१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘मेरो फेसन मैबाट सुरु हुन्छ’

तस्विर : रुकेश श्रेष्ठ

अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, नबिल  बैंक
बैंकर र काठमाडौंको कुलीन समुदायमा फेसनेवल सिइओ भनेर चिनिने अनिल शाह अरुका लागि नभएर आफ्ना लागि फेसन गर्नुपर्ने मान्यता राख्छन् । ब्रान्डको पछाडि दौडने नरुचाउने शाहको रातो चश्मा चर्चामा छँदैथियो, पहिल्लो समय उनको घुमे्रको जुँगा फेसन नै बन्न पुगेको छ । किन घुम्रेको जुगाँ ? अनिलले त्यसको रहस्य खोतल्दै सिंहदरबार अगाडिको अग्लो शालिकलाई औँल्याए । त्यहाँ जुँगा मठारिएको पृथ्वीनारायण शाहको शालिक औँला ठड्याएर वर्षौंदेखि हाँकका साथ उभिएको छ । नागरिक परिवारले शाहसँग गरेको फेसन टक :
तपाईं फेसनेवल सिइओ भनेर चिनिनु हुन्छ नि ?
मेरो फेसनको राज भनेको टिभीमा हेरेर, इन्टरनेटमा देखेर यस्तो फेसन लाउनुप¥यो भन्ने होइन । जे लाउँदा म आफू सन्तुष्ट हुन्छु, त्यही लगाउँछु । सुट, सर्ट, टाई होस् वा क्याजुअल जिन्स र टिसर्ट, म ब्रान्डको पछाडि दौडन्नँ । जे लगाउँदा मलाई सहज हुन्छ, म त्यही लगाउँछु । मलाई मान्छेहरूले अनिलले यस्तो लुगा लगाउँछ भनेर भन्दैनन् । कारण म जहिलेसुकै जे सुकै लगाउन सक्छु । कहिले म नेपाली दौरासुरुवाल लगाउँछु, सुट पनि लगाइरहेको हुन्छु, हाफपेन्ट र चप्पल पनि लगाइरहेको हुन्छु । एक समय मैले पनि टिभी हेरेर फेसन नगरेको होइन तर अहिलेको जस्तो सन्तुष्ट हुन सकिनँ ।
त्यसो हो भने तपाईंले जे लगायो, त्यही फेसन भयो ?
त्यसो त म भन्दिनँ तर मेरा लागि मेरो फेसन मैबाट सुरू हुन्छ ।
तपाईंले जुँगा मठार्नु भएको छ नि, के यो अहिलेको चल्तीको फेसन हो ?
यो चल्तीको फेसन हो वा होइन मलाई थाहा छैन । दुई वर्षअघि ‘नो सेभ इन नोभेम्बर’ भन्ने अभियान चलेको थियो । क्यान्सर रोग विरुद्धको सो अभियानलाई समर्थन गर्ने भन्दै संसारभरका पुरुषले ‘नो सेभ इन नोभेम्बर’ मनाए । मैले पनि अभियानलाई सघाउँदै दुई वर्ष नोभेम्बरमा दाह्री जुँगा काटिनँ । त्यसबेला एक महिना सेभ नगर्दा आफैँलाई राम्रो पनि लाग्यो । एक दिन सिंहदरबारको गेट अगाडि औँला ठड्याएर उभिएको एउटा शालिक देखिन्छ । त्यस शालिकलाई गहिरिएर हे¥यो भने त्यसको जुँगा पनि मठारिएको देख्नुहुन्छ । त्यो हाम्रो राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक हो । म त्यस शालिकबाट प्रभावित भएर यस्तो जुँगा राखेँ ।
कति भयो यसरी जुँगा राखेको ?
दुई वर्ष जति भयो । सुरुमा त दिनदिनै सेभिङ गर्न परेन भनेर आनन्दित थिएँ । पछिपछि थाहा भयो– जुँगा पाल्दा झन् बढी स्याहार चाहिने रहेछ । यसरी जुँगा पालेपछि झन् धेरै समय चाहिने रहेछ । अहिले त वाक्स लगा, यो लगा ऊ लगा, जुँगा मिला झन् टाइम धेरै लाग्छ । पहिले–पहिले मानिसले अनिल शाहको रातो चश्मा भन्थे । कतिपयले चश्मा पसलमा गएर अनिल शाहको जस्तै रातो चश्मा खोज्थे रे ! मेरो आँखा कमजोर भएपछि चश्मा लगाउनुपर्ने नै भयो तर छोरी आर्याले चश्मा नलगाउनू, बूढो देखिन्छ भन्न थाली । पछि छोरीले नै रातो फ्रेम रोजिदिई । त्यसरी सुरु भयो, रातो फ्रेम । रातो फ्रेम भएका मेरा २/३ वटा चश्मा छन् । अब केही गरौँ भनेर जुँगा राखेको हो । आफूले पालेपछि मेरोजस्तै गरी अरूले पनि पालेको देखेँ ।
दाह्री, जुँगा, कपाल सबै कालो छ ? रंगाउनु हुन्छ कि क्या हो ? कति वर्षको हुनुभयो ?
म ५१ वर्षको भएँ । अहिलेसम्म केही पनि फुलेको छैन । मेलै कुनै कलर गर्दिनँ । मानिसहरु पत्याउँदैनन् । कतिपयले त मेरो बार्बरलाई अनिलले रंग्याउँछ कि रंग्याउँदैन भनेर सोध्नेहरू पनि रहेछन् । मेरो अलिक पछि नै फुल्न थाल्छ जस्तो छ । मलाई के लाग्छ भने छोटो कपाल राख्यो भने अलिकपछि फुल्छ, अलिक कम झर्छ । म २/२ हप्तामा कपाल काट्छु । सधैँ कपालमा तोरीको तेल लगाउँछु ।
अहिले पुरूषहरूमा कस्तो स्टाइल चलेको छ ?
कोही अरूलाई देखाउन फेसन गरिराखेको छ भने त्यो मलाई राम्रो लाग्दैन । अरूका लागि लगाइने दौरा–सुरुवाल होस् वा पश्चिमा सुट त्यो मलाई राम्रो लाग्दैन । फेसन व्यक्तिगत रोजाइ हो । म ‘बाटा’को जुत्ता लगाउँछु । बच्चादेखि लगाएको बानी मलाई एकदमै राम्रो लाग्छ ‘बाटा’को जुत्ता ।
तपाईंले प्रयोग गर्ने फेसनका सामान कहाँबाट खरिद गर्नुहुन्छ ?
मैलै लाउने सामग्री अघिकांशतः नेपालमा र इन्डियामा मात्र किन्छु । विदेशबाट किन्दा कहिलेकाहीँ टाई किन्छु । मेरा १०० वटा टाई छन् भने ९० वटा नेपाल र इन्डियामा लिइएका होलान्, बाँकी १० वटा विदेशमा ।
नेपालीहरू विशेष गरेर काठमाडौंबासी फेसनमा कत्तिको पारखी देख्नुहुन्छ ?
काठमाडौँमा टिभीले जे देखायो, त्यसको फेसन चल्छ । जे देख्यो त्यही लगाउने चाहना पुरुष र महिला दुवैमा  देखिन्छ । वातावरणअनुसार फेसन गर्नु राम्रो हो । कहिलेकाहीँ काठमाडौँको फेसन आफ्नालागि नभई अरूका लागि गरिन्छ कि जस्तो देखिन्छ । त्यो देख्दा मलाई दुःख लाग्छ । त्यस्तो हुनु नपर्ने हो । सायद बिस्तारै परिवर्तन होला ।
तपाईं फेसन सोमा गएको देखिनुहुन्छ । आखिर किन जानुहुन्छ ?
किन फेसन सोमा गएको भनेर कतिपयले सोध्नुहुन्छ । कतिपयले भने त्यहाँ राम्रा मोडल देखिने भएकाले गएको भन्ने आरोप पनि लगाउँछन् । वास्तवमा फेसन सोमा मोडल होइन, प्रदर्शन गरिने वस्त्र हेर्ने हो । वस्त्र बनाउने जुन उद्यम छ, त्यहाँ एक खालको सिर्जना हुन्छ । त्यहाँ एक किसिमको आर्थिक गतिविधि छ । म त्यो सिर्जना र आर्थिक गतिविधि प्रोत्साहनका निम्ति जान्छु । नेपाली फेसन डिजाइनरलाई प्रोत्साहन गर्न आवश्यक छ । डिजाइन भनेको विदेशीको मात्रै राम्रो हुन्छ भन्ने होइन । हाम्रा डिजाइनर पनि राम्रा छन्, क्रिएटिभ छन्, उनीहरूको नाम पनि दक्षिण एसियामा चलोस् न ! नेपाली डिजाइनरको बुटिक बम्बे, दिल्ली, ढाका, कोलम्बोमा चलोस् र पछि गएर संसारभर फैलिओस् भन्ने सोच राख्नु पर्छ । त्यसका लागि पहिला नेपालीले नेपाली प्रोडक्सनलाई प्रोत्साहन गर्नुपर्छ । सबैभन्दा पहिले काठमाडौंमा चल्नुपर्यो अनि अन्यन्त्र फैलन्छ । नेपाली डिजाइन अरूले भन्दा पहिले आफैँले लाउनु पर्छ । पढेर डाक्टर, इन्जिनियर, बैंकर बन्छु भन्न सजिलो छ तर कोही फोटोग्राफर, पेन्टर, डिजाइनर बन्छु भन्छ भने त्यो गाह्रो काम हो । त्यस्तो गाह्रो काम गर्न जो हिम्मतसाथ आएका छन्, उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ ।
नेपालमा आयोजना हुने फेसन सोका प्रस्तुति र प्रदर्शन तथा डिजाइनबारे तपाईंको टिप्पणी ?
