अावरण कथा

छोरी हैन, कुशल बुहारी

बुधबार, २१ भदौ २०७४, ०९ : २१ चाँदनी हमाल

सिन्धुपाल्चोककी पार्वती (नाम परिवर्तन) दुई छोरीकी आमा हुन् । पहिलो छोरी जन्मेलगत्तै उनलाई छोरा पाउन सासु ससुरा, आफन्त र श्रीमानकै पनि निकै दबाब बढ्यो । अर्को प्रयत्नमा पनि छोरी जन्मिएपछि छोराका लागि सौता हाल्ने कुरा चल्न थाल्यो । त्यसपछि छोरी पढाउने दायित्व सम्झेर उनी काठमाडौँ आइन् । उनलाई श्रीमान्ले फोन गर्दै फकाउन थाले । एक वर्षअघि जेठमा श्रीमान्ले फोनमा फकाए, ‘हेर.. यो पाला त हुन्छ, मैले देउता भाकेको छु, घर फर्केर आइज नत्र मेरो अर्को बिहे गर्दिन्छन् ।’ पार्वतीले जवाफ दिइन्, ‘दुइटा छोरी पढाउन कमाउन पनि त पर्यो, अर्को जन्माउदा फेरि छोरी नै भयो भने के गर्ने ? म सक्दिनँ अब ।’ उनका श्रीमान्ले फेरि फकाए, ‘यतै बाटो बन्दैछ, यतै काम गरौँला अनि छोरा जन्माउँला, आइज ।’ सौता पर्ने डरले उनी छोरा जन्माउन काम छाडेरै गाउँ फर्किन् । यतिखेर उनी छोरा गर्भमा छ कि छैन भनेर बजारको क्लिनिक धाइरहेकी छन् ।  
चितवनकी मन्दिरा (नाम परिवर्तन) को पहिलो सन्तान छोरी भयो । छोरा नभए घरको अंशमा दाबी गर्न नपाउने त्रास बढ्यो । जसरी पनि दोस्रो सन्तान छोरा नै जन्माउने ध्याउन्नमै उनी लागिन् । दोस्रो गर्भको भ्रूण निजी अस्पतालमा पुगेर पहिचान गरिन् । छोरी रहेको थाहा पाएपछि गर्भ पतन गराइन् । दुइटी छोरी फ्याँकेपछि चौथो गर्भमा पनि छोरी देखियो । चिकित्सकले लगातार तीन पटक गर्भ पतन गराउन नमिल्ने बताएपछि उनले त्यो छोरी बाध्यतामै जन्माइन् । छोरी एक वर्षकी नहुँदै अर्को गर्भ बोकिन् । छोरा रहेको थाहा पाएपछि सानी छोरीको ख्यालै नगरी छोरा जन्माइन् ।
उनकै नन्दले पनि बिहे गरेको पहिलो वर्ष नै गर्भ रहेलगत्तै छोरा कि छोरी भनेर लिंग पहिचान गराइन् । छोरो रहेकाले पहिलो बच्चा नफाल्ने भन्दै जन्माइन् । छोरी रहेको भए फालेर केही वर्ष नजन्माउने विचार उनको थियो ।
नेपालमा सन् १९९० अघि एम्नियोसेनटेसिस प्रविधिबाट भ्रूण परीक्षण गर्ने चलन थियो । अचेल अल्ट्रासाउन्ड प्रविधिबाट पहिचान गरिन्छ । छोरीको भ्रूण हत्या रोक्न नेपाल मेडिकल काउन्सिलले लिंग परीक्षण गर्नेको चिकित्सकीय लाइसेन्स खारेज गर्ने तथा नमान्नेलाई तीनदेखि छ महिना कैद गर्ने व्यवस्था गरेको छ ।
मुलुकी ऐनको ज्यानसम्बन्धी महलको दफा २८ ‘ग’मा गर्भपतन गराउने उद्देश्यले लिंग परीक्षण गर्ने, गराउने कार्यलाई निषेध गरिएको छ । तथापि छोरीको भ्रूण हत्या रोकिएको छैन ।
समाज व्यवस्थित गर्न बनेका धर्मशास्त्र र कानुनले छोरीभन्दा छोराको महŒवलाई बढावा दिएको र महिलाले घरको काम गर्ने, पुरुष पैसा आउने काम सम्हाल्ने गरेबाटै विभेद सुरु भएको समाजशास्त्री चैतन्य मिश्र ठान्छन् । ‘हिन्दु धार्मिक मान्यता अनुसार छोरा अंश र वंशको पहिलो हकदार मानिन्छ,’ उनले भने, ‘त्यसैले सम्पति छोरीलाई भन्दा छोरालाई दिने चलन बस्यो । पछिल्लो समयमा भने छोरी नै चाहिँदैन भन्नेहरुको संख्यामा केही कमी आएको छ ।’
‘नेपालको संविधान २०७२ ले छोरा र छोरीलाई बराबर अंशियार घोषित गरेको छ,’ मिश्र भन्छन्, ‘कानुनले भन्दैमा समाजमा बस्नेले मान्दैन । कल्ले पाल्छ ? कल्ले सराद्ध गर्छ भनेर जोडेर हेरिन्छ समाजमा । छोरीले बिहेपछि छाडेर जान्छे भन्ने सोचको दुरी अझै मेटिएको छैन ।’
