coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन दिन बित्दापनि खुलेन लमजुङ–मनाङ सडक

लमजुङ-  शनिबार राती गएको पहिरोका कारण अवरुद्ध बनेको बेसीसहर चामे सडकखण्ड तीन दिन बितिसक्दा पनि खुल्न सकेको छैन।

सडकखण्ड अन्तर्गत मर्स्यांदी गाउँपालिका वडा नं ३ अर्खलेबेसी नजिकै खसेको पहिरो पन्छाउन बढी क्षमताको डोजर उपलब्ध नहुँदा सडक खुलाउन नसकिएको हो ।

सडकको भीरखण्डमा पहिरो सँगै खसेको निकै ठूलो चट्टान सानो डोजरले हटाउन नसकेको र तुरुन्तै ठूलो क्षमताको ‘चेन डोजर’को व्यवस्था गर्न नसक्दा २ दिनसम्म पनि पहिरो पन्छाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीले बताए। सडकभन्दा करिब ३० मिटर माथि बाट खसेको पहिरोले करिब ३० मिटर दुरीमा फैलिएको र सवारी आवागमन समेत रोकिएको सप्रजिअ अधिकारीले बताए । संभव हुँदासम्म छिटो पहिरो हटाउन डिभिजन सडक कार्यालयलाई निर्देशन दिईएको पनि उनी बताउँछन् ।

सानो डोजरले पहिरो पन्छाउन नसक्ने देखिएपछि बेसीसहरका व्यवसायी शंकर बस्नेतको ‘चेन डोजर’ व्यवस्था गरिएको तर अपरेटर बाहिर गएकाले तुरुन्तै डोजर प्रयोग गर्न नसकिएको डिभिजन सडक कार्यालय दमौलीका ईञ्जिनियर गौतम श्रेष्ठले बताए । ‘यो विषयमा हामी गम्भीर छौं, तर मेशिन चलाउने अपरेटर नभएकाले समस्या भयो,’ श्रेष्ठले भने, ‘मंगलबार साँझ मात्रै डोजर पहिरो गएको स्थानमा पुग्ने भयो, बुधबार बिहानै देखि पहिरो पन्छाउने काम सुरु हुन्छ ।’ निकै ठूलो चट्टान खसेकाले पहिरो पन्छाउन समेत समय लाग्न सक्ने उनको भनाई छ । पहिरो खसेको जमिन कमजोर रहेको र थप पहिरो खस्न सक्ने भएकाले व्लाष्टिङ्ग नगरिएको पनि ईञ्जिनियर श्रेष्ठले बताए ।

पहिरोले सडक अवरुद्ध बनाएपछि आईतबार विहानै देखि स्थानीय बासिन्दा सँगै लमजुङ–मनाङ आवतजावत गर्ने पैदल यात्रुलाई निकै कठिनाई भएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । पैदलयात्रुहरु जोखिम मोल्दै पहिरो छिचोलेर ओहोर दोहोर गर्न थालेकाले सर्तकता अपनाउन स्थानीयलाई आग्रह गरिएको पनि अध्यक्ष गुरुङले बताए । पहिरोका कारण ताघृङ, छापागाउँ, रामबजार, अर्खले, श्रीचौर, जगतबजार, वडारविसौना, घेर्मु लगायतका गाउँका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । महत्वपूर्ण कामले आवतजावत गर्नै पर्नेहरु ज्यानको वाजी लगाएरै पनि हिँडीरहेको श्रीचौरका कुमबहादुर गुरुङले बताए। ‘घर जत्रै ठुल्ठुले ढुंगाले बाटो छेकेको छ, पहिरो कट्न पनि निकै अप्ठ्यारो छ,’ गुरुङले भने, ‘काम परेपछि हिड्नै पर्‍यो, तर कतिबेला के हुने हो डरलाग्दो अवस्था छ ।’ उनी जस्तै वडार विसौनाका सोमबहादुर विक पनि पहिरो छिचोलेर ओहोरदोहोर गर्दा साह्रै सकस व्योहोरेको बताउँछन् । सडक अवरुद्ध भएपछि मनाङबाट आएका र बेसीसहरबाट गएका दर्जनौ सवारी साधनहरु सडकमा लामवद्ध अवस्थामा रहेको खुदी प्रहरी चौकीका प्रमुख, प्रहरी सहायक निरीक्षक हरीबहादुर थापाले बताए ।

बेसीसहर–मनाङ सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्ने, खहरे खोलहरु बढेर तर्न मुश्किल पर्ने, अग्ला चट्टाने पहराहरुबाट ढुंगाहरु झरिरहने जस्ता समस्याले गर्दा सवारी आवागमनमा निकै समस्या भएको जीप चालक यामबहादुर गुरुङले बताए । मुश्किलले जीपहरु गुडीरहेको अवस्थामा पहिरो खसेर बाटो रोकिएपछि निकै यात्रु तथा चालकहरुलाई निकै तनाव भएको गुरुङले बताए।

पहिरोले विद्युतको खम्बा र तार समेत बगाएपछि ताघृङ क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको वडा नं ४ का अध्यक्ष सुमन गुरुङ बताउँछन् । ताघृङ, अर्खले लगायतका बासिन्दा अन्धकारमा बस्नु पर्ने अवस्था आएको उनको भनाई छ । पहिरो वरीपरी वस्ती नभएकाले मानवीय क्षति र जोखिम नरहेको पनि उनले बताए।

         

प्रकाशित: २० भाद्र २०७४ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App