८ वैशाख २०८१ शनिबार
विचार

ठूलो निराशा, झिनो आशा

निर्वाचन आयोग नेपालमा स्थानीय तह निर्वाचन, २०७४ मा भाग लिनका लागि ७९ राजनीतिक दलले निवेदन दर्ता गरेको देखिन्छ । तर देशको राजनीति तथा शासन सत्ता भने तीन राजनीतिक दल (नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र) को वरिपरि घुमिरहेको छ । राजनीतिक दलहरू सिद्धान्त र निष्ठाको राजनीति गर्ने तर्फभन्दा पनि शक्ति र सत्ता प्राप्तिको राजनीतितर्फ उद्यत छन् । जसको ज्वलन्त उदाहरण हो भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको चुनावी तालमेल

युवाहरू देशबाहिर भविष्य खोज्न बाध्य छन् । दलका कार्यकर्ताहरू नेताहरूको वरिपरि घुमिरहेका छन् । स्वतन्त्र बौद्धिक वर्ग सीमान्तीकृत हुँदैछन् । भ्रष्टाचार र बेथिति बढ्दो छ । 

प्रमुख राजनीतिक दल भनिएकाहरू संविधान संशोधनको सवालमा दुई कित्तामा विभाजित छन् । उनीहरू देशलाई निकास दिनेतर्फ भन्दा पनि पार्टीगत लाभ र हानिको लेखाजोखा गरिरहेका छन, जसकारण तत्काल राजनीतिक निकास निस्किहाल्ने सम्भावना अत्यन्त न्यून छ । पार्टीहरूमा मूल्य र मान्यताको राजनीति दिनप्रतिदिन क्षीण हुँदै गएको छ । समृद्ध र समुन्नत देशकोे सपना बोकेका नेपाली जनता आफ्नो सुन्दर भविष्य देशभित्र भन्दा देशबाहिर खोज्न बाध्य छन् । राजनीतिक दलका कार्यकर्ताहरू आ–आफ्ना स्वार्थसिद्ध गर्न नेताको वरिपरि घुमिरहेका छन् । कुनै पनि राजनीतिक दलमा आबद्धता नजनाएका बौद्धिक वर्ग भने दिन प्रतिदिन सीमान्तीकृत हुँदैछन् । देशभित्र बरोजगारको संख्या बढ्दो छ । ठूलो संख्यामा युवा पुस्ता रोजगारीका लागि विदेशिन बाध्य छन् । दिनप्रतिदिन भ्रष्टाचार र बेथिति बढ्दो छ ।

यी तमाम घटनाक्रमका बाबजुद पनि नेपाली जनतासँग यी राजननीतिक दलको भरपर्दो विकल्प पनि छैन । जनता यिनै दललाई सत्तामा पु¥याउन बाध्य छन् । अर्थात् जसरी फ्रान्सेली जनता एक स्वतन्त्र व्यक्तिलाई देशको कार्यकारी प्रमुखमा निर्वाचित गराउन सफल भए, त्यसैगरी नेपाली जनता विद्यमान संवैधानिक अड्चनका कारण दलभन्दा बाहिरको स्वतन्त्र व्यक्तिलाई देशको कार्यकारी प्रमुखमा निर्वाचित गराउन असमर्थ छन् । यस व्यवस्थाले देशलाई निकास दिनुको सट्टा सदैव अस्थिर राजनीति तथा अस्थिर सरकारलाई प्रश्रय दिने देखिन्छ । यस प्रकारका अस्थिर सरकारबाट देशको आर्थिक, सामाजिक रूपान्तरण असम्भवप्रायः छ । दिनप्रतिदिन धुमिल बन्दै गएको देशको राजनीतिलाई निकास दिने तथा देशलाई समृद्धितर्फ अघि बढाउने उद्घोषसाथ दर्ता भएका नयाँनयाँ दल भर्खरै सम्पन्न स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको नतिजाबाट पाठ सिक्दै जनतामाझ आफ्नो अस्तित्व तथा प्रभाव मजबुत बनाउन धमाधम एकीकरण हुँदैछन् भने केही दलहरूले एकीकरणका लागि आह्वान गरिरहेका छन् ।

