७ वैशाख २०८१ शुक्रबार
राजनीति

नागरिकविरुद्धको मुद्दामा आइएफजेको गम्भीर चासो

काठमाडौं – अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले सरकारी स्वामित्वको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नागरिक दैनिकविरुद्ध मानहानि मुद्दा दायर गरेको विषयमा गम्भीर चासो देखाएको छ।  
आइएफजेले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘पछिल्ला केही दिनयता नागरिक दैनिकले आयल निगमको जग्गा खरिद प्रक्रियामा ठूलो आर्थिक घोटाला भएको खोजमूलक समाचार प्रकाशित गर्दै आएको र त्यहीविरुद्ध नागरिकको मुख टाल्न खड्काले ७ लाख ८० हजार अमेरिकी डलर (८० करोड रुपैयाँ) बराबरको क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेको’ उल्लेख छ । 
खड्काले काठमाडौं जिल्ला अदालतमा नागरिकविरुद्ध दायर गरेको मुद्दामा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले देखाएको गम्भीर चासोप्रति आइएफजेले ऐक्यबद्धता प्रकट गर्दै थप सहकार्य गर्ने जनाएको छ । 

खड्काले नागरिकका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, प्रधानसम्पादक गुणराज लुइँटेल र संवाददाता दिलीप पौडेलविरुद्ध भदौ १ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । उनले समाचारबाट आफ्नो मानहानि भएको भन्दै चारजनाबाट जनही २०÷२० करोड रुपैयाँ क्षतिपूर्ति भराइदिन माग गरेका छन् । अदालतले भदौ १६ मा नागरिकलाई मुद्दाको लिखित सूचना उपलब्ध गराएको थियो । 

‘यस विषयमा सम्मानित अदालतले प्रेस स्वतन्त्रताको रक्षा गर्दै एक उदाहरणीय फैसला गर्ने विश्वास हामीले लिएका छौं,’ आइएफजेको विज्ञप्तिमा उल्लेख छ ।

मुलुकका विभिन्न जिल्लामा निगमले जग्गा किन्दा करोडौं रुपैयाँ घोटाला भएको भन्दै नागरिकले निरन्तर खोजमूलक समाचार प्रकाशित गर्दै आएको छ । नागरिकले पहिलोपटक निगमको जग्गा खरिद प्रक्रियामा ६७ करोड रुपैयाँ घोटाला भएको समाचार ‘ब्रेक’ गरेको थियो । 

त्यसपछि संसद्अन्तर्गतका सार्वजनिक लेखा समिति र उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले यस विषयमा छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । लेखा समितिले यसबारे आपूर्तिमन्त्री, आपूर्तिसचिव, निगम प्रमुख खड्कालगायत सरोकारवालालाई बोलाएर छलफल गरेपछि  ‘जग्गा खरिद प्रक्रियामा ठूलो अनियमितता भएको’ ठहरसहित आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाएको छ । उसले यसको बोधार्थ आपूर्ति मन्त्रालयलाई गराएको छ । 

त्यसैगरी उपभोक्ता हित सम्बन्ध समितिले झापा, चितवन, सप्तरी र भैरहवामा निगमका लागि खरिद गरिएको ७६ बिघा जग्गाको स्थलगत अध्ययन÷अनुसन्धान गरेको छ । स्थलगत अनुगमन टोलीका सदस्य रामवीर मानन्धरले जग्गा खरिदमा करिब १ अर्ब ५० करोड रुपैयाँबराबरको घोटाला भएको बताएका छन् । सो समितिका अनुसार निगमले खरिद गरेको जग्गाको कुल मूल्य बजार भाउअनुसार अधिकतम ५० करोड रुपैयाँ हुन्छ । 

यही विषयमा निरन्तर खोजमूलक समाचार प्रकाशित गर्दै आएपछि निगम प्रमुख खड्काले नागरिकको मुख थुन्न मानहानिको मुद्दा दायर गरेका हुन् । मुद्दा हाल्नुअघि खड्काले संवाददाता पौडेललाई आपूर्ति मन्त्रालय परिसरमै ‘तपाईंको पनि परिवार छ, ख्याल गर्नुस्’ भन्दै धम्क्याएका थिए । आइएफजेले यसरी धम्की दिने खड्कालाई कारबाही माग गरेको थियो ।  

‘नागरिक दैनिकले सरकारी स्वामित्वको संस्थामा भएको अनियमितताबारे समाचार प्रकाशित गरेको विषयविरुद्ध संस्था प्रमुखले उल्टै मुद्दा दायर गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ आइएफजेले भनेको छ, ‘विश्वव्यापी रूपमा सार्वजनिक सहभागिताविरुद्ध रणनीतिक मुद्दा सञ्चारजगतलाई समाचार प्रकाशन र प्रसारण गर्न रोक्ने एउटा माध्यम भएको छ । त्यसकारण आलोचनात्मक आबाज र खोजमूलक पत्रकारिता दबाउन हालिने यस्ता गलत मुद्दालाई निरुत्साहित गर्न एउटा संयन्त्रको सुनिश्चितता दिलाउन हामी नेपाल सरकारलाई आग्रह गर्छौं ।’

पत्रकार महासंघका महासचिव रमेश बिष्टले अदालतमा मुद्दा दायर गर्नु खड्काको अधिकार भएको र उनको यो कदम सम्मानजनक रहेको बताए । तर, उनको यस कदमले आगामी दिनमा सञ्चार जगतमा यस्ता खोजमूलक समाचारलाई निरूत्साहित गर्ने उनको भनाइ छ । ‘खड्काले नागरिकविरुद्ध हालेको मुद्दामा सम्मानित अदालतबाट प्रेस स्वतन्त्रता र खोजमूलक पत्रकारिताको सिद्धान्तअनुरूप फैसला आउनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

त्यस्तै नेपाल प्रेस युनियनका महासचिव अजयबावु शिवाकोटीले खड्काद्वारा दायर मुद्दाले व्यावसायिक तथा स्वतन्त्र पत्रकारितामा ठाडो हस्तक्षेप भएको बताए । युनियन सधैं व्यावासायिक पत्रकारिताको पक्षमा रहेको भन्दै उनले सञ्चारमाध्यम र व्यावसायिक पत्रकारिता गर्ने पत्रकारलाई हतोत्साही नगर्न सम्बद्ध सबैलाई आग्रहसमेत गरेका छन्।  

 

प्रकाशित: २१ भाद्र २०७४ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App