रास व्याप्त छ ? किन हरेक राष्ट्रमा ठूला शक्तिहरू मालिक बन्न चाहन्छन् ?

हजारौँ बिघा जमिनका मालिक जमिनदारहरूले बडघर, कामतीया, चौधरी, दिवान, पटवारी, मुनिम, मुन्सी आदि उपमालिक राखेर किसानहरूलाई नियन्त्रणमा लिएझैँ बाह्यशक्तिले शक्तिशाली दलका अगुवा, नागरिक समाजका नाइके आदिलाई राजनीतिक पटवारी बनाएको देखिन्छ । कतिपयलाई साम्राज्यवाद र विस्तारवादका घोर विरोधी भएको अभिनय गराएर सूचना संग्रह गर्ने काममा प्रयोग गरिएको पाइन्छ । दशवर्ष अघिसम्म एकमुष्ट दशहजार रुपियाँ नदेखेका दरिद्रहरू कुनै सत्कर्म नगरे पनि विदेशी शक्तिका प्रियपात्र बनेर करोडौँको सम्पत्तिका मालिक भएका छन् । यो कसरी सम्भव भयो ?

सन् १९४९ मा भुटान र भारतबीच भएको सन्धिले भुटानको शिर झुकाएको थियो । थिम्पूको रक्षा र परराष्ट्र नीति भारतबाट ‘निर्देशित’ हुने कुरा थियो त्यसमा । सन् २००७ मा भुटानले मनोवैज्ञानिक, कूटनीतिक र आंशिक रूपमा राजनीतिक चातुर्य देखाएर ‘निर्देशित’ शब्द हटाउन बाध्य तुल्यायो । यसलाई कूटनीतिक सफलता मान्नुपर्छ । डोक्लाम विवादमा भुटानले शान्त र सुझबुझपूर्ण कूटनीति अपनाएको पाइन्छ । भुटानका सुशिक्षित युवा राजा जिग्मे केशर वाङ्चुकले आफ्ना पिता जिग्मे सिंघे वाङ्चुक र वरिष्ठ कूटनीतिज्ञहरूको सल्लाह लिएर परिपक्व व्यवहार प्रदर्शन गरे । भारत र चीनबीच तीव्र तनाव भएर ७२ दिनसम्म बहस भइरहँदा पनि भुटान उत्तेजित देखिएन ।

मनोवैज्ञानिक युद्धको पहिलो सफलता हो, युद्धमा भाग नलिएर नै युद्ध जित्नु । अमेरिकी विदेशमन्त्री तथा तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनका सल्लाहकार हेनरी किसिन्जरले चीनका नेता माओसँग केही घन्टा कुरा गरेपछि चीन र अमेरिकाबीचका धेरै असमझदारी अन्त्य भए । त्यसरी नै सानो भए पनि भुटानले परिपक्वता देखाएर आफ्नो छुट्टै परिचय स्थापित गरेको छ । नेपालमा भुटानीकरण होइन, फुटानीकरण बढेको छ । भुटानका राजा, प्रधानमन्त्री र शीर्ष नेता राष्ट्रियताका सवालमा एकढिक्का छन् । नत्र त्यहाँ पनि विदेशी भाषालाई राष्ट्रभाषा जोङ्खासरह मान्यता दिन हिन्दी र तिब्बती लगायतका पक्षधरहरू अघि सर्थे ।

सन् १९०७ मा स्थापित राजतन्त्रअन्तर्गत भुटानमा वाङ्चुङ् वंशका पाँचौँ राजाले हाल राज्य गरिरहेका छन् । १९८० को २१ फेब्रुअरीमा जन्मेका हालका राजा विकास, कूटनीति र राष्ट्रियताप्रति धेरै संवेदनशील देखिन्छन् । सन् २००८ मा पहिलो जननिर्वाचित संसद्ले राजालाई सल्लाह मात्र दिने परम्परा कायम राखेन, जनतालाई क्रमशः अधिकार प्रदान गर्दै जाने बाटो खोल्यो । यो भुटानको सफलता मान्नुपर्छ । यो उसको मनोवैज्ञानिक युद्ध पनि हो ।

चीनमा हान, ताङ्, सोङ्, मिङ् र छिन् वंशका राजाहरूले हजारौँ वर्ष शासन गरे । राष्ट्र सर्वोच्च हुन्छ भन्ने चीनका जनताको मान्यता सन् १९१२ मा राजतन्त्र मासिए पनि यथावत् रह्यो । त्यहाँका अन्तिम सम्राट् पु यी (जो साढे दुई वर्षमा सम्राट् भए) द्वारा लिखित आत्मवृत्तान्तमा थुप्रै दुर्लभ पत्र, तस्बिर र घतलाग्दा प्रसंग छन् । हङ्कङमा बसेका आफन्तले ‘यतै आएर बस्नुहोस्’ भनेर पत्र पठाउँदा सम्राट्ले भनेका छन्, “म आफू जन्मेकै माटोमा रमाउँछु । बरू आफ्नै पुरानो दरबारको माली भएर बस्छु, अरूतिर जान्न ।”

देश स्वाधीन, अनुशासित र मर्यादित रहेमात्र घर बलियो हुन्छ भन्ने उनीहरूको मान्यता थियो । हानवंशको इतिहास अध्ययन गर्दा तत्कालीन राजाहरूले परम्परा, धर्म, संस्कृति, प्राचीन उपचार पद्धति, इतिहास आदिको संरक्षण गर्दै राष्ट्र र जनतालाइ सुदृढ बनाएको पाइन्छ । त्यसबेला जनतालाई मर्यादित राख्ने र आफू पनि मर्यादामा बस्ने शासकहरूको आचरण उदाहरणीय थियो । मर्यादाक्रम देखाउन सम्राट्को दरबारका खम्बाहरू रातो रंगका हुन्थे भने राजकुमारका दरबारमा कालो रंगका खम्बा हुन्थे । प्रधानमन्त्री र मन्त्रीलगायत सेनापतिका निवासमा नीलो र हरियो रंग लगाउने चलन थियो । अरू कर्मचारी र भारदारले पहँेलो रंग लगाउँथे । भुटानमा पनि राजा र धर्मराजा (जे खेम्पो) पहेँलो दोसल्ला ओढ्छन् । मन्त्रीले सुन्तला रंग, न्यायाधीशहरूले हरियो र जिल्ला प्रशासकहरूले सेतो रंगको दोसल्ला ओढ्छन् । यो राजकीय प्रचलन मर्यादामा पर्छ । नेपालमा धर्म, परम्परा, कूटनीतिक मर्यादा, सदाचार र अनुशासन नमान्नेलाई क्रान्तिकारी भन्ने गरिन्छ ।

