coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उम्मेदवारी दर्ता उत्साहपूर्ण, १८ हजार बढी मैदानमा

काठमाडौ- स्थानीय तह तेस्रो चरणको निर्वाचनमा १८ हजार बढी उम्मेदवार मैदानमा उत्रिएका छन् । प्रदेश २ का आठ जिल्लामा हुने स्थानीय चुनावका लागि बुधबार विभिन्न राजनीतिक दलले उत्साहपूर्वक उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

असोज २ मा हुने स्थानीय चुनावबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् । स्थानीय चुनावबाट निर्वाचित हुने संख्याको तीनगुणा बढी उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगले बुधबार साँझ दिएको जानकारीअनुसार १८ हजार २ सय जनाले मनोनयन दर्ता गरेका छन् । तथ्यांक सबै आइनसकेकाले संख्या अझै थपिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

साँझसम्म उम्मेदवारी दर्ताका लागि लाममा रहेकाले यकिन तथ्यांक दिन नसकेको ढकालले जानकारी दिए ।

गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगर गरी १ सय ३६ वटा स्थानीय तहमा उत्साहपूर्वक, शान्तिपूर्ण ढंगले मनोनयन सम्पन्न भएको आयोगले जनाएको छ ।

केही समयअघि आएको बाढीबाट क्षति व्यहोरिरहेका समेत उत्साहपूर्वक उम्मेदवारी दर्तामा सहभागी भएको प्रवक्ता ढकालले बताए । ‘प्राकृतिक प्रकोपका बाबजुद पनि दुई नम्बर प्रदेशको चुनावका लागि महिला, दलित, जनजाति, अल्पसंख्यकसमेत उत्साहपूर्वक सहभागी भएका छन्,’ प्रवक्ता ढकालले भने ।

बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता समय तोकिएको थियो । बेलुकी ५ बजेसम्म उम्मेदवार दर्ताका लागि निर्वाचन कार्यालय पुगेकालाई बेलुकीसम्म नाम दर्ता गरिएको थियो ।

एक सय ३६ वटा स्थानीय तह रहेको प्रदेश २ मा वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा, कलैया, जनकपुर,  उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् ।

आयोगले २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकेको छ । दुई नम्बर प्रदेशमा २६ लाख ६४ हजार बढी मतदाताले मत दिँदैछन् ।

प्रकाशित: २२ भाद्र २०७४ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App