coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पुरुषतर्फको उत्कृष्ट अवार्ड कसलाई ?

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार लिम्बुले गत वर्ष अन्तर्राष्ट्रिय खेलमा चार पटक पेनाल्टी जोगाएका थिए । नेपालले मलेसियाको एएफसी सोलिडारिटी कपमा उपाधिसम्मको यात्रा तय गर्दा उनले सेमिफाइनलमा तीन पटक विपक्षीका पेनाल्टी असफल पारेका थिए। 

लाओसविरुद्धको सेमिफाइनल टाई–ब्रेकरमा पुग्दा किरणले नायकको भूमिका निर्वाह गरेपछि नेपाल फाइनल पुगेको थियो । एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले एक पेनाल्टी बचाएका थिए । लामो समयदेखि नेपाली पोस्टमा नम्बर एक गोलकिपरको रूपमा स्थापित किरणले वर्ष २०७३ मै माल्दिभ्सको क्लब टिसी स्पोटस्बाट व्यावसायिक फुटबल खेल्ने उपलब्धि पनि हासिल गरे । टिसी स्पोटर््सलाई बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा च्याम्पियन बनाउँदा पनि नेपालको मनाङ मस्र्याङ्दी क्लबविरुद्धको सेमिफाइनलमा उनी म्यान अफ दी म्याच भएका थिए। 

दुई दशकभन्दा लामो समयपछि नेपालले अन्तर्राष्ट्रिय फुटबलमा औपचारिक उपाधि जित्दा गरेको प्रदर्शनका आधारमा किरण अर्को साता हुने पल्सर स्पोटर््स अवार्डको पुरुष विधाको मनोनयनमा परेका छन् । जहाँ उनले ब्याड्मिन्टनका रत्नजित तामाङ, एथ्लेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र क्रिकेटका शरद् भेषावकरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

नेपाली ब्याड्मिन्टनमा पछिल्लो समय एकछत्र राज गर्न सफल रत्नजितले गत वर्ष दिदी नङसलसँग मिलेर पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्समा उपाधि जितेका थिए । उनले नेपाल इन्टरनेसनल सिरिज र बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वार्टरफाइनलसम्मको यात्रा गरेका थिए । यसै गरी सातौं राष्ट्रिय खेलकुदमा भाग लिएका सबै विधामा च्याम्पियन बनेका उनले घरेलु प्रतियोगितामा चार स्वर्ण पदक जितेका थिए । 

नेपाली एथ्लेटिक्सका नयाँ स्टार सोमबहादुरले ब्रुनाई ओपन एथ्लेटिक्स च्याम्पियनसिपको ४ सय मिटरमा स्वर्ण तथा ८ सय मिटरमा रजत पदक जितेका थिए । यसै गरी सातौं राष्ट्रिय खेलकुदमा पनि उनले ४ सय, ८ सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए । 

मालेमा सम्पन्न तेस्रो एसियन सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा नेपालले कांस्य पदक जितेको थियो । नेपाली पुरुष भलिबल टोलीले आधिकारिक पदक जितेको यो पहिलो पटक थियो । नेपालले ऐतिहासिक पदक जित्दा उनी उत्कृष्ट आउटसाइड अट्याकर घोषित भएका थिए । यसै गरी बंगबन्धु एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा दुई पटक म्यान अफ दी म्याचको पुरस्कार पाएका मानबहादुर त्रिभुवन आर्मी क्लबका मुख्य खेलाडी हुन् । 

यसै गरी नेपाली क्रिकेटको सफलता यात्राका भरपर्दा फिनिसर शरद् भेस्वाकरले बितेको वर्ष ९ खेलमा २ सय ६४ रन बनाउनुका साथै ४ विकेट लिएका थिए । अविजित रहँदै तीन पटक अर्धशतक बनाउने क्रममा उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्ध पहिलो खेलमा ५० तथा दोस्रोमा ७४ रन तथा केन्यासँग अविजित २४ रन बनाएका थिए । इमर्जिङ टिम्स कपमा पनि उनले हङकङविरुद्ध अविजित ५५ तथा पाकिस्तानसँग ३८ रन बनाएका थिए।

सोमबार हुने अवार्डको पुरुष विधामा मनोनीतमध्येबाट विजेता घोषित हुनेले मोटरसाइकल पुरस्कार पाउनेछ।  

 

प्रकाशित: २१ भाद्र २०७४ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App