coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘चकलेटी’ प्रेममा मख्ख दर्शक

काठमाडौं–प्रेमकथाको विषयलाई उठान गरेर निर्माण भएका फिल्महरु प्रति दर्शकको रुची बढ्दै गएको पछिल्लो समयमा रिलिज भएका केही फिल्मको व्यापारले देखाएको छ। हलमा प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर २’ होस् या प्रदर्शन भइसकेका ‘म यस्तो गीत गाउँछु’ र ‘प्रेमगीत २’ हुन्, यी तिनैवटा प्रेमकथाका फिल्म हेर्न हलमा देखिएको दर्शक चापले पनि प्रेमकथातिर दर्शकको आकर्षण बढेको देख्न सकिन्छ ।

भदौ १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ले बक्स अफिसमा निकै आक्रामक रुपमा व्यापार गरिरहेको छ । अभिनेत्री झरना थापाको डेब्यु निर्देशन रहेको यो फिल्मको कथा पनि प्रेमकथामा आधारित नै छ । सुनिलकुमार थापाको निर्माणमा सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको अनस्क्रिन रोमान्सलाई दर्शकले निकै रुचाएका छन्। फिल्मले मंगलबारसम्म झण्डै ४ करोड नजिक व्यापार गरेको छ।

फिल्मको उपत्यका वितरक गोविन्द शाहीका अनुसार सिंगल थिएटर र मल्टिप्लेक्स हलमा अझै पनि दर्शकको फ्लो घटेको छैन । ‘फिल्मको कथासँगै प्रमुख कलाकारका कारण पनि दर्शक फिल्म हेर्न निकै उत्साहित भए,’गोविन्दले भने,‘सिंगल र मल्टिप्लेक्स हल दुवैमा दर्शक उल्लेख्य छन्। यही हिसाबले फिल्म अझै पनि धेरै समयसम्म हलमा रहिरहने देखिन्छ।’

गोविन्दका अनुसार फिल्मले उपत्यकामा शुक्रबार ४५ लाख, शनिवार ८७ लाख ७५ हजार, आइतबार ५३ लाख १५ हजार, सोमबार २१ लाख २५ हजार र मंगलबार झण्डै ४५ लाखको हाराहारीमा व्यापार गरेको छ ।

फिल्मको मोफसल वितरक केदार पराजुलीले मोफसलका हलमा फिल्मको दर्शक अझैं नघटेको बताए । ‘फिल्मको गीत र प्रेमकथाले दर्शक हलमा दिनहुँ बढिरहेका छन् । मोफसलका लागि यो फिल्म साँच्चिकै ऐतिहासिक बनेको छ,’पराजुलीले नागरिकसँग भने,‘यो फिल्म अझै दुई, तीन हप्ता निरन्तर चलिरहने संकेत दिईसकेको छ । मोफसलको सानादेखि ठूला हलसम्म पनि यसको क्रेज घटेको छैन ।’

केदारका अनुसार फिल्मले मोफसलमा पहिलो दिन ३३ लाख ५१ हजार, दोस्रो दिन ७२ लाख, तेस्रो दिन २६ लाखको हारहारीमा व्यापार गरेको छ । मंगलबारमात्र फिल्मले २४ लाख बढीको कारोबार गरेको छ । 

 

प्रकाशित: २० भाद्र २०७४ १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App