coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल घरेलु मैदानमा पराजित

काठमाडौं– ताजकिस्तानसँग २–१ ले पराजित भएपछि नेपाल एएफसी एसिया कपलाई छनोट हुने सम्भावना चुनौतीपूर्ण बन्दै गएको छ । 

छनोटको समूह ‘एफ’मा रहेको नेपालले यसअघिका दुई खेलबाट १ अंक मात्र जोडेको थियो । 
यमनसँग काठमाडौं हलचोक मैदानमा गोलरहित बराबरी खेल्दै १ अंक जोडेको थियो । समूह चरणका दुई खेल हारिसकेको ताजकिस्तानलाई घरेलु मैदानमा हराउँदै नेपाल छनोट हुने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा थियो । तर जापानी प्रशिक्षक ग्याटुको कोजीको प्रशिक्षणमा रहेको नेपालले घरेलु मैदानको फाइदा उठाउन सकेन । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानको पहिलो हाफ नेपालका लागि सुखद थिएन । आफ्नो परिचित मैदानमा नेपाली खेलाडीको नियन्त्रणमा खेल थिएन । डिफेन्स कमजोर हुँदा नेपालले सुरुमा दुई गोल सामना गर्नुपरेको थियो । मिडफिल्ड र स्ट्राइकरको रूपमा पहिलो रोजाइबाट खेलेका भरत खवास र नवयुग श्रेष्ठले ताजकिस्तानको पोस्टमा दबाब दिन सकेनन् । आफूले बनाएको योजनाअनुसार स्ट्राइकरले जिम्मेवारी पूरा गर्न नसकेपछि कोजीले नवयुगलाई ३८ र भरतलाई ५८औं मिनेटमा मैदान बाहिर बोलाए । नवयुगको स्थानमा आएका विमल घर्तीमगरले भने लामा प्रहारमार्फत ताजकिस्तानका गोलकिपरलाई केही समय व्यस्त बनाउने कोसिस गरे । कोजीले जर्ज प्रिन्स कार्कीलाई दोस्रो हाफमा विशाल राईको स्थानमा मैदान पठाएका थिए । प्रिन्सले ताजकिस्तानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने अवसर पाए । प्रिन्सले प्रभावशाली प्रदर्शन गर्न नसके पनि ताजकिस्तानको पोस्टमा दुई पटक प्रहार गरेका थिए । तर उनी गोल गर्न सफल भएनन् ।

२५औं मिनेटमै ताजकिस्तानले डिजाली लोभको गोलबाट अग्रता लिएको थियो । कर्नर प्रहार गरेको बल नेपालका गोलकिपर किरण जेम्जोङले नियन्त्रणमा लिन नसकेको बेला हुलमुलमा डिजाली लोभले गोल गरेका थिए । २९औं मिनेटमा भैसिभ डिलसुडले ताजकिस्तानको अग्रतालाई दोब्बर बनाए । एलिभ जाहोन्जिरको क्रसलाई किरणले हातबाट छुटाएपछि डिलसुडले गोल गर्ने अवसर पाएका थिए । किरणले नियन्त्रणमा लिइसकेको बल हातबाट फुत्काएपछि  खाली पोस्टमा डिलसुडले गोल गर्दै नेपाली दर्शकलाई शान्त पारेका थिए । 

२ गोलले पछि परेको नेपालका लागि ६१औं मिनेटमा विमलले गोल गर्दै खेलमा फर्कने आशा जगाए । अन्जन विष्टको पासमा विमलले एक्लो प्रयासमा गोल गर्दै नेपाली टोलीको हौसला बढाएका थिए । विमलले ताजकिस्तानका गोलकिपर माहाकामोभ अब्दुजिजलाई चिफ गर्दै गोल गरे । विमलको गोलबाट उत्साही भएको नेपालका लागि कमल श्रेष्ठले ८१औं मिनेटमा सशक्त प्रहार गरेका थिए । कमलको लामो प्रहारलाई ताजकिस्तानका गोलकिपरले पन्च गर्दै खेल बराबरी हुनबाट जोगाए । 

कमलको प्रहारपछि भने नेपाली खेलाडीले विपक्षीको पोस्टमा गतिलो प्रहार गर्न सकेनन् । ताजकिस्तानी डिफेन्स खेलको अन्त्यतिर तनावमा देखिए पनि नेपाली खेलाडीलाई गोल गर्नबाट भने रोक्न सफल भए । खेल जितेसँगै ताजकिस्तानका खेलाडीले ३ अंक बटुलेको खुसी नेपाली समर्थकमाझ साटे । ताजकिस्तान टोलीले प्यारापिटमा उपस्थित दर्शकलाई ताली बजाएर आधार प्रकट गर्दै मैदानबाट बाहिरिएका थिए । ताजकिस्तानका प्रशिक्षक खाकिम भुजाएलोभले ३ अंक जोड्ने टोलीको लक्ष्य पूरा भएको बताए । 

हारसँगै नेपाल समूह ‘एफ’ को अन्तिम स्थानमा पुगेको छ । नेपालले मंगलबार घरेलु मैदानमा ताजकिस्तानलाई हराउँदै छनोट हुने सम्भावना बलियो बनाउने लक्ष्य लिएको थियो । ताजकिस्तान समूह चरणको अघिल्ला दुई खेलमा पराजित भएको टोली हो । नेपालले यमनसँग गोलरहित बराबरी खेलेर १ अंक जोडेको छ । मंगलबार नेपाललाई हराउँदै ताजकिस्तानले ३ अंक बटुल्दै तेस्रो स्थानमा पुगेको छ । फिलिपिन्स ६ अंकसहित समूहको शीर्ष र ४ अंक जोडेको यमन दोस्रो स्थानमा छन् । 

जापानी प्रशिक्षक ग्याटुको कोजीले हारले छनोट हुन सम्भावना नसकिएको बताए । उनले भने, ‘हामीले योजनाअनुसार नतिजा निकाल्न सकेनौं । पहिलो हाफमा स्ट्राइकरले आफ्नो जिम्मेवारी पूरा गरेनन् । तर हामीले दोस्रो हाफमा राम्रो खेल्यौं । हारले दबाब होइन चुनौती थपेको छ ।’ 

२ गोलले पछि परेको नेपालका लागि ६१औं मिनेटमा विमलले गोल गर्दै खेलमा फर्कने आशा जगाए । अन्जन विष्टको पासमा विमलले एक्लो प्रयासमा गोल गर्दै नेपाली टोलीको हौसला बढाएका थिए ।

प्रकाशित: २१ भाद्र २०७४ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App