परिवर्तनका कुरा अध्ययन गर्ने, बहस गर्नेभन्दा छोरी हैन घर धान्ने बुहारी आए पुग्छ भनेर बढी सोच्ने गरिएको छ । त्यसैले पनि सुशील बुहारीभन्दा छोरीलाई किन कम महत्व दिइन्छ भन्ने प्रश्नको उत्तर दिन सकिने समय अझै नआएको मिश्र बताउँछन् । छोराको आमाबाबुसँगको सम्बन्धलाई नेपाली समाजले छोरीसँगको तुलनामा गहिरो मान्छ । मिश्रका अनुसार छोरी बिहे नगरुञ्जेल मात्र हो तर छोरा जीवनभर साथ रहने भएको कारण नै छोराको शिक्षा, काम र व्यक्तित्व निर्माणमा आमाबाबुको बढी चासो रहन्छ ।  
नर्सिङ क्षेत्रमा झण्डै दुई दसक बिताएकी आशालक्ष्मी प्रजापतिले यस अवधिमा बाबुआमाले छोरीभन्दा बढी छोरा नै चाहेको भेटिन् । छोरा होस् वा छोरी स्वस्थ बच्चा जन्मनुपर्छ भन्दा पनि छोरा नै हुनुपर्छ भन्ने चाहना पालेकासँग उनको भेट भयो । ‘जन्मनेबित्तिकै छोरा वा छोरीको रुपैले विभेद पाउने गर्छ,’ उनले भनिन्, ‘छोरा छ भनेपछि मुहार उज्यालो बनाएर आमा छिट्टै बोल्न थाल्छिन् तर छोरी छ भने निन्याउरो भएर छिट्टै बोल्न पनि मन गर्दैनन् ।’
कानुनी बन्देजकै कारण पहिलो बच्चाभन्दा दुई वा तीन छोरीका आमाहरु भ्रूण पहिचानका लागि अस्पताल पुग्ने गरेको उनले सुनाइन् । प्रसूति गृहमा १२ हप्ताको गर्भको लिंग हेरे पनि गर्भपतन गरिँदैन । श्रीमान् र सासु ससुराको भयकै कारण गर्भपतन गराउन खोज्ने बढिरहेको उनले फेला पारेकी छन् ।
‘कीर्तिपुरमा गरिएको एक अध्ययनमा छोरीलाई खाजामै विभेद गरेको पाइएको छ । छोरीलाई हेला गरेर मकै भट्भास खाजा पठाउने र छोरालाई माया गरेर चाउचाउ दिइँदोरहेछ,’ प्रजापतिले अध्ययनको सार सुनाउँदै भनिन्, ‘क्षमताअनुसार एउटै स्कुल र कलेजमा पढाउने चलन पनि कम देखियो ।’
‘छोरीको छिटो बिहे गरिदिने अनि छोरालाई धेरै पढाएर जागिर खुवाउने आकांक्षाले सुशील र कमाउ बुहारी कसरी पाउने ?’ उनी प्रश्न गर्छिन् । क्षेत्री बाहुनको समाजमा भन्दा नेवारी समुदायमा सांस्कारिक रुपमा छोरीमाथि कम विभेद रहेको प्रजापति दाबी गर्छिन् । ‘नेवारलाई मर्दापर्दा छोरी नै चाहिन्छ,’ उनले भनिन्, ‘आफ्ना छैनन् भने अरुका छोरीलाई छोरी बनाएरै कर्म टार्ने गरिन्छ ।’
घरमा कसैको मृत्यु हुँदा सात दिनमा छोरीले खाना पकाएर खुवाए मात्र मरेको मान्छेले पाउँछ भन्ने नेवारी मान्यता छ । त्यस बेला बाहिरबाट फलफूल लिएर भेटघाट गर्न आएकालाई अरुले हैन छोरीले मात्र छोएर त्यो फलफूल भिœयाउने चलन छ ।
नेवारी परम्पराअनुसार हरेक चाडपर्वको अघि वा पछि छोरीलाई छुट्टै बोलाएर सम्मानपूर्वक ‘नखात्या भोज’ खुवाउने गरिन्छ ।

एसियन सेन्टर फर ह्युमन राइट्स रिपोर्ट २०१६ का अनुसार लैंगिक असन्तुलनको रेखामा नेपाल ११ औँ स्थानमा छ । छोरा जन्माउने चाहनाकै कारण एसियामा छोरीका तुलनामा छोराहरु धेरै जन्मन थालेका छन् ।  जनगणना अनुसार दस वर्षमाथिका पुरुषको संख्या ४०.६ प्रतिशत र महिलाको जनसंख्या ३१.१ प्रतिशत रहेको छ । यसले अबको दसकमा पुरुषको संख्या बढ्ने र स्त्रीको संख्या कहालीलाग्दो अवस्थामा घट्ने अनुमान गरिएको छ ।
