८ वैशाख २०८१ शनिबार
अन्य

बढ्दो तनावले पागलपन

जिन्दगीका अति तनावपूर्ण घटनाहरु जस्तो आफ्ना सन्तानको मृत्यु, पारपाचुके तथा जागिरबाट निष्काशित हुनुका कारणले दिमागमा नराम्रो असर पर्छ र यसले मानिसलाई चाँडै बूढो बनाउने अमेरिकाको एउटा शोध टोलीले एउटा अध्ययन प्रतिवेदनमा निष्कर्ष निकालेको छ ।
५० वर्षको उमेरका १३ सयभन्दा बढी मानिसमा उनीहरुको स्मरण तथा सोच्ने क्षमता जाँच्न परीक्षण गरिएको थियो । हुन त यस अध्ययनमा पागलपनको खतराका बारेमा धेरै जोड दिइएको थिएन । विशेषज्ञहरुले भनेका छन्, पागलपनका लागि बेग्लाबेग्लै तत्वहरुले भूमिका खेलेका हुन्छन् ।
यो रिपोर्ट लन्डनमा अल्जाइमर्स एसोसिएसनको अन्तर्राष्ट्रिय कन्फ्रेन्समा सार्वजनिक गरिएको थियो ।
हुन त शोधमा तनाव र पागलपनको खतराको कुरालाई सशक्त रुपमा सम्बन्ध छ भनी बताइएको थिएन तर तनावपूर्ण जिन्दगीको असर दिमागको कामकारबाहीमा असर पर्ने र त्यसका कारण बिस्तारै मानिसलाई पागलपनतर्फ डो¥याउने अध्ययनको निष्कर्ष थियो ।
कमजोर स्मरणशक्ति
सिद्धान्ततः तनावका कारण शरीरमा रन्किने समस्या बढ्छ । शरीर रन्किए बिस्तारै शरीरका विभिन्न भाग सुन्निने क्रम पनि बढ्छ । यसले क्रमशः पागलपनको स्थिति सिर्जना हुन सक्छ । यस विषयमा साउथएम्प्टन विश्वविद्यालयका शोधकर्ताहरुले परीक्षण गरिरहेका छन् ।
विस्कन्सिन स्कुल अफ मेडिकल युनिभर्सिटीको अध्ययनमा के पाइएको छ भने सुरुवाती जीवनमा लिइएको तनाव र बसेका ठाउँहरुको असरले पछिका दिनमा उनीहरुलाई पागलपनले सताउन सक्छ ।
अल्जाइमर्स सोसाइटीका निर्देशक डाक्टर डउग ब्राउन भन्छन्, ‘चिन्ता र तनावजस्ता स्थितिलाई अलग–अलग गरेर जाँच्न निकै कठिन छ । तर के छ भने यी सबै कुराले विस्तारै पागलपनको खतरा चाहिँ बढाउँछन् नै ।’
बेलायतमा पागलपनबाट साढे आठ लाखभन्दा बढी मानिस पीडित छन् । ६५ वर्ष उमेर समूहभन्दा उकालो लागेका पाका मानिसहरु यसबाट पीडित छन् । कम उमेरमा ४२ हजार मानिस पागलपनबाट पीडित छन् ।
यो खतराबाट कसरी निस्कने ?
-    हप्तामा कम्तीमा पनि पाँच दिन हरेक बिहान शारीरिक रुपमा सक्रिय हुनुहोस् र कम्तीमा आधा घण्टा सक्रिय बन्नुहोस् ।
-    धूमपान नगर्नुस्, गर्नुहुन्छ भने छाड्ने प्रयास गर्नुहोस् ।
-    स्वस्थ तथा सन्तुलित आहार खानुहोस् । माछा, फलफूल, हरिया सागसब्जी अनिवार्य खानुहोस् । चिनीको मात्रा घटाउनुस् र खसी–राँगाजस्ता रातो मासुको खान्कीमा प्रयोग कम गर्नुहोस् ।
-    रक्सी पिउनुहुन्छ भने कम गरिहाल्नुस् । खाँदा पनि ज्यादै न्यून खाने प्रयास गर्नुहोस् ।
-    उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र टाइप–२ डाइबिटिज नियन्त्रण गर्नुहोस् ।
-    स्ट्रोक, हृदय रोग र डाइबिटिजको खतराबाट बच्नका लागि आफ्नो तौल कम गर्नुहोस् ।
-    दिमागलाई सक्रिय राख्नुहोस् । वर्ड सर्च, माइन्ड गेम, नयाँ कुरा सिक्ने जस्ता कुरामा ध्यान दिनुहोस् ।
-    सामाजिक रुपमा आफूलाई सक्रिय राख्नुहोस्, एक्लै बस्ने कुरामा जोगिनुहोस् ।

प्रकाशित: २१ भाद्र २०७४ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App