नेपाली डिजाइनरहरूप्रति मेरो एउटै कम्प्लेन छ । उहाँहरूका ९० प्रतिशत डिजाइन महिलाका लागि हुन्छ । ती डिजाइन मेलै प्रयोग गर्ने कुरा भएन । जुन सर्ट, कोट बनाउनुहुन्छ, त्यो मलाई धेरै राम्रो लाग्छ । विदेशी डिजाइनरभन्दा बेसी नै राम्रो पाउँछु । तर पुरुषका लागि धेरै कम बनाउनुहुन्छ । आज जुन सुट मैले लगाइराखेको छु, त्यो आशिक शेरचनको डिजाइन हो । आशिकको बुटिक छ, उनले पनि ९५ प्रतिशत महिलाकै डिजाइन बनाउँछन् । बाँकी ५ प्रतिशत पुरुषहरूका लागि । अरूहरूले पनि पुरुषका लागि बनाए राम्रो हुन्थ्यो ।
तपाईंका मनपर्ने ब्रान्ड के छन् ?  
ब्रान्डका पछाडि म दौडन्नँ तर पनि जुत्तामा ‘बाटा’, सर्टमा ‘एरो’, ‘लुइभिटोन’ वा ‘भ्यान’ होला । टाईमा पिंक भन्नेको लगाउँछु र कहिलेकाहीँ बेलायती हर्मिजका टाई लगाउँछु ।
तपाईंले प्रयोग गर्ने परफ्युम ?
मैले धेरै वर्ष भयो एउटै पफ्र्युम चलाउँछु– एन्जेल । आफूलाई एकचोटी मन परेपछि त्यो ब्रान्ड छोड्दिनँ । मेरो जन्मदिनमा पफ्र्युम उपहार दिन्छन्, त्यसबेला फरक–फरक चलाउँछु । त्यो ट्राई गर्छु ।

कहिलेकाँही मन परेकाे कुरा महँगाे हुनसक्छ तर म प्राइस ट्याग हेरेर किन्दिनँ।


 कुन–कुन फेसन ब्लग हेर्नुहुन्छ ?
त्यस्तो धेरै हेर्दिनँ । पराक्रम राणाको ब्लग हेर्छु । उहाँ नेपाली हो, इन्डियामा बेस हुनुहुन्छ । लेक्स लिम्बुको पढ्छु । उहाँ बेलायत बस्नुहुन्छ ।

मनपर्ने ड्रेस— अफिसियल/क्याजुअल/पार्टी वेयर
मलाई क्याजुअलमा लुज फिटिङ टि सर्ट र ब्ल्यु जिन्स मन पर्छ । अफिसियलमा २७ वर्ष भयो सुट टाई लगाएको । अरु कतिपय नेपालीलाई विवाह–ब्रतबन्धमा सुटटाई लगाउने गर्नुहुन्छ । मलाई यो सुट टाई कहिले निकालौँ जस्तो भइसक्यो । बैकिङ छोड्नु प¥यो भने यही टाई लगाउनु नपरोस् भनेर छोड्छु होला । बढी नै भयो यो सुटटाई लगाएको । मलाई फर्मल भनेर नेपाली दौरा सुरुवाल, ढाकाको टोपी लगाउन मन लाग्छ । त्यो बेला मेरो परिवारका सदस्यहरू नेता हुन खोजेको भन्छन् । नेपालीले आफ्नै पोशाक दौरा सुरुवाल लगाउँदा छक्क पर्दा दुःख लाग्छ । हामीले नै दौरा सुरुवाल लगाउन छोडिदियौँ भने मेरो छोरीको पुस्तामा म्युजियम गएर हेर्नुपर्ने हुनसक्छ । मैले चश्मा लगाएजस्तै, मैले पालेको जुँगा पालेजस्तै युवापुस्ताले दौरासुरुवालको नक्कल गरिदिए हुन्थ्यो भन्ने लाग्छ । हाम्रो दौरा सुरुवाल पाखे ड्रेस त होइन है भन्ने भावना आउन जरुरी छ ।
तपाईं किनमेलमा कत्तिको रुचि राख्नुहुन्छ ? के–कस्ता सामान किनमेल गर्नुहुन्छ ?