‘एकातिर सांस्कृतिक र धार्मिक रुपमा हामी देवीलाई पूजेको छौँ भन्छौँ अर्कोतिर छोरीलाई दान गर्छौं,’ समाजशास्त्री मृगेन्दबहादुर कार्की भन्छन्,  ‘छोरा पाउँदा खसी खाने र छोरी पाउँदा फर्सी खाने मानसिकतामा छौँ हामी ।’ मानिस स्वभावैले स्वार्थी भएकाले आफ्नो कुलमा छोरीको जन्म नचाहे पनि परिवार समृद्ध बनाउन सुशील बुहारीको आकांक्षा राख्ने गरेको कार्की बताउँछन् । छोरी नभए बुहारी हुन्न भन्ने नै बिर्सने गरेको उनी औँल्याउँछन् ।
वि.सं.२ ०६९ सालको एक तथ्यांकले शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि आएका शवमध्ये ४२ वटा भ्रूण र नवजात शिशुका पुगेका थिए । जसमा १६ छोरी, १२ छोरा तथा लिंग पहिचान नभएका शव अन्य थिए ।
घरधुरी सर्भेक्षण सन् २००७ ले पनि छोरीभन्दा छोराको चाहना गर्नेको संख्या बढी देखाएको छ । यस सर्भेक्षणअन्तर्गत ९८.८ प्रतिशत परिवारको चाहना छोरीको तुलनामा छोरा नै रहेको देखिएको छ । यस सर्भेक्षणका अनुसार ७९.५ प्रतिशतले बुढेसकालको सहाराका लागि छोरा चाहिने भनेका छन् । त्यस्तै ६७ प्रतिशतले आर्थिक सुरक्षाको खाँचो टार्ने छोरा भनेका छन् । धार्मिक परम्पराका कारण छोरा चाहनेहरु ११.२ प्रतिशत छन् भने ६०.१ प्रतिशतले वंश चलाउन छोरा भनेका छन् । त्यस्तै २३.६ प्रतिशतले सम्पतिको हकदार छोरा भएको उल्लेख गरेका छन् ।
अधिकारकर्मी मीरा ढुंगाना नेपालको समाजमा विद्यमान वैवाहिक संस्कार नै दोषी रहेको बताउँछिन् । ‘हेर्ने, पाल्ने, तार्ने नै छोरा हो भनेर सोचिन्छ,’ ढुंगाना भन्छिन्, ‘छोरी अरुका लागि हो, नजन्मे पनि हुन्छ भन्ने हाम्रो सोच छ ।’
केही वर्षअघिसम्म उनले धेरै भ्रूण हत्याका मुद्दा हेरिन् । ‘भू्रण हत्या गर्नु आमाको मात्र दोष हैन भन्ने कुरा हाम्रो कानुनले बुझेको छैन,’ उनी अनुभव सुनाउँदै भन्छिन्, ‘समाज, परिवार, उसको श्रीमान् बढी दोषी हो तर सजाय भने महिलाले मात्र भोग्नु परेको छ ।’
नेपालका कारगारमा भ्रूण हत्याको अभियोगमा सजाय काटिरहेका महिलाका बारेमा ढुंगाना सहितको टोलीले केही समयअघि अध्ययन नै गरेको थियो । जसमा भू्रण हत्याको दोष केवल महिलामाथि थोपरिएको थियो, त्यो पनि न्यायालयले नै । समाज र संस्कार सुधार्नुपर्ने स्थानमा महिलालाई मात्र दोषी ठानिनु पुरुष सत्तात्मक राज्य र समाजको उपज रहेको उनले औँल्याइन् ।
कानुनी रुपमा गर्भपतन गराउने संस्था मेरी स्टोप्सका अनुसार नौ हप्तासम्मको गर्भ औषधिबाटै पतन गराइन्छ । त्यस्तै नौदेखि १२ हप्तासम्मको गर्भ भने मेसिनबाट गराइन्छ । संस्थाले देशका ३४ जिल्लामा  कानुनी गर्भपतनको सेवा दिइरहेको छ । सिफारिस भई आउनेसँग छोरा वा छोरी सोधखोज नगरी गर्भपतन गराउने गरेको संस्थाले जनाएको छ ।
बालरोग विशेषज्ञ डा. निलम अधिकारी, उमा क्षेत्री लगायतले ६ वर्षअघि गरेको एक अध्ययनअनुसार छोरीभन्दा छोरा बढी जन्मिएको देखाएको थियो । सन् २००३ देखि २००७ सम्मको पाँच वर्षमा पाटन अस्पतालमा ३१  हजार २ सय ८८ जीवित बच्चा जन्मेकामा १७ हजार ४ सय ३९ छोरा थिए । बाँकी १३ हजार ८ सय ४९ छोरी थिए ।
सामान्य लैगिक दरको अनुपात प्रति एकसय महिला बराबार एक सय २ वा १ सय ६ पुरुष हुनुपर्छ । एक सय ८ भन्दा बढी भयो भने लैंगिक असन्तुलन मानिने बालरोग विशेषज्ञ उमा क्षेत्री बताउँछिन् ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad