६ वैशाख २०८१ बिहीबार
समाज

डेढ महिना नपुग्दै उक्कियो कालोपत्रे

बागलुङ-  जिल्लामा विकास निर्माणका काम गर्दा हुने लाहपरबाहीको अर्को नमुना सामुन्ने आएको छ। जिल्ला सदरमुकामलाई जैमिनी नगरपालिकाको कुश्मीसेरासँग जोड्ने सडक कालोपत्रे भएको डेढ महिना नपुग्दै भत्किएपछि सडक निर्माणमा हेलचक्रयाँई गरिएको पुष्टी भएको हो।

आर्थिक वर्ष सकिनै लाग्दा गत असारमा कालोपत्रे गरेको सडक अहिले नै भत्किएपछि सडक कालोपत्रे गर्ने रकम दुरुपयोग भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । बागलुङ—कुश्मिसेरा सडक खण्ड अन्तरगत तीन किलोमिटर सडक कालोपत्रे गरेको डेढ महिनामै उक्किएपछि स्थानीले विरोध गरेका हुन् ।

 कालिगण्डकी करिडोरसंग जोडिएको साबिकको भण्कुण्डे—९ हालको बानपा—१० गलुवा दब्ल्याङ र साबिकको पैयुँपाटा—७ हालको बानपा—१३ पैयुँपाटा पाग्जासम्मको सडक कालोपत्रे गरिए पनि अहिले विभीन्न ठाउँमा कालोपत्रे भत्किएको छ । कालोपत्रेका लागि गत आर्थिक वर्षमा तीन करोड ३१ लाख रुपैयाँ खर्चिएको थियो । जयबाबा गोरख/ओखलढुंगा इन्जिनियर जेभिले जिम्मेवारी लिई सडक कालोपत्रे गरिएको सडक अहिले नै भत्किएपछि स्थानीयले कालोपत्रेको नाम पारेर सडकमा कालोपोत्ने मात्र काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। स्थानीय गोविन्द आचार्यले सरकारले ठूलो लगानी गरेर निर्माण गरेको सडक दुई महिना नपुग्दै भत्किनुले बजेटको दुरुपयोग भएको हुनसक्ने बताए।

 ‘राज्यले करोडौ लगानी गरेको सडक यसरी केही दिनमै भत्किनु दुःखद कुरा हो,’ आचार्यले भने,‘यसले कमसल निर्माण सामग्री प्रयोग गरेर रकम दुरुपयोग गरेको तर्फ आशंका जन्माउँछ ।’ आचार्यले जनताले तिरेको कर र राज्यको ढुकुटीमा खेलवाड गर्ने संस्था र व्यक्तिलाईलाई कानुनी कारबाही हुनुपर्ने बताए । ‘यो हामीले खाई नखाई तिरेको करको दुरुपयोग हो,’ उनले भने,‘यस्ता व्यक्ति र संस्थालाई तत्काल कारबाही हुनुपर्छ ।’ आर्थिक वर्ष २०७२/०७३ मा सम्झौता भएको यस सडक खण्डलाई आर्थिक वर्ष ०७३/०७४ को असार मसान्तमा मात्रै कालोपत्रे गरिएको थियो । अविरल वर्षाको समयमा कालोपत्रे गरिएकाले कालोपत्रे टिकाऊ नभएको सवारी चालक डिलबहादुर परियारले बताए ।

 ‘नेपालको चलन बर्खा लागेपछि बल्ल विकास निर्माणको काम हुन्छ,’ उनले भने,‘आकाशबाट झरी पर्न थालेपछि कालोपत्रे गरेपछि कहाँबाट टिकाउ हुन्छ ?’  साढे ५ मिटर चौडाई भएको सडकलाई आवश्यकता अनुसार  ६ मिटरसम्म फराकिलो बनाईएको बताईएको छ । सडक डिभीजन कार्यालय बागलुङका सव—इन्जिनियर चन्द्रकिशोर माझीले कालोपत्रे गरिएको तल्लो भागमा उक्किएकाले तत्काल बनाउन निर्देशन दिएको बताए ।  ‘केही भागमा पहिरो र वर्षाका कारण पनि कालोपत्रे उक्किएको छ,’ माझीले भने,‘निरन्तर वर्षाको बीचमा काम गर्दा यस्दो समस्या आएको हो । निर्माण कम्पनीलाई तत्काल पुनः कालोपत्रे गर्न निर्देशन दिएका छौं ।’

 सडक कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनी जयबाबा गोरख/ओखलढुङ्गा इन्जिनियर जेभिका ठेकेदार डिबी तामाङले भत्केको कालोपत्रे तुरुन्तै मर्मत गर्ने प्रतिक्रिया दिए । ‘अन्तिम समयमा बजेट आएर काम गर्दा यस्तो समस्या आएको हो,’ तामाङले भने,‘काम सम्पन्न भएको १३ महिनासम्म बिग्रे तथा भत्केको खण्डमा हामीले नै बनाउने सम्झौता अनुसार वाल लगाउने र भत्केको ठाउँमा पुनः कालोपत्रे गर्छौं ।’ सडक बिग्रनुमा राज्यको नीति मूल दोषी रहेको उनको तर्क छ । ‘सहकारी निकायहरु असार मसान्तमा बजेट सक्नका लागि मात्रै तातिन्छन्,’ तमाङ भन्छन्,‘बर्खामा झरीसंगै हतार हतार काम गर्नुपर्छ । समयमा बील भरपाई भएन भने पैसा पाईदैन । हतारमा काम गर्दा यस्तो अवस्था आउँछ ।’

 मोटरबाटो खन्न सुरु गरेको २२ वर्षपछि सडक कालोपत्रे हुँदा हर्षित बनेका स्थानीयहरु डेढ महिनामै भत्किएपछि  निराश बनेका छन् । बागलुङ—कुश्मिसेरा सडकखण्ड २०५२ सालमा एसियाली विकास बैंक (एडिवि)को सहयोगमा निर्माण कार्य सुरु गरिएको थियो । जम्मा २१ किलोमिटर रहेको उक्त सडकखण्डको ट्रयाक खोल्न मात्रै  करिब सात वर्ष लागेको थियो । कालोपत्रे मात्र नभई बाँकी रहेका ग्राबेल गरिएको बाटो पनि भत्किएको छ । ग्राबेल गरिएको बाटोमा ठूला–ठूला खाल्डो परेका कारण बागलुङ—कुश्मिसेरा यात्रा गर्ने यात्रुहरुले सास्ती खेप्दै आएका छन्। उक्त सडकको ग्राबेल अघिल्लो वर्ष मात्रै गरिएको थियो ।

 

प्रकाशित: २१ भाद्र २०७४ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App