भारतको दक्षिणी भूखण्डमा सन् १९४८ मा सिएसआई (चर्च अफ साउथ इन्डिया) स्थापना भएपछि यो काउन्सिल अफ चर्चेजमा आबद्ध भयो । एकसय पचास राष्ट्रमा ४ लाख ९३ हजार मुख्य उपासक (पास्टर) छन् त्यसमा । त्यसले भारतलाई धर्मनिरपेक्ष (सेक्युलर) बनाउन मनोवैज्ञानिक दबाब दिइरह्यो । अन्ततः सन् १९७६ मा संविधानमा बयालीसौ संशोधन गरेर भारतलाई धर्मनिरपेक्ष घोषणा गरियो । सिकागो विश्वविद्यालयका प्राध्यापक र हिन्दु धर्मशास्त्रका ज्ञाता रोनाल्ड एन्डेनले बहुसंख्यक जनता (असी प्रतिशतभन्दा धेरै) सनातन धर्मावलम्बी भएको भारतलाई धर्मनिरपेक्ष घोषणा गर्दा त्यहाँका करोडौँ जनता क्रुद्ध भएका थिए भनेर लेखेका छन् । भारत र नेपालमा फैलिएका चर्चका समर्थकहरू दुई खालका छन् । एकथरी सोझै धर्मनिरपेक्षता जायज छ भन्ने तर्क गर्छन् । अर्काथरी सिएसआईको गुप्त योजनाअनुसार ‘सर्व धर्म समभाव’ भनेर घुमाउरो शैलीमा धर्मनिरपेक्षता गलत छैन भन्छन् । नेपालमा धर्मनिरपेक्ष लेखिएको संविधान उत्कृष्ट छ भन्ने एउटा दलले ‘हिन्दु अधिराज्य’ उच्चारण गर्न छोडेर ‘सर्व धर्म समभाव’ भन्नुको तात्पर्य त्यही हो । स्पष्ट कुरा, समभाव (समान मत वा विचार) असम्भव कुरा हो । हिन्दु, मुसलमान, क्रिश्चियन, बौद्ध, सबैका आ–आफ्ना चिन्तन, भाव, दृष्टिकोण र तर्क छन् । पद्धति पृथक् छन् । आस्थामा एकरूपता, ऐक्यबद्धता, समभाव र एकमत कसरी सम्भव हुन्छ ? कुनै धर्मावलम्बीले विश्वका सबै कुटुम्ब (बसुधैव कुटुम्बकम्) भन्छन्, कसैले फरक मत राख्नेलाई भौतिक रूपमै सिध्याउनुपर्छ भन्दै हिँडेका छन् । कुरान, बाइबल, गीता र त्रिपिटकमै समभाव छैन । तसर्थ, ‘सर्वधर्म समभाव’ नक्कली र प्रायोजित नारा मात्रै हो । ‘सर्वधर्म समभाव’ नभएकै कारण शिया र सुन्नी सयौँ वर्ष अघिदेखि मारामार गरिरहेका छन् भने इसाईका पनि अनेक मत (हाँगाबिँगा) छन् । हिन्दु र बौद्ध सम्प्रदायमै विभिन्न मत छन् । विदेशीले सिकाइदिएका कुरा बोल्ने तोतामैनाहरूले स्वदेशबाट ‘मधेस’ टुक्र्याउने प्रलाप गरेझैँ अरूका लहैलहैमा दौडिँदा हामी घर जलाएर खरानीको व्यापार गर्ने प्रतिस्पर्धामा लागेका छौँ ।

हिन्दी साहित्यका प्रसिद्ध कवि डा. हरिवंश राय बच्चनले ‘मधुशाला’ पुस्तकमा लेखेका छन् ‘मन्दिर मस्जिद बैर कराती, मेल कराती मधुशाला ।’ (मस्जिद–मन्दिरले शत्रुता गराउँछ र मेल गराउँछ भट्टीले ।) नेपालमा पनि पुस २७ गते राष्ट्रिय एकता दिवस हो भनेर स्वीकार नगर्ने दलहरूलाई विदेशीको द्रव्यको बलमा मेल गराएकै कारण क्रिसमसमा सरकारी बिदा दिन तयार भए । पृथ्वीजयन्ती नमनाउनेहरू कन्डम दिवसमा नाच्न थाले । नेपाललाई सुदृढ बनाउन चाहने शक्तिहरूलाई पन्छाएर टुक्राटुक्रा पार्ने खेल भइरहेकै छ । यस्ता षड्यन्त्रका तानाबाना बुझ्न सकेनौँ भने मनोवैज्ञानिक युद्धमा समेत हामी सदैव परास्त हुनेछौँ ।

