coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तेस्रो चरण स्थानीय चुनाव : उम्मेदवारी दर्ता आज

काठमाडौं – स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुन लागेको चुनावबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् । 

निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म आठ जिल्लामा मनोनयन दर्ता हुनेछ । 
महिला, दलित, अल्पसंख्यकलाई उम्मेदवारी शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था छ । वडा तहमा ४० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने अनिवार्य व्यवस्था कानुनमा छ । 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । ‘बाढी, डुबान र कटानबाट पीडितको पुनस्र्थापनामा जनप्रतिनिधि निर्वाचित भएपछि थप सहज हुनेछ,’ यादवले भने, ‘त्यसैले चुनावलाई जनप्रतिनिधि चयन गर्ने उत्सवका रूपमा लिन मतदातासँग अनुरोध गर्दछु ।’

मनोनयन दर्तामा अवरोध पुर्‍याएमा निर्वाचनमा खटिएका कर्मचारीले निरुत्साहित गर्ने प्रमुख आयुक्त यादवले बताए । 
आयोगले निर्वाचन कानुनको परिधिभित्र रहेर आचारसंहिता पालना गराउने दाबी गरेको छ । कानुनविपरीत कसैले उम्मेदवारी दिएमा आयोगमा छानबिन गरी रद्द गर्नसक्ने अधिकार छ । 

‘बाढी, डुबान र कटानबाट पीडितको पुनस्र्थापनामा जनप्रतिनिधि निर्वाचित भएपछि थप सहज हुनेछ । त्यसैले चुनावलाई जनप्रतिनिधि चयन गर्ने उत्सवका रूपमा लिन मतदातासँग अनुरोध गर्दछु ।’
अयोधीप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्त

आयोगले निर्वाचन पर्यवेक्षणका ४४ वटा संस्थाका दुई हजार बढी पर्यवेक्षकलाई अनुमति दिएको छ । तेस्रो चरणको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा एक मतदाता शिक्षा कार्यकर्ताका दरले ३ हजार ५ सय कर्मचारी खटिएका छन्। 
एक सय ३६ वटा स्थानीय तह रहेको प्रदेश २ मा वीरगन्ज महानगरपालिका, ३ वटा उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् ।  आयोगले २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ वटा मतदान केन्द्र तोकेको छ । 

आयोगले चुनावसम्बन्धी विवादका लागि निर्वाचन विवाद निरूपण समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायतले आचारसंहिता पालनाको अनुगमन गर्नेछन् । प्रत्येक जिल्लामा उम्मेदवारले गर्ने प्रचारप्रसार अनुगमनमा सहसचिवस्तरीय टोली खटाइएको आयोगले जनाएको छ । चुनावी प्रचारप्रसारलगायत निर्वाचन खर्चका लागि ५० जना सूक्ष्म अनुगमनकर्ता खटाउने तयारी आयोगले गरेको छ ।

दुई नम्बर प्रदेशमा २६ लाख ६४ हजार बढी मतदाता छन् । आठ जिल्लामध्ये सबैभन्दा धेरै धनुषामा ३ लाख ८९ हजार ३ सय ९१ जना, सबैभन्दा कम पर्सामा २ लाख ८० हजार २ सय १२ मतदाता छन् । त्यसैगरी सर्लाहीमा ३ लाख ६६ हजार ६ सय जना, बारामा ३ लाख ३४ हजार ७ सय ४६ जना,  सिरहामा ३ लाख ३२ हजार ८ सय ९५ जना, सप्तरीमा ३ लाख ३१ हजार ६ सय ७९ जना, रौटहटमा ३ लाख २१ हजार १८ जना, महोत्तरीमा ३ लाख ८ हजार ४ सय ९ जना मतदाता छन् । 
पहिलो चरणको वैशाख ३१ मा प्रदेश ३, ४ र ६ मा भएको चुनावमा १३ हजार ५५६ पदका लागि ४९ हजार ३३७ जनाले उम्मेदवारी दिएका थिए । त्यसैगरी दोस्रो चरण प्रदेश १, ५ र ७ को असार १४ मा भएको चुनावमा १५ हजार ३८ पदका लागि ६२ हजार २४० जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । 

प्रकाशित: २१ भाद्र २०७४ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App