८ वैशाख २०८१ शनिबार
अर्थ

लघुवित्तमा विकृति : एउटै व्यक्तिले पाँच संस्थाबाट ऋण

काठमाडौं- लघुवित्त संस्थामा विकृति देखिन थालेको विज्ञहरुले औंल्याएका छन् । अस्वस्थ प्रतिस्पर्धाका कारण एउटै व्यक्तिले धेरै लघुवित्त कम्पनीबाट ऋण लिएर विकृति निम्त्याएको आरोप उनीहरुले लगाएका हुन् ।

लघुवित्त संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा देखिन थाले मर्जर र एक्विजिसनको नीति ल्याउने गभर्नर चिरञ्जीवी नेपालको चेतावनी ।

दुर्गम र विकट क्षेत्रमा गरिबी न्यूनीकरण गर्ने उद्देश्यले स्थापना भएका लघुवित्त संस्थाहरु पछिल्लो समयमा सुगम क्षेत्रमा ऋण लगानी गर्न अस्वस्थ प्रतिस्पर्धा गर्दै आएका छन् । यिनीहरुले विपन्नलाई उत्थान गर्नुभन्दा गरिबी बढाउने काम गरेको नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताए ।

लघुवित्तका अभियन्ता हरिहरदेव पन्तको दोस्रो स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर नेपालले यस्तै अस्वस्थ प्रतिस्पर्धा देखिन थाले मर्जर र एक्विजिसनको नीति ल्याउने चेतावनी दिए ।

‘आर्थिक रुपमा अप्ठेरो परेकालाई उत्थान गर्नुको साटो दोहोरो ऋण प्रवाह गर्ने चलन बढेको छ,’ उनले भने, ‘एकै व्यक्तिले ४–५ ठाउँबाट ऋण लिएका छन् ।’ लघुवित्तले गरिबी न्यूनीकरणमा योगदान गर्नुको सट्टा थप गरिबीको चपेटामा पार्ने हुन् कि भन्ने आंशका बढेको उनको भनाइ थियो ।

‘एउटै व्यक्तिलाई धेरैवटा लघुवित्त संस्थाले ऋण दिँदा आर्थिक भार थपिएको छ,’ गभर्नर नेपालले भने, ‘यस्तो भयो भने झन् गरिबी बढ्ने छ ।’

लघुवित्त संस्थाहरु धेरै भएर एकै ठाउँमा थुप्रिने प्रवृत्ति बढेकोमा गभर्नर नेपालले चिन्ता व्यक्त गरे । ‘यस्तै स्थिति रहने हो भने लघुवित्त संस्थालाई मर्जरमा लगिने छ,’ उनले भने, ‘दुर्गम र विकटमा शाखा खोल्ने लघुवित्तलाई ४० लाख निब्याजी ऋण दिने गरेका छौं, तैपनि दुर्गममा जान मानिरहेका छैनन् ।’

वित्तीय साक्षरता र पहुँच बढाउन लघुवित्त कम्पनीको स्थापना गरिएको जानकारी उनले दिए । हाल ५३ लघुवित्त कम्पनीहरु सञ्चालनमा छन् । ‘२५ गैरसरकारी संस्था (फिंगो) पनि राष्ट्र बैंक मातहत आएका छन्,’ उनले भने, ‘ती संस्थाको उद्देश्य पनि गरिब नेपालीको उत्थान गर्ने नै हो ।’

पछिल्लो समय वित्तीय पहुँच बढ्दै गएको गभर्नर नेपालको भनाइ थियो । ‘दुई वर्षअघि ४० प्रतिशत जनतामा मात्र वित्तीय पहुँचमा पुगेको थियो, अहिले ८० प्रतिशतमा पुगिसकेको छ,’ उनले भने, ‘निकट भविष्यमा सबै नागरिकमा वित्तीय पहुँच पु¥याउँदैछौं ।’

लघुवित्त संस्था धेरै भएकाले लाइसेन्स दिने काम रोकिएको जानकारी पनि उनले दिए । कुल सात ५३ मध्ये ६५ स्थानिय तहमा मात्र बैंक जान बाँकी रहेको गभर्नर नेपालको भनाइ थियो ।

कार्यक्रममा प्रथम गभर्नर हिमालय शमशेर राणाले गरिबी निवारणका क्षेत्रमा लघुवित्त संस्थाहरुले प्रशंसायोग्य काम गरेको बताए । अस्वस्थ प्रतिप्रस्र्धा भए विकृति निम्तने चिन्ता पनि त्यत्तिकै हुने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मोहनमान सैंजुले लघुवित्तले गरिबी न्यूनीकरणमा उल्लेख्य योगदान पु¥याएको बताए । कार्यक्रममा पूर्वगभर्नर विजयनाथ भट्टराईलगायतको उपस्थिति थियो । कार्यक्रममा हरिहरदेव पन्त स्मृतिग्रन्थ पनि सार्वजनिक गरिएको थियो ।

नगद तथा सम्मानपत्र

निर्धन संस्थाद्वारा सञ्चालित हरिहरदेव पन्त एकेडमिक एक्सिलेन्स पुरस्कार धमेन्द्र तिमिल्सिनालाई प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र ०६९÷७० मा ७४.२ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल तिमिल्सिनालाई ५० हजार रुपैयाँ सहित सम्मान ्पत्र प्रदान गरिएको छ ।

यसैगरी, हरिहरदेव पन्त एकेडमिक एक्सिलेन्स पुरस्कारबाट मिलन बगाले पुरस्कृृत भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र ०६९÷७० मा ६९.१ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएका बगालेलाई नगद ५० हजार सहित सम्मानपत्र प्रदान गरिएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई नगद २५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । यसैगरी, हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार कौशिला माया, गीता परियार र चन्द्रा लामिछानेलाई प्रदान गरिएको छ । उनीहरुलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।  

प्रकाशित: २२ भाद्र २०७४ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App