७ वैशाख २०८१ शुक्रबार
खेल

बेल्जियम युरोपबाट पहिलो

पेरिस- रोमेलु लुकाकुले अन्तिम समयमा गरेको गोलमा आइतबार राति ग्रिसमाथि जित हासिल गर्दै बेल्जियम अर्को वर्ष रूसमा हुने विश्वकपका लागि युरोपबाट छनोट हुने पहिलो टोली बनेको छ । बेल्जियमले सफलता हासिल गरेको दिन अर्को बलियो टोली फ्रान्स भने लक्जेम्बर्गसँग लज्जाजनक रूपमा गोलरहित बराबरीमा रोकियो ।

म्यानचेस्टर युनाइटेडका स्ट्राइकर लुकाकुले थोमस मिउनियरको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेपछि समय सकिन १६ मिनेट बाँकी रहँदा बेल्जियमले महŒवपूर्ण तीन अंक पक्का गरेको थियो । जितपछि टोली युरोपेली छनोट प्रतियोगिताअन्तर्गत समूह ‘एच’ को शीर्ष स्थान पक्का गर्न सफल भयो ।

पाँच मिनेटको बीचमा तीन गोलको वर्षा हुँदा यान भेर्टोन्घेनको गोलबाट बेल्जियमले ७०औं मिनेटमा अग्रता लिएको थियो । त्यसको तीन मिनेट पछि पोर्चुगलमा जन्मिएका मिडफिल्डर जिकाले ग्रिसका लागि बराबरी गोल फर्काए । तर ग्रिक टोलीले त्यो गोलको खुसी मनाउन नभ्याउँदै ७४औं मिनेटमा लुकाकुले बेल्जियमका लागि विजयी गोल गरे । पछिल्ला सात छनोट खेलमा लुकाकुको त्यो १०औं गोल थियो ।

छनोट चरणका दुई खेल बाँकी रहँदा आइतबारको जितपछि बेल्जियमले दोस्रो स्थानको बोस्निया एन्ड हर्जगोभिनामाथि ८ अंकको अग्रता लिएको छ । बोस्निया एन्ड हर्जगोभिनाले इडेन जेकोको दुई गोल प्रेरणामा जिब्राल्टारलाई ४–० ले हराएको थियो ।

युरोपबाट पहिलो भए पनि रूस विश्वकपको टिकट काट्ने बेल्जियम छैटौं टोली हो । यसअघि नै ब्राजिल, इरान, जापान र मेक्सिकोले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् भने आयोजकको हैसियतले रूस पनि स्वतः छनोट भइसकेको छ ।

समूहमा दोस्रो हुँदै नोभेम्बरको प्लेअफलाई स्थान सुरक्षित गर्ने दौडमा बोस्निया ग्रिसभन्दा १ तथा साइप्रसभन्दा ४ अंकले अगाडि छ । साइप्रस आइतबारै इस्टोनियासँग १–० को नतिजामा पराजित भएको थियो ।

तीन दिनअघि नेदरल्यान्ड्सलाई ४–० को नतिजामा पराजित गर्दा आक्रामक फुटबलको नमुना पेस गरेको फ्रान्स आइतबार कमजोर लक्जेम्बर्गको रक्षापंक्ति तोड्न भने सफल भएन । लक्जेम्बर्ग फिफा विश्व वरीयताको १ सय ३६औं स्थानमा छ भने फ्रान्स १०औं स्थानको टोली हो ।

डिडियर डेसच्याम्प्सले नेदरल्यान्ड्सविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेर गोल गरेका काइलियन एमबाप्पेलाई आइतबार पहिलो रोजाइमा खेलाएका थिए । उनको टोलीले खेलमा ७० प्रतिशत बल पोसेसन राख्नुका साथै विपक्षी पोस्टमा ३० पटक आक्रमण गरेका थियो । तर टाउलोउजमा गोल गर्न भने फ्रान्स सफल भएन ।

