coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपाले टिकट नदिएपछि फोरम लोकतान्त्रिकबाट चुनाव लड्दै श्रीवास्तव

वीरगन्ज – राष्ट्रिय जनता पार्टीले वीरगन्ज महानगरपालिकाको मेयरमा  राजेशमान सिंह (श्रेष्ठ) लाई उम्मेदवार बनाएपछि पुराना नेता विमलप्रसाद श्रीवास्तवले सो पार्टी छाडेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट मेयर पदका लागि चुनाव लड्ने भएका छन् । 

अरु पार्टीबाट भए पनि मेयर पदकै लागि चुनाव लड्ने अडानमा रहेका श्रीवास्तवले मंगलबार दिउँसो विभिन्न दलसँग वार्ता सुरु गरेका थिए । साँझसम्म आइपुग्दा फोरम लोकतान्त्रिकसँग कुरा मिलेपछि उनी सो दलबाट चुनाव लड्ने भएका हुन् । वीरगन्जमा मेयर उम्मेदवार घोषणा गर्न नसकेको फोरम लोकतान्त्रिकसँग श्रीवास्तवको वार्ता सार्थक भएको उनी निकट नेता पुरुषोत्तमलाल झाले बताए । ‘राजपाले राजेशमान सिंहलाई मेयरको टिकट दिने निर्णय गरेपछि हामीले तत्कालै अर्को ठोस निर्णय गर्नुपरेको हो, श्रीवास्तवजीलाई विजयकुमार गच्छदारज्यूको पार्टी फोरम लोकतान्त्रिकबाट टिकट आइसक्यो, उहाँको नेतृत्वमा हामी धेरैजना राजपा छोडेर निस्केका छौं,’ मंलगबार बिहानसम्म राजपा जिल्ला नेतृत्वमा रहेका झाले साँझ भने, ‘भोलि (बुधबार) फोरम लोकतान्त्रिकका तर्फबाट उहाँले मेयर पदमा मनोनयन दर्ता गर्नुहुन्छ । हामी चुनावमा जाने नै हो ।’ 

मंगलबार दिउँसो राजपाबाट टिकट नपाउने निश्चय भएपछि श्रीवास्तवले सुरुमा संघीय समाजवादी फोरम नेपालसँग छलफल गरेका थिए । सो वार्ता सफल हुन नसकेको फोरम नेपालले जनाएको छ । फोरम नेपालसँग कुरा नमिलेपछि श्रीवास्तवले फोरम लोकतान्त्रिकसँग वार्ता गरेका थिए । संगठनको हिसाबले पर्सामा कमजोर देखिएको फोरम लोकतान्त्रिकले श्रीवास्तवलाई मेयरको उम्मेदवार बनाउने भएपछि यहाँको चुनावमा नयाँ किसिमको वातावरण बन्न लागेको छ । श्रीवास्तव पटक पटक गरी चारचोटी वीरगन्जको मेयर भइसकेका छन् । राजपा दुई चिरा बनेपछि पार्टीलाई धक्का पुगेको भन्दै केही नेताले चिन्ता जनाएका छन् ।

वीरगन्जमा नेपाली कांग्रेसले जिल्ला सभापति अजयकुमार द्विवेदी, संघीय समाजवादी फोरम नेपालले विजय सरावगी, एमालेले बसुरुद्दिन अन्सारी र माओवादी केन्द्रले रहबर अन्सारीलाई मेयरको उम्मेदवार बनाउने भएका छन् ।

प्रकाशित: २१ भाद्र २०७४ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App