मलाई नयाँ फोन आयो भने किन्न मन लाग्छ । जस्तो अहिले हुआइको इक्यान प्लस आएको छ, आइफोन सेभन चलाइराखेको छु । अर्को मैले किन्ने भनेको क्यामेराका एसेसरिज हुन् । म क्यानन क्यामेरा चलाउँछु । क्यामेराको नसा पनि लागू औषधभन्दा कडा हुन्छ । एक जनाले मलाई भनेका थिए, आफ्ना बच्चालाई लागू पदार्थको कुलतबाट जोगाउनु छ भने फोटोग्राफीमा लत लगाए हुन्छ किनभने फोटोग्राफीका सामान किन्दा यति धेरै पैसा खर्च हुन्छ कि उसले अरु किन्नै सक्तैन । मेरो पनि क्यामेरा र त्यसका एसेसरिजमा लत लागेको छ । यसमा धेरै खर्च गर्ने गरेको छु ।
तपाईंको फेभरेट सपिङ स्पट ?
लबिम मल र सिटी सेन्टर । दिल्ली जाँदा गुडगावका मलमा पस्छु । बिदा मनाउन जुन सहर गइन्छ, त्यहाँ अलिअलि सपिङ हुन्छ नै ।
नेपालमा घुम्ने ठाउँ ?
बेस्ट ठाउँ पोखरा हो । पोखरा बेलाबेलामा जान्छु । संसारको सुन्दर ठाउँ कुन हो भनेर कसैले भन्यो भने म पोखरा भन्छु ।
गाडीप्रतिको सोख ?
गाडीमा अहिले त्यस्तो चाहना छैन । गाडीमा पहिला सोख थियो । बुबा युएनमा भएकाले राम्रा–राम्रा गाडी पनि चढियो । अहिले त्यो सोख ममा छैन । मलाई जीप चढ्न मन लाग्छ । दुइटा कारण, एउटा मेरो खुट्टा लामा छन्, कारमा खुम्चिनु भन्दा जिपमा अलिक सहज हुन्छ । अर्को कारण, हाम्रो बाटोको हालत हो । मेरो चाहना अहिले इलेट्रिकल भेहिकलतर्फ छ । हामी पेट्रोलियम उत्पादन गर्दैनौँ, बिजुली उत्पादन गर्छाैं । त्यसकारण हामीले उदाहरण बनेर त्यस्ता भेहिकल चढ्नुपर्छ ।
तपाईंले लगाएको औँठी पनि विशेष खालको देखिन्छ ? कस्तो हो ?
यो चन्द्रसूर्य अंकित औँठी हो । कालिमाटीका पुराना बाँडाले बनाएको हो । म साँच्चिकै राष्ट्रवादी हो मन र भावनाले । खोक्रो राष्ट्रवादी होइन । त्यसैले चन्द्रसूर्य आकार भएको औँठी लगाएको हुँ । कतिपयले कहाँ बनेको के हो भनेर सोध्ने गर्छन् । मलाई चिन्ता छ, यो औँठी बनाएको बूढा कालिगढपछि यस्ता कुशल मानिस हामीले पाउँदैनौँ कि ! काठमाडौँ कलाले परिपूर्ण सहर हो तर यो क्राप्ट, कला त्यत्तिकै मर्ने हो कि भन्ने चिन्ता लाग्छ ।
फेसनमा मासिक, वार्षिक खर्च कति हुन्छ ?
त्यति धेरै खर्च हुँदैन । खर्च हुने भनेको मैले ६ सय डलरको जुत्ता लगाउनेहरू, ३ हजारको सुट र ६ सय डलरको फलानो लाउनेको मात्र हुन्छ । म त्यस्तो छैन । कहिलेकाहीँ मन परेको कुरा महँगो हुनसक्छ । म प