८ वैशाख २०८१ शनिबार
समाज

टिकट वितरणमा सहिद परिवारलाई उपेक्षा

भारदह (सप्तरी)- सप्तरीको विष्णुपुर गाउँपालिका–१ का वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सरोजकुमार यादव २०६२÷६३ को जनआन्दोलनका प्रथम सहिद दशनलाल यादवका छोरा हुन् । राजनीतिक दलको बेवास्ताका कारण स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुपरेको सरोजको भनाइ छ । 

आफन्त र पैसावाललाई टिकट दिएका मधेसवादी दलले त्यही कारण सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाउन बेवास्ता गरेको आरोप लागेको छ ।

दशनको आन्दोलनका क्रममा राजविराजमा मृत्यु भएको थियो । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना हेतु आन्दोलनका क्रममा ज्यान गुमाएका दशनलाई दोस्रो जनआन्दोलनको प्रथम सहिदका रुपमा सिंगो मुलुकले सम्मान दिएको छ । वामपन्थी विचारधाराबाट प्रेरित उनी एमालेका सक्रिय कार्यकर्ता थिए । 
राजनीतिक आन्दोलनमै लागेर आफ्नो सिंगो परिवार नै चौपट भएको सरोजको भनाइ छ । ‘जनआन्दोलनका क्रममा बुवा सहिद हुनुभन्दा चार वर्षअगाडि माओवादी सशस्त्र युद्धका क्रममा दाजु गुमाउनुप¥यो’, उनले भने, ‘एकै परिवारका दुई सक्रिय सदस्य राजनीतिक आन्दोलनमा मारिएपछि परिवारको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सक्नुहुन्छ ।’ 
    सरोजका दाजु विनोदकुमारको २०५९ सालमा नेपाली सेनाको जबाफी कारबाहीमा मृत्यु भएको थियो । उनी तत्कालीन नेकपा माओवादीका सक्रिय कार्यकर्ता थिए । सरोज भन्छन्, ‘बुवा लोकतन्त्रका लागि सहिद हुनुभयो, दाइले गणतन्त्र ल्याउन प्राण दिए । मुलुकमा लोकतान्त्रिक गणतन्त्र पनि आयो तर हामीजस्ता सहिद परिवारको दुर्दशामाथि कसैको पनि ध्यान पुग्न सकेको छैन ।’
यस्तै मधेस आन्दोलनका सहिद रामकिशुन राउतका भाइ धर्मपाल राउतले बुधबार हनुमाननगर–कंकालनी नगरपालिका वडा नम्बर ३ को वडासदस्य पदमा स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराए । कुनै पनि मधेसवादी दलले आफ्नो पार्टीका तर्फबाट टिकट दिन नमानेपछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको राउतले बताए ।
मधेस आन्दोलनका क्रममा २०७२ भदौ २३ गते भारदहमा प्रदर्शनकारी र प्रहरीबीचको झडपका क्रममा प्रहरीको गोली लागेर रामकिशुनको मृत्यु भएको थियो । सरकारले उनलाई सहिद घोषणा गरेको छ । 
भाउजू (सहिद रामकिशुनकी पत्नी सुदमिया देवी) लाई प्रस्तावक बनाएर आफूले उम्मेदवारी दर्ता गराएको धर्मपालले बताए । ‘मधेसवादी दलका स्थानीय नेतासँग कयौं चोटि सम्पर्क ग¥यौं, कतिपयले आश्वासनसमेत दिएका थिए’, राउतले भने, ‘अन्तिम समयमा आएर चारैतिरबाट धोखा पाएँ ।’ दाजुको सहादतको सम्मानकै लागि आफूले उम्मेदवारी दर्ता गराएको उनले बताए ।
    ‘दाइको निधनपछि ठूल्ठूला मधेसवादी नेता घर आउने गर्थे, अधिकार, पहिचान, मधेस मुक्तिलगायतका सैद्धान्तिक कुरा सुनाउँथे, उनीहरुकै संगतमा आएर बिस्तारै राजनीतिक आबद्धता बढ्दै गयो’, धर्मपालले भने, ‘त्यति बेला उनीहरुले सुनाउने गरेका सैद्धान्तिक कुरा वास्तविकताभन्दा निकै पृथक् थियो जस्तो लाग्छ ।’ आफ्नो उम्मेदवारी कुनै दल वा व्यक्तिविरुद्ध नभई सहिद परिवारको तर्फबाट प्रतिनिधिमूलक आवाज उठाउनमात्रै रहेको उनको भनाइ छ ।
सहिद परिवारका सदस्य आकांक्षी हुँदाहुँदै पनि टिकट नदिनु दुर्भाग्यपूर्ण भएको मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डलले बताए । ‘एक त सहिद परिवार, त्यसमा पनि वडासदस्य जस्तो सामान्य पदका लागि पनि टिकट नदिनु दुर्भाग्यपूर्ण छ’, उनले भने, ‘तपाईंले उठाएका मुद्दा स्थापित गर्न ज्यान आहूति दिने सहिदका परिवारलाई एउटा वडासदस्यसम्मको टिकट दिने आँट नदेखिनु खेदजनक छ ।’
आफूलाई आन्दोलनवाट स्थापित शक्तिका रुपमा चिनाउने मधेसवादी दल राजनीतिक सभा सम्मेलनमा मधेस आन्दोलनका सहिदलाई स्मरण गर्न बिर्संदैनन् । कार्यक्रममा सहिद परिवारलाई बोलाएर दोसल्ला÷खादा ओढाई सम्मान गर्ने चलन पछिल्लो समय मधेसवादी राजनीतिमा फेसनजस्तै भएर त्यतिमै सीमित रहेको नागरिक समाजका अगुवा योगेन्द्र झा बताउँछन् । प्रायः आफन्त र पैसावाललाई टिकट दिएका मधेसवादी दलले त्यही कारण सहिद परिवारलाई बेवास्ता गरेको आरोप लागेको छ ।
राजपा सप्तरीका अध्यक्ष सुनीलकुमार झाले कुनै पनि सहिद परिवार सम्पर्कमा आउन नसकेका कारण उनीहरुलाई टिकट नदिएको बताए । त्यस्तै संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेशकुमार यादवले एक वडासदस्य पदमा सहिद इनर यादवका परिवारबाट एकजनालाई उम्मेदवार बनाएको दाबी गरे ।

प्रकाशित: २३ भाद्र २०७४ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App