१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तेस्रो चरण स्थानीय चुनाव : ३६ हजार उम्मेदवार

काठमाडौं- तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि ३६ हजार ७३ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश २ का आठ जिल्लाका एक सय ३६ स्थानीय तहका लागि  बुधबार उम्मेदवारी दर्ता भएको थियो । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला वडासदस्य, महिला सदस्य, दलित महिला सदस्यमा गरी ३६ हजार ७३ जनाको उम्मेदवारी परेको हो । 
प्रमुख पदमा १ हजार ७ सय ८३, उपप्रमुखमा १ हजार १ सय ३० र वडाध्यक्षमा ८ हजार १८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै प्रत्येक वडाबाट चुनिने २ खुला सदस्य पदका लागि १३ हजार ७७, महिला सदस्यका लागि ६ हजार ३ सय ६०, दलित महिला सदस्यका लागि ५ हजार ७०५ जनाको उम्मेदवारी परेको छ । 
चुनावबाट ६ हजार ६ सय २७ जना निर्वाचित हुने छन् । चाहिने जनप्रतिनिधिभन्दा ६ गुणा बढीले उम्मेदवारी परेको हो ।  
राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको मनोनयन  बुधबार राति अबेरसम्म दर्ता भएको थियो । बिहान १० बजेदेखि ५ बजेसम्मको समय दिइए पनि उम्मेदवारहरू ढिला गरी निर्वाचन अधिकृतको कार्यालय पुगेकाले दर्ता र तथ्यांक संकलनमा ढिलाई भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।  
१ सय ३६ वटै स्थानीय तहमा उत्साहपूर्वक र शान्तिपूर्ण ढंगले उम्मेदवारी मनोनयन सम्पन्न भएको आयोगले बताएको छ ।
प्रदेश २ मा वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा, कलैया र जनकपुर गरी तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । 
प्रदेश २ मा आयोगले २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकेको छ । यो प्रदेशमा २६ लाख ६४ हजारभन्दा बढी मतदाता छन् । 
 

प्रकाशित: २३ भाद्र २०७४ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App