coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘कांग्रेस मधेसमैत्री छैन, माओवादी संघीयताविरोधी’

काठमाडौं – नेकपा एमालेलाई मधेसविरोधीका रूपमा चित्रित गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेसलाई मधेसमैत्री नभएको र माओवादी केन्द्रलाई संघीयताविरोधी भएको आरोप लगाएको छ ।

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तयार पारिएको चुनावी घोषणापत्रमा दलहरूका बारेमा धारणा सार्वजनिक गर्र्दै राजपाले उक्त ठहर गरेको हो । 

राजपाले असोज २ गतेअघि नै घोषणापत्र मतदातामाझ लैजाने भएको छ । ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएर पनि संघीयता र समावेशी लोकतन्त्रका लागि प्रतिबद्ध छैन र मधेशमैत्रीसमेत होइन,’ एउटै वाक्यमा राजपाले भनेको छ । 

पहिलो मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५२ जना आन्दोलनकारीको हत्याको मुख्य जिम्मेवार शक्तिका रूपमा चित्रित गर्दैै राजपाले माओवादी केन्द्रलाई लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी भनेको छ । ‘अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनाले माओवादीको मूल चरित्र संघीयताविरोधी हो,’ राजपा दृष्टिकोण छ, ‘ मुलुकमा व्याप्त दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति एवं अराजकता मुख्य रूपले माओवादी केन्द्रकै कारण हावी भएको हो ।’ 
राजपाले थप गम्भीर आरोप लगाउँदै भनेको छ, ‘ऐतिहासिक मधेस आन्दोलनका क्रममा सहिद रमेश महतोका हत्यारा र ५२ जना मधेशी सहिद सपुतको हत्याका लागि समेत मुख्य जिम्मेवार माओवादी केन्द्र नै हो ।’ शक्तिका बलमा सत्ताकब्जा गर्ने नीतिबाट सोे पार्टी सञ्चालित रहेकाले लोकतान्त्रिक पार्टी नभएको जिकिर गरेको छ ।


एमालेलाई संघीयता  र समावेशीकरणका मामिलामा ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टीको रूपमा व्याख्या गरिएको छ ।

एमालेलाई संघीयता  र समावेशीकरणका मामिलामा ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टीको रूपमा व्याख्या गरिएको छ । ‘यसको नेतृत्व तहको संरचना हेर्ने हो भने यहाँ शासक वर्गकोे वर्चस्वमात्रै भेटिन्छ, जो प्रखर मधेसविरोधी पनि छन्,’ घोषणापत्रमा छ, ‘यो पार्टी संघीयताविरोधी त हो नै, उत्पीडित र बहिष्कृत समुदायको हकअधिकारका लागि रत्तिभर संवेदनशीलता नभएको पार्टीका रूपमा पनि देखिने गरेको छ ।’ राजपाले प्रमुख तीन दलका कारण नै मुलुकमा विकास हुन नसकेको निष्कर्ष पनि निकालेको छ ।

संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका बारेमा भनिएको छ, ‘व्यक्तिगत निहित स्वार्थले प्रेरित क्रियाकलापबाट कसरी मधेस तथा मधेसीको बेइज्जती भएको छ र मधेसका मुद्दा ओझेलमा परेका छन् भन्ने कुरा सम्पूर्ण स्वाभिमानी मधेसीलाई लज्जाबोधका साथ स्पस्ट रूपमा ज्ञात नै छ ।’

राजपाले आफ्नै बारेमा उल्लेख गरेको छ, ‘ यो पार्टी विखण्डनबाट नभई आम मधेसी जनताका दबाब र प्रयासका बाबजुद मधेसी मोर्चाभित्रका ७ वटा पार्टीमध्ये ६ वटा पार्टी एकीकृत भई नवीन सोचाइका साथ गठन भएकोे हो । मधेश आन्दोलनबाट प्राप्त जनादेशप्रतिको प्रतिबद्धतालाई यस पार्टीले व्यवहारमै सिद्ध गरेको छ ।’ देशमा व्याप्त विभेदको अन्त्य गरेर सामाजिक सद्भाव, आपसी एकता, आर्थिक विकास, सामाजिक न्याय, राष्ट्रिय सम्पदाको संरक्षण एवं विकास गर्दै राष्ट्रिय समुन्नतिको मार्ग प्रशस्त गर्ने अभियानका साथ राजपा अग्रसर रहेको दाबी घोषणापत्रमा प्रस्तुत गरिएको छ ।
संविधान संशोधन प्रस्ताव पारित गराउनका लागि सत्तारुढ कांग्रेस र माओवादीले तत्परता नदेखाएको राजपाले आरोप लगाएको छ । ‘संशोधन प्रस्ताव नेपाल सरकारको प्रस्ताव भएको हुनाले त्यसको अस्वीकृतिपश्चात् अहिलेको कांग्रेस–माओवादी गठबन्धनको सरकारमाथि प्रश्नचिह्न खडा भएको छ र जुन रूपमा प्रस्ताव पास गराउन कांग्रेस–माओवादीले प्रयास गर्नु पथ्र्यो, त्यस्तो गरेको देखिएन,’ राजपाले भनेको छ । प्रमुख तीन दल नै लोकतन्त्रविरोधी, राष्ट्रिय एकता नचाहने र मुलुकमा द्वन्द्व सिर्जना गरी राजनीति गरिरहने अभिष्ट देखिएको भन्दै राजपाले घोषणापत्रमार्फत आग्रह गरेको छ, ‘जसको जबाफ यी पार्टीहरूलाई जनताले ब्यालेटका माध्यमबाट दिनु जरुरी छ ।’ 

पार्टी एकीकरण घोषणाका क्रममा राष्ट्रियस्तरको पार्टी बनाउने अभिव्यक्ति दिए पनि राजपाले घोषणापत्रमा तराई मधेस केन्द्रित रहने भन्दै क्षेत्रीय दलको परिचयमा नै आफूलाई सीमित राखेको छ । ‘समृद्ध मधेस नै देशको सम्पन्नताको आधारशीला हो, यसैले यो पार्टी मधेस आधारित राष्ट्रिय पार्टी हो अर्थात् राजपा नेपाल मधेस प्रधान वा मधेस केन्द्रित राष्ट्रिय पार्टी हो’ पार्टी मान्यताबारे उल्लेख गरेको छ । 

मधेसको विविधतालाई मधेसको शक्तिका रूपमा व्याख्या गरेको राजपाले मधेसमा बस्ने सबैलाई मधेसीका रूपमा अथ्र्याएको छ । उसले भनेको छ, ‘राष्ट्रिय सम्पर्कका लागि हामीसँग दुई भाषा क्रमशः नेपाली र हिन्दी छन्, यी दुवै भाषा अब देशमा स्वाभाविक सम्पर्क भाषाका रूपमा प्रयोग भइरहेका छन् ।’ आगामी असोज २ गते हुने १ सय ३६ स्थानीय तहमध्ये राजपाले मंगलबार साँझसम्म जम्मा १ सय १४ तहका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । 

 

प्रकाशित: २१ भाद्र २०७४ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App