१९१४ यता फ्रान्सले लक्जेम्बर्गमाथि विजय हासिल गर्न नसकेको यो पहिलो खेल थियो । बराबरीका बावजुद फ्रान्स दुई खेल बाँकी रहँदा दोस्रो स्थानको स्विडेनलाई एक अंकले पछि छोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा कायम छ ।

‘बिहीबारको नतिजा जति महŒवपूर्ण थियो, आज तीन अंक लिनु पनि त्यतिकै आवश्यक थियो । तर अब हामीले अन्तिमसम्म संघर्ष जारी राख्नुपर्ने भएको छ,’ डेसच्याम्प्सले भने, ‘आजको नतिजाका कारण अन्तिम दुई खेल निर्णायक हुने भएका छन् । आज निराशाजनक नतिजा भोग्नुपरे पनि हामी अझै अरू विपक्षीभन्दा राम्रो अवस्थामा छौं ।’

जुनमा फ्रान्सलाई हराएको स्विडेन आइतबार बेलारूसमा ४–० को जित निकाल्न सफल भयो । टोली दोस्रो स्थानमा छ । आइतबार इमिर फोर्सबर्ग, क्रिस्टोफर नाइम्यान, मार्कुस बर्ग र आन्द्रियास ग्रान्कभिस्टको गोलमा स्विडेनले जित निकालेको थियो ।

यसै गरी नेदरल्यान्ड्सले पनि रूस यात्राको आशा जीवित राख्ने क्रममा एम्सटरडममा आइतबार बुल्गेरियामाथि ३–१ को विजयी नतिजा निकाल्यो । डेभी प्रोपरले दुई तथा आर्येन रोबेनले एक गोल गरेपछि नेदरल्यान्ड्स विश्वकप छनोटमा भड्किएको यात्रालाई सही ट्र्याकमा फर्काउन सफल भएको थियो । यो जितपछि नेदरल्यान्ड्स १३ अंकका साथ तेस्रो स्थानमा उक्लिँदै छनोट आशा जीवित राख्न सफल भयो ।

समूह ‘बी’ मा स्विट्जरल्यान्डले आठौं खेलसम्म अविजित यात्रा कायम राख्ने क्रममा आइतबार लाट्भियामाथि ३–० को नतिजा निकाल्यो । स्विट्जरल्यान्डको जितमा ह्यारिस सेफेरोभिच, ब्लेरिम डिजेमाइली र रिकार्डो रोडरिग्वेजले गोल गरेका थिए ।

सोही समूहको अर्को टोली युरोपेली च्याम्पियन पोर्चुगल स्विट्जरल्यान्डभन्दा तीन अंकले पछि छ । एसी मिलानका स्ट्राइकर आन्द्रे सिल्भाको गोलमा टोलीले आइतबार १० जनामा सीमित भएर खेलको अन्त्य गरेको हंगेरीलाई बुडापेस्टमा १–० ले हराएको थियो ।

क्रिस्टियानो रोनाल्डोको टोलीले दोस्रो स्थानमा रहे पनि अझै विजेताका रूपमा रूसलाई सोझै छानिने आश मारेको छैन । अर्को महिना स्विट्जरल्यान्डलाई लिस्बनमा निम्त्याउँदा विजय हासिल गर्न सके पोर्चुगल शीर्ष स्थानमा उक्लिने सम्भावना रहन्छ ।

विश्वकपको युरोपेली छनोटअन्तर्गत समूह ‘आई’ मा आइतबारै क्रोएसियाले कोसोभोमाथि १–० को महŒवपूर्ण जित हासिल गरेको छ ।  शनिबार जागरेबमा भारी वर्षा भएका कारण स्थगित गरिएको खेल आइतबार पुन खेलाइँदा डोमागोज भिडाको गोलमा जित हासिल गर्दै क्रोएसियाले शीर्ष स्थानमा कायम राखेको छ । दोस्रो स्थानको युक्रेनले आइतबारै टर्कीमाथि २–० को जित हासिल गरेको थियो । क्रोएसिया युक्रेनभन्दा दुई अंकले माथि छ ।

प्रकाशित: २० भाद्र २०७४ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App