केही समय यता नेपालमा मात्र हैन विश्वका अन्य देशहरूमा समेत परम्परागत राजनीतिको विकल्पका रूपमा नयाँ राजनीतिक शक्तिहरू उदाउन थालेका छन् । भर्खरै मात्र फ्रान्समा इम्यानुयल म्याक्रोनले सत्ताको बागडोर सम्हाल्न पुगेका छन् भने छिमेकी मुलुक भारतमा आमआदमी पार्टीले नयाँदिल्लीको सत्ता कब्जा गरिसकेको छ । प्रश्न उठ्छ के यी वैकल्पिक शक्ति भनिएकाहरूले नेपाली राष्ट्रिय राजननीतिमा प्रभाव पार्न सक्लान् ? समृद्ध र समुन्नत नेपालको निर्माण गर्न सक्लान् ? यी अनुत्तरित प्रश्नको जवाफ यिनीहरूका आगामी क्रियाकलापबाट नै प्रस्ट हुनेछ ।

परम्परागत राजनीतिक दलहरूप्रति नेपाली जनताको आशा र भरोसा दिनप्रतिदिन खस्कँदो छ । यी दलहरूप्रति जनआक्रोस बढ्दो छ । खस्कँदो जनविश्वास र बढ्दो आक्रोशलाई तत्काल व्यवस्थापन गर्न कठिन छ । आगामी दिनमा यी दलहरूसँग सच्चिएर अघि बढ्ने वा यथास्थितिमै रहेर समाप्त हुँदै जाने दुई विकल्प मात्र बाँकी छ । यदि पहिलो विकल्पमा जाने हो भने राजनीतिक दलले आफ्ना संगठनहरूलाई स्थानीय तहसम्म प्रभावकारी बनाउँदै सामान्य जनतासँग अन्तक्र्रियाशील रहन जरुरी छ । अर्थात् जनतालाई रैती हैन, मालिक बनाउने अभियानमा अघि बढ्न जरुरी छ, न कि शक्ति कब्जा गर्ने र शक्तिमा रहिरहने । यसैगरी वैकल्पिक राजनीतिक शक्ति भनिएकाहरूले पनि उनीहरूले भनेजस्तै निष्ठा, पद्धति, उत्कृष्टता, पारदर्शिता, समानुभूति जस्ता मूल्य मान्यताको राजनीति गर्न सके यथार्थमा नै वैकल्पिक राजनीतिक शक्तिका रुपमा जनता माझ स्थापित हुन सक्नेछन् । एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध भएको आन्दोलन वा पञ्चायती व्यवस्थाविरुद्ध भएको आन्दोलन वा दश वर्षे जनयुद्धको नाममा वा मधेस आन्दोलनका नाममा भएका आन्दोलनमा हजाराँै नेपाली जनताले आफ्नो बलिदानी दिइसकेका छन् । तर अझै पनि नेपाली जनताले परिवर्तनको अनुभूत गर्न पाएका छैनन् । राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धतातर्फ अब पनि ध्यान नदिने हो भने आगामी दिनमा जुनसुकै नाममा गरिने आन्दोलनमा यी दलहरूले जनताको साथ पाउने असम्भवप्रायः छ ।

संविधान संशोधनको विषय दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । जसले देशको राष्ट्रिय राजनीतिमा समेत प्रभाव पारिरहेको छ । अब फुट्ने हैन, जुट्ने बेला आइसकेको छ । अतः सम्पूर्ण राजनीतिक दलले पार्टीगत स्वार्थभन्दा माथि उठेर धुमिलिँदै गएको देशको राजनीतिलाई सही ठाउँमा ल्याउन आ–आफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी छ । यसका लागि सबै दलले आ–आफ्ना स्वार्थ र अडानहरूलाई त्याग्दै असन्तुष्ट पक्षका जायज मागहरूलाई पूरा गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउँदै यसै संविधानमार्फत देशलाई समृद्धिको बाटोमा हिँडाउन अब ढिला गर्नु हुँदैन । संविधान कार्यान्वयनका लागि सबै तहको निर्वाचन संविधानले तोकेको समय सीमाभित्र सम्पन्न गराउन सरकार तथा अन्य सरोकारवाला पक्ष एकजुट हुन जरुरी छ । वैकल्पिक शक्तिका रूपमा उदाएका दलहरूले समेत मूल्य, मान्यता र निष्ठाको राजनीतिलाई भाषणमा मात्रै सिमित नगरी व्यवहारमा उतार्दै परम्परागत भनिएका दलहरूलाई समेत मूल्य र मान्यता र निष्ठाको राजनीतिमा ल्याउन अभिप्रेरित गर्न जरुरी छ । सबैको सामूहिक प्रयत्नबाट मात्रै समृद्ध र समुन्नत नेपालको सपना साकार गर्न सम्भव छ ।

प्रकाशित: २२ भाद्र २०७४ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App