coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रक्तचन्दन तस्कर नै सुन तस्करीमा

काठमाडौं- विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय हुन थालेको छ । काठमाडौंमा गत सोमबार बरामद ८८ किलो सुनको अनुसन्धान गर्दाे चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भिœयाउन सक्रिय देखिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार चीनबाट सुन पठाउन र केरुङ नाकाबाट भन्सार छलेर काठमाडौंसम्म ल्याउन चिनियाँ नागरिक सक्रिय छन् । काठमाडौंमा भण्डारणमा समेत चिनियाँ नागरिक नै संलग्न रहेको र काठमाडौंको बजारमा तस्करीको सुन फैलाउन र भारत पु¥याउन नेपाली नागरिक संलग्न रहेको स्रोतले जानकारी दियो ।

काठमाडौंमा पछिल्लो समय बरामद सुन तस्करीमा ६ वर्षअगाडि रक्तचन्दन तस्करीमा सक्रिय समूह सक्रिय रहेको प्रहरी निष्कर्ष

२०६२–०६३ को आन्दोलनसँगै भारतमा रहेको रक्तचन्दन चीनको तिब्बत पु¥याउन नेपालको स्थलमार्गको प्रयोग बढेको थियो । भारतको आन्ध्रप्रदेशबाट तिब्बतसम्म रक्त चन्दन पु¥याउन तस्कर समूहले नेपालको स्थलमार्गको खुला प्रयोग गरेका थिए ।
आध्र प्रदेशको चार जिल्लाकोे करिब ५ लाख हेक्टर वनमा रक्तचन्दन छ । तिब्बतमा नयाँ गुम्बाको निर्माण बढेपछि त्यसका लागि चन्दन तस्कर सक्रिय भएका थिए । राजनीतिक र सुरक्षा निकायका अधिकारीको संरक्षणमा भएको तस्करी सार्वजनिक भएपछि बल्ल बरामद गर्ने क्रम सुरु भएको थियो । चन्दन तस्करीमा भरिया फेला पारे पनि मूल नाइके जोगिएका थिए ।  
यसबीचमा सुरक्षा निकायले २ लाख २९ हजार किलो तस्करीको रक्त चन्दन फेला पारेको थियो । २०६५ पछि चन्दन तस्करीमा संलग्न समूह नै तातोपानी नाका हुँदै नेपालमा सुन भिœयाउन सक्रिय थिए । भूकम्पपछि खासा नाका बन्द भएसँगै चन्दन र सुन तस्करी केरुङतर्फ सरेका हुन् ।
‘अनुसन्धानका क्रममा आएको सूचनामा रक्तचन्दन तस्करी र खासा हुँदै नेपालमा सुन तस्करीमा संलग्न समूहले नै ८८ किलो सुन नेपाल भिœयाएको देखिन्छ,’ स्रोतले भन्यो, ‘यसअगाडि सुन ओसार्न र भण्डारण गर्न नेपाली नागरिक संलग्न देखिएका थिए । केही दिनअघि बरामद ८८ किलो सुन ओसार्न र भण्डारण गर्न चिनियाँ नागरिक संलग्न देखिए ।’
अनुसन्धान स्रोतका अनुसार सुन तस्करीमा संलग्न चिनियाँ नागरिकमध्ये ४ जनाको नाम र हुलिया आए पनि उनीहरू फेला परेका छैनन् । नाम खुलेकामध्ये २ जना ठमेलमा काठमाडौं वान नामको होटल खोलेर बसेका हुन् । प्रारम्भिक अनुसन्धानमा सो होटलका सञ्चालक पान विङ मिङ केरुङ पुगेर सुन ल्याउन र काठमाडौंमा भण्डारण गर्न संलग्न रहेको देखिन्छ ।
प्रहरीले प्रारम्भमा चालक मनोज अधिकारीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङ पक्राउ परेका थिए । तस्करीमा संलग्नको आशंकामा एक दर्जन बढीको नामावली संकलन भए पनि प्रहरी ठोस निचोडमा पुग्न सकेको छैन ।
‘सुन बरामद भएको बा १७ च ६४२७ नम्बरको गाडी केरुङ पुगेको समयमा मिङको मोबाइल लोकेसन केरुङ पुगेर काठमाडौं आएको देखिन्छ,’ स्रोतले भन्यो, ‘अनुसन्धानमा उनको संलग्नता देखिए पनि सुन ओसार्न र भण्डारण गर्ने भूमिका बढी देखिएको छ ।’
अन्य तीन चिनियाँ नागरिकको हुलियासहितको नाम आएको छ । अध्यागमनमा नेपाल आउने विदेशीको डिजिटल तथ्यांक अभावमा नाम खुलेकाको अझै पहिचान हुन सकेको छैन ।

१५ किलोसँग कनेक्सन देखिएन
महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन बरामद गर्नु पाँच दिनअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केरुङबाट भित्रिएको १५ किलो सुनसहित ७ जनालाई पक्राउ गरेको थियो ।
महाशाखाले बरामद गरेको सुनसमेत केरुङबाटै भित्रिएको पुष्टि भएपछि ब्युरोले यी दुवै घटना  जोडेर अनुसन्धान अगाडि बढाए पनि दुवै समूहको कनेक्सन खुल्न सकेको छैन ।
ब्युरो प्रमुख डिआइजी पुष्कर कार्कीका अनुसार बरामद १५ किलो सुन भारत पु¥याउने प्रयोजनका लागि नेपाल भिœयाइएको थियो । अनुसन्धानमा उनीहरूले २२ किलो सुन ल्याएको, त्यसमध्ये ६ किलो भारत पु¥याएको र एक किलो भारत लैजाने क्रममा उपत्यकाबाहिर र १४ किलो उपत्यकाभित्रै बरामद गरिएको थियो ।
ब्युरोका अनुसार सो सुन तस्कर समूहले केरुङ नाका र तातोपानी नाकाबाट भिœयाएको देखिएको छ । भदौ १४ मा ब्युरोले काठमाडौंको टोखामा बस्ने सिन्धुपाल्चोक, भोटेकोसीका पेम्बादोर्जे शेर्पाको कोठाबाट १४ किलो सुन बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा सुन भारतका विभिन्न  स्थानमा बिक्री गर्ने उद्देश्यले लगेको भन्ने खुल्न आएपछि धनुषाबाट १ किलो सुनसहित ४ जना पक्राउ परेका थिए । ब्युरोले पेम्बासहित भक्तपुर सूर्यविनायकका दीपेन्द्र थापा, काठमाडौं बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम, भक्तपुर सूयविनायकका राजेन्द्र खत्री र रबिन खत्री तथा धनुषा जनकपुर उपमहानगरपालिकाका दीपककुमार शाहलाई पक्राउ गरेको थियो ।
‘महाशाखाले बरामद गरेको ८८ किलो सुन तस्करीमा संलग्न समूहसँग १५ किलोमा संलग्नको सम्पर्क र सम्बन्ध हेर्दा अहिलेसम्म कनेक्सन खुलेको छैन,’ कार्कीले भने, ‘अनुसन्धान भने जारी छ ।’

प्रकाशित: २३ भाद्र २०७४ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App