नेपालमा आज राष्ट्रवादी हुँ भन्ने प्रत्येक व्यक्ति र संस्थामाथि हमला हुन थालेको जगजाहेर छ । त्यसैले बूढी मरी भन्ने होइन, काल पल्केला भन्ने मनोवैज्ञानिक सन्त्रास बढेको छ । यमन, सिरिया, इजिप्ट, कंगो, सुडान, इथियोपिया, इन्डोनेसिया तथा अफगानिस्तानमा गृहयुद्धका लागि प्रयोग गरिएका संयन्त्र र मनोवैज्ञानिक मन्त्र नेपालमा प्रयोग भइरहेकै छ । नेपाल धर्मनिरपेक्ष नै हुनुपर्छ र धर्म परिवर्तन गर्ने हक सबैलाई हुनुपर्छ भनेर विवादमा परेपछि स्वदेश फर्काइएका एकजना पश्चिमा कूटनीतिज्ञले उनीसँग निकट केही नेपाली पत्रकारलाई भनेछन्, “अरू देशमा केके भइसक्थ्यो, यहाँ त मानिसलाई तताउन गाह्रो रहेछ ।” हो, केही शिक्षित, टाठाबाठा, लोभी र स्वार्थी व्यक्ति विदेशीको इन्द्रजालमा फसेका छन् । तर अधिकांश जनता नेपाल सुरक्षित, शान्त, समुन्नत र अटल रहोस् भन्ने चाहन्छन् । नीतिनिर्माता, उच्चपदस्थ र राज्यका संयन्त्रभित्रै बाह्यशक्तिको घुसपैठ देखिन्छ । त्यसैले, संवैधानिक र राजनीतिक बाटोबाटै उनीहरू राष्ट्रियता, राष्ट्रनिर्माण र राष्ट्रिय एकताका आधारहरू ढाल्ने कुकृत्यमा सक्रिय भइरहेका छन् ।

ब्रिटिस राजनेता बेन्जामिन डेजरेली (सन् १८०४–१८८१) को कथन घतलाग्दो छ, “आफूलाई घेरामा पार्नेहरूसँग निरर्थक बहस गर्छन् राजनीतिज्ञहरू । तर राजनेता त्यो विषम परिस्थितिबाट चलाखीपूर्वक अघि बढ्छ ।” अल्पविकसित बुद्धि भएका जनता असल र योग्य नेता छान्न सक्दैनन् र अन्त्यमा पछुतो गर्छन् । यो द्विविधा, विरोधाभाषपूर्ण अवस्था र तत्कालीन घटनाको विश्लेषण गरेर बाह्यशक्तिले फुटाउने र राज गर्ने नीति बनाउँछन् । हामी त्यसको सिकार बनिरहेका छौँ ।

अमेरिकाका पैतीसौँ राष्ट्रपति केनेडी प्रथम क्याथोलिक राष्ट्रपति थिए । ४३ वर्षको उमेरमा (सन् १९६१ मा) राष्ट्रपति भएका केनेडीलाई सन् १९६३ मा टेक्सासमा गोली हानेर मारियो । फरक राजनीतिक मतको सम्मान गर्न थालेको अमेरिकामा आज पनि जात, रंग र धर्मका नाममा विद्वेष व्याप्त छ । स्कुल पढ्ने कलिला केटाहरूले समेत अर्कै रंगको मानिस भनेर घृणा गर्दै बन्दुक चलाएका खबरहरू आइरहेका छन् । गैरक्याथोलिक व्यक्ति ली हार्बे ओस्वाल्डद्वारा केनेडीको हत्या भए पनि त्यो धार्मिक विद्वेष नै थियो भन्ने सत्य लुकाइएको छ । अफ्रिकाका कतिपय राष्ट्रमा हुतु र तुत्सीबीचको घृणाले हजारौँको हत्या भइसकेको छ । सबै नेपाली समान छन् भनेर स्वीकार्नुपर्ने नेपालको संविधानका धेरै ठाउँमा जातीय विभाजनका रेखा कोरिएका छन् । जनसंख्या, भूगोल र इतिहासको विवाद उठाएर राष्ट्रलाई खण्डखण्ड पार्न खोजिँदैछ । यो मनोवैज्ञानिक संत्रासको उपचार त्यति सजिलो देखिँदैन ।

प्रकाशित: २३ भाद्र २०७४ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App