८ वैशाख २०८१ शनिबार
खेल

अर्जेन्टिना र चिलीको यात्रा अनिश्चित

मोन्टेभिडियो- मंगलबार पुनः एक पटक सुखद नतिजाका निकाल्न असफल भएपछि अर्जेन्टिना र चिलीको विश्वकप यात्रा थप अनिश्चित बनेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गत गए राति सम्पन्न खेलमा अर्जेन्टिना घरेलु मैदानमा छनोट चरणबाट बाहिरिसकेको भेनेजुएलासँग १–१ को बराबरीमा राोकिँदा चिली ला पजमा बोलिभियासँग १–० ले स्तब्ध भयो ।

यस नतिजापछि सन् २०१४ को विश्वकप उपविजेता अर्जेन्टिना र कोपा अमेरिकाको साबिक विजेता चिलीको शीर्ष ४ मा बस्दै स्वतःसन् २०१८को रूस विश्वकपमा छनोट हुने सम्भावना थप कमजोर बनेको छ । शीर्र्ष ४ स्थानको टोली स्वतः विश्वकपमा छनोट हुँदा पाँचांै स्थानको टोलीले ओसियाना क्षेत्रको टोलीसँग दुई लेगको प्लेअफ खेल्नेछ ।

१६ खेलको समाप्तिमा २४ अंक जोडेको अर्जेन्टिना पाँचौं स्थानमा यथावत् छ । चौथौ स्थानमा उक्लिएको पेरूसँग अंक बराबर भए पनि अर्जेन्टिना गोलअन्तरमा पछि परेको हो । समान खेलमा १ अंक कम जोडेको चिली चौथौ स्थानबाट छैटौं स्थानमा झरेको छ ।

अर्जेन्टिनाले बाँकी दुई छनोट खेलमा क्रमशः पेरू र इक्वेडरको सामना गर्नेछ । त्यस्तै चिलीले इक्वेडर र ब्राजिलको सामना गर्नेछ ।

५०औं मिनेटमा जोन मुरुलोले गरेको गोलमा भेनेजुएला अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि भेनेजुएलाका रोल्फ फ्लेस्चरले गरेको आत्मघाती गोलमा अर्जेन्टिना हारको संघारबाट बचेको थियो ।

अर्जेन्टिनका प्रशिक्षक जर्ज साम्पोलीले आफ्नो टोलीले शीर्ष ४ मा बस्दै स्वतः विश्वकपमा छनोट हुने दौडमा उभिने सुनौलो अवसर खेर फालेको बताए । साथै उनले पहिलो हाफमा टोलीले खराब प्रदर्शन गर्दा महŒवपूर्ण तीन अंक गुमाएको प्रतिक्रिया दिए ।

‘हामी बाँकी दुई खेलमा पेरु र इक्वेडरको सामना गर्दै छांै  र हामीसँग उक्त खेल जित्नुको विकल्प छैन,’ साम्पोलीले भने, ‘हामीले छनोट सम्भावना जीवित राख्न अग्रपंक्तिमा भएको कमजोरीमा सुधार गर्नुपर्छ ।’

यता पछिल्लो खेलमा पाराग्वेसँग ३–० ले पराजित हँुदै दबाबमा आएको चिली कमजोर बोलिभियासँग स्तब्ध भएको हो ।

५९औं मिनेटमा जुवान कार्लोस एर्सले गरेको पेनाल्टी गोल बोलिभियाको जितका लागि पर्याप्त भयो ।

त्यस्तै पाराग्वेमाथि २–१ को जित हात पारेको उरुग्वे दोस्रो स्थानमा उक्लँदै विश्वकप छनोट नजिक पुगेको छ । दोस्रो स्थानको कोलम्बिया शीर्ष स्थानको ब्राजिलसँग १–१ को बराबरीमा रोकिएपछि त्यसको प्रत्पक्ष फाइदा उरुग्वेलाई पुगेको हो । अर्को खेलमा भेनेजुएलालाई पराजित गरेमा उरुग्वेले रूस विश्वपको टिकट पक्का गर्नेछ । शीर्ष स्थानको ब्राजिल यसअघि नै विश्वकपमा छनोट भैसकेको छ ।

७६औं मिनेटमा फेर्डिको भाल्भार्डेले गरेको गोलमा उरुग्वेले अग्रता लिएको थियो । त्यसको ४ मिनेटपछि पाराग्वेका गोस्तोभ गोमेजले आत्मघाती गोल गर्दा उरुग्वेको अग्रता दोब्बर भएको थियो ।

खेल सकिन २ मिनेट बाकी छँदा पाराग्वेका एन्जेल रोमेरोले गोल गरेपछि त्यो खेलमा फर्कन पर्याप्त भएन ।२१ अंक जोडेको पाराग्वे सातांै स्थानमा यथावत् छ ।

त्यस्तै इक्वेडरलाई २–१ ले पराजित गरेको पेरूले पनि शीर्ष ४ मा बस्दै विश्वकपमा छनोट हुने सम्भावना जीवित राखेको छ । यस जितपछि २४ अंक जोडेको पेरू चौथो स्थानमा उक्लिएको हो ।

प्रकाशित: २२ भाद्र २०७४ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App