८ वैशाख २०८१ शनिबार
राजनीति

८७ दललाई चुनाव चिह्न

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न वितरण गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ८७ वटा दललाई चुनाव चिह्न दिने निर्णय गरेको हो ।

आगामी मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९५ दलले निर्वाचन आयोगमा दल दर्तासहितको निवेदन दिएका थिए ।
दुई वा दुईभन्दा बढी दल संयुक्त भई एकल चुनाव चिह्न लिन चाहेकालाई पनि चिह्न दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ अनुसार दर्ता गरी एकल चुनाव चिह्न दिने निर्णय गरेको हो ।
कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका परिचित दलले आफ्ना पुरानै चिह्न पाएका छन् । तराई केन्द्रित दल राजपा नेपालले चुनाव चिह्न छाता पाएको छ ।
त्यसैगरी विवेकशील साझा पार्टीले तराजु चुनाव चिह्न पाएको छ । नयाँ शक्ति पार्टी नेपालले देब्रे आँखा चुनाव चिह्न प्राप्त गरेको छ । आयोगले संघीय समाजवादी पार्टीलाई हातले समातेको मसाल चुनाव चिह्न दिएको छ ।
यसअघि एक सय २२ दल निर्वाचन आयोगमा दर्ता भएका थिए । राजनीतिक दलहरू आपसमा विलय भएका कारण दलको संख्या कम भएको प्रवक्ता ढकालले बताए ।
साना दलले ऊँट, कछुवा, कुखुराको भाले, हेलिकप्टर, गैंडा, कोदालो, साबेल, जग, लालटिन, डोको, गाग्री, पीपलको पातलगायतका चुनाव चिह्न पाएका छन् ।
०००
एउटै चुनाव दुई चरणमा  
मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनाव पहिलो चरणमा हिमाली र उच्च पहाडी गरी ३२ जिल्लामा हुनेछ । दोस्रो चरणमा पहाड र तराईका गरी ४५ जिल्लामा चुनाव हुनेछ ।
पहाडका ३२ जिल्लामा मंसिर १० मा पहिलो चरण र मंसिर २१ मा दोस्रो चरणको चुनाव तोकिएको छ ।


मंसिर १० मा चुनाव हुने ३२ जिल्ला
प्रदेश १ ः सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ प्रदेश ३ ः नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप
प्रदेश ४ ः मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा
प्रदेश ५ ः का पूर्वी रुकुम र  रोल्पा,
प्रदेश ६ ः पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा
प्रदेश ७ ः दार्चुला, बझाङ, बाजुरा र  बैतडी
मंसिर २१ मा चुनाव हुने ४५ जिल्ला
प्रदेश १ ः इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश २ ः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट
प्रदेश ३ ः सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश ४ ः बर्दघाट सुस्ता पूर्व नवलपरासी, तनहुँ,  कास्की, स्याङ्जा र पर्वत
प्रदेश ५ ः बर्दघाट सुस्ता पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया प्रदेश ६ ः सल्यान, सुर्खेत र  दैलेख
प्रदेश ७ ः कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र  डोटी ।बक्स
 

प्रकाशित: २३ भाद्र २०७४ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App