coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुन तोलाको ५७,५००

काठमाडौ- अन्तर्राष्ट्रिय बजारमा भर पर्ने सुनको मूल्य एक वर्षयता कै उच्च बिन्दुमा पुगेको छ । पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच विवाद बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको हो । 

बुधबार सुनको मूल्य प्रतितोला ५७ हजार पाँच सय रुपैयाँ पुगेको छ । यो पछिल्लो एक वर्ष कै महँगो भएको व्यवसायीको भनाइ छ । ‘यो मूल्य एक वर्षयता कै महँगो हो,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बुधबार नागरिकसँग भने, ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा स्थानीय बजारमा पनि यसको असर परेको हो ।’

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस एक हजार तीन सय ३८ अमेरिकी डलर पुगेको छ । अझै केही दिन अझै बढ्ने बजार विश्लेषकको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक हजार तीन सय ५० डलरसम्म पुग्ने अनुमान छ । त्यो भनेको नेपालमा झन्डै ५८ हजार रुपैयाँ हाराहारी हुनेछ । त्यसपछिको अवस्था भन्न नसकिने शाक्यको भनाइ छ ।

नेपालमा सुनको मूल्य प्रतितोला ६३ हजार रुपैयाँसम्म पुगेको अभिलेख छ । २०६९ सालमा प्रतितोला ६३ हजार रुपैयाँ पुगेको सुन मूल्य त्यसपछि ४८ हजार रुपैयाँसम्म झरेको थियो । ‘पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ,’ शाक्यले भने ।

अमेरिका र उत्तर कोरियाबीच तनाव बढ्दै जाँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । दुई देशबीचको तनावले युद्ध भइहालेमा लगानीको सबैभन्दा सुरक्षित वस्तु सुनमा लगानीकर्ता आकर्षित भएका हुन् ।

पछिल्लो उत्तर कोरियाले एकपछि अर्को गर्दै क्षेप्यास्त्र परीक्षण गरिरहेको छ । यसै हप्ता उसले शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको जनाएको छ । अमेरिकी सेना रहेका जापानी टापुमा आक्रमण गर्ने धम्की समेत उत्तर कोरियाले दिएको छ ।

अमेरिकाले अस्त्र परीक्षणको चर्को विरोध गरेको छ भने दक्षिण कोरियाले प्रतिउत्तरमा क्षेप्यास्त्र परीक्षण गरेको छ । संयुक्त राष्ट्र संघको आपतकालीन बैठकमा अमेरिका, बेलायत लगायत देशले उत्तर कोरियालाई थप नाकाबन्दी गर्नुपर्ने माग राखेका छन् । जसले गर्दा विश्व समुदायमा हलचल मच्चिएको छ । यसले विश्वका लगानीकर्तालाई सुरक्षित क्षेत्रतर्फ तानिरहेको छ ।

‘अमेरिकी वालस्ट्रिटका लगानीकर्ता सम्पत्ति सुरक्षित गर्नतर्फ लागेका छन्,’ शाक्यले भने, ‘सम्पत्ति सुरक्षित गर्नु भनेको सुनमा लगानी गर्नु हो ।’ जबसम्म अमेरिका र उत्तर कोरियाबीचको तनाव साम्य हँुदैन तबसम्म सुनको मूल्य पनि उकालो लागिरहने अनुमान गरिएको छ ।

त्यसैगरी, विश्व बजारमा अमेरिकी डलरको अवस्था पनि खस्किँदो छ । त्यसले पनि सुनमा लगानीकर्ताको आकर्षण बढेको उनको भनाइ छ ।

महासंघको तथ्यांक अनुसार एक महिनाअघि साउन २२ गते सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँ थियो । त्यसपछि निरन्तर उकालो लागिरहेको छ । स्थानीय बजार मागले सुनको मूल्यमा खासै फरक नपार्ने शाक्य बताउँछन् । स्थानीय बजारमा अधिकतम माग भएको बेला बढीमा प्रतितोला पाँच सयसम्म बढ्न सक्ने तर त्यो सुन अभावको बेलामा मात्र हुने शाक्य बताउँछन् । तिज, दसैं, तिहार र विवाहको साइत भएका महिनामा सुनको माग बढ्ने गरेको छ ।

व्यवसायीका अनुसार पछिल्लो समयमा सुन व्यवसाय पनि खासै राम्रो हुन सकेको छैन । तिजदेखि दसैं–तिहरको समयमा उच्च माग हुने भए पनि यसपालि त्यत्ति धेरै हुन सकेको छैन । अहिले औसतमा दैनिक ३० किलो सुन बिक्री भइरहेको शाक्यले बताए ।

‘अहिले दैनिक ३० किलोका हाराहारीमा सुन बिक्री भइरहेको छ,’ शाक्यले भने, ‘यो खासै राम्रो होइन ।’ तिजपछि केही दिन दैनिक कारोबार ३५ किलोसम्म पुगे पनि त्यसपछि पुनः झरेको छ ।

बजारमा दिन प्रतिदिन सुनको मूल्य बढ्दै जाँदा उपभोक्ता सुन किन्न आकर्षित हुन सकेका छैनन् ।

२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि नेपालको सुन बजार खासै राम्रो हुन नसकेको व्यवसायीको भनाइ छ । भूकम्प, नाकाबन्दी, स्थानीय चुनाव र त्यसपछिको बाढी–पहिरोले उपभोक्ताको क्रयशक्ति मै असर गरेकाले सुन किन्नेको संख्या घटेको हुन सक्ने शाक्यको विश्लेषण छ । उनका अनुसार पछिल्लो समय नयाँ सुन किन्नेभन्दा पनि पुरानो बेच्ने, सट्टापट्टा गर्ने उपभोक्ता बढ्दै गएका छन् ।

भूकम्पअघि बजारमा सुन अभाव जस्तै थियो । शाक्यका अनुसार २०७१ माघ, फागुन महिनामा प्रतिदिन ५० किलोभन्दा माथि सुन बिक्री भइरहेको थियो । उक्त समयमा बजार सुनको अभाव थियो ।

प्रकाशित: २२ भाद्र २०७४ ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App