८ वैशाख २०८१ शनिबार
राजनीति

नेपालसँग कनेक्टिभिटी बढाउन चाहन्छौं : ली

काठमाडौं- चिनियाँ प्रधानमन्त्री ली खछयाङले चीन नेपालसँग कनेक्टीभिटी (सम्पर्क सञ्जाल) बढाउन चाहेको बताएका छन् । प्रधानमन्त्री लीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एव्म परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग बिहीबार बेइजिङमा भएको भेटेमा  चिनियाँ महŒवाकांक्षी परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ (बिआरआई) मा नेपालले हस्ताक्षर गरेसँगै दुई देशबीच कनेक्टिभिटी विस्तारको ढोका खुलेको बताएका हुन् । 
‘हामी नेपालसँग कनेक्टिभिटी बढाउन चाहन्छौं । बिआरआईमा हस्ताक्षर गरेपछि हामी दुवै यसको हिस्सेदार भएका छौं । बिआरआईअन्तर्गतका परियोजना हामी नेपाललाई प्राथमिकतामा राखेर बनाउनेछौं,’ प्रधानमन्त्रीले लीले भने । 

‘हामी नेपालसँग कनेक्टिभिटी बढाउन चाहन्छौं । बिआरआईमा हस्ताक्षर गरेपछि हामी दुवै यसको हिस्सेदार भएका छौं । बिआरआईअन्तर्गतका परियोजना हामी नेपाललाई प्राथमिकतामा राखेर बनाउनेछौं ।’- चिनियाँ प्रधानमन्त्रीले ली खछयाङ।

मन्त्री महरासँग १५ मिनेट भएको शिष्टाचार भेटवार्तामा चिनियाँ प्रधानमन्त्रीले नेपाल–चीन सीमापार रेलसेवाका सम्बन्धमा निकै चासो देखाएका थिए । चीनको केरुङबाट रसुवागढी हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्म पुग्ने रेलसेवा विकासका लागि आवश्यक सहयोग गर्न चीन तयार रहेको उनले बताएका थिए । 
‘रेलसेवा हाम्रो प्राथमिकतामा पर्छ । केरुङबाट काठमाडौं–पोखरा हुँदै लुम्बिनी पुग्ने रेलसेवा विस्तारमा सहयोग गर्न चीन तयार छ,’ महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्री लीलाई उधृत गर्दै बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर हरिश्चन्द्र घिमिरले टेलिफोनमा नागरिकसँग भने । 

बिआरआईमा नेपालले हस्ताक्षर गरेकोमा चिनियाँ प्रधानमन्त्रीले खुसी व्यक्त गरेका थिए । नेपाल र चीनबीच गत मे १२ मा बिआरआईसम्बन्धी फ्रेमवर्क समझदारीपत्रमा हस्ताक्षर भएको थियो । भेटमा चिनियाँ प्रधानमन्त्री लीले सीमापार रेलसेवाको प्राविधिक सम्भाव्यता अध्ययन गरेर अघि बढ्न नेपाललाई सुझाव दिएका थिए । प्राविधिक सम्भाव्यता अध्ययनका लागि पनि चीनले सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका थिए । 

नेपालमा नयाँ संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न हुँदै गएकोमा चिनियाँ प्रधानमन्त्री लीले खुसी व्यक्त गरेका छा् । संविधान कार्यान्वयन र समयमै निर्वाचन हुँदा देशमा राजनीतिक स्थिरता आउने जनाउँदै उनले स्थिरताले नेपालको विकास अघि बढाउन मद्दत गर्ने बताएका थिए । 
भेटमा मन्त्री महराले आफू नेपालका प्रमुख दलहरूको सहमतिमा राष्ट्रिय प्राथमिकताको परियोजना ‘रेलवे कनेक्टिभिटी’ प्रस्ताव लिएर चीन भ्रमणमा आएको बताएका थिए । 
प्रधानमन्त्री लीसँग भेटवार्ता गर्नुअघि बेइजिङमा नेपाल–चीनबीच विदेशमन्त्रीस्तरीय बैठक बसेको थियो । बैठकमा नेपालको नेतृत्व मन्त्री महरा र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए । बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा गरिएको थियो । ‘बैठकमा सडक, रेल, हवाई कनेक्टिभिटी, व्यापार, लगानी, पर्यटनलगायतका विषयमा छलफल भयो,’ घिमिरले भने । 
बैठकमा नेपालले सीमा रेलसेवालाई उच्च प्राथमिकताका साथ उठाएको थियो । चिनियाँ पक्षले बैठकमा नेपालमा रेलसेवा विस्तार गर्न चीन सकारात्मक रहेको जनाएको थियो । बिआरआईले सीमापार रेलसेवालाई समेट्ने जनाउँदै बैठकमा चिनियाँ पक्षले नेपालसँगको कनेक्टिभिटी (रेल, रोड र हवाई) लाई चीनले उच्च प्राथमिकता दिएको बताएका थिए । 
सीमापार रेलका लागि उच्च हिमाली भेगमा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले पहिला यसको प्राविधिक सम्भाव्यता अध्ययन गर्नुपर्ने प्रस्ताव चिनियाँ पक्षले राखेको छ । यस विषयमा चीनले अध्ययन गर्ने विदेशमन्त्री वाङले बताएका छन् । ‘प्राविधिक सम्भाव्यता अध्ययन प्रतिवेदन आएपछि रेलसेवा पूर्वाधार निर्माण कसरी अघ बढाउने भन्ने स्पष्ट हुन्छ,’ चिनियाँ विदेशमन्त्री वाङले भनेका थिए । 
नेपालले २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्न आग्रह गरेको थियो । चिनियाँ पक्षले सुरक्षा संवेदनशीलता र भूकम्पको क्षतिलाई विचार गरिदिन आग्रह गर्दै  नाका छिट्टै सञ्चालनमा ल्याउने बताएको थियो । बैठकमा केरुङ–रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरिएकाले त्यहाँ सुविधा बढाउपर्नेमा दुवै पक्ष सहमत भएका थिए । छिटोभन्दा छिटो दुई देशका नाकालाई व्यवस्थित गर्नुपर्नेमा दुवै पक्षले जोड दिएका थिए । 
बैठकमा नेपाली पक्षले नेपालमा लगानी बढाउन चीनलाई आग्रह गरेको थियो । जबाफमा चिनियाँ पक्षले नेपालमा लगानी बढाउन चीन तयार रहेको बताएको थियो । यस्तै, नेपालले काठमाडौंबाट सीधै बेइजिङ हवाई कनेक्टिभिटी माग गरेको थियो । चीनले नेपालसँगको हवाई सम्पर्कलाई प्राथमिकतामा राखेको जानकारी दिएको थियो । 

बैठक सकिएपछि दुवै देशका विदेशमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा पहिला चिनियाँ विदेशमन्त्री वाङले आफ्नो धारणा राखेका थिए । पत्रकार सम्मेलनमा चीनले तीन र नेपालले चारबुँदे विज्ञप्ति जारी गरेका थिए । पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै पनि हस्तक्षेप नगर्ने बताउँदै चीनले कुनै पनि देशलाई सानो वा ठूलो भनेर विभेद नगर्ने जनाएका थिए । 

प्रकाशित: २३ भाद्र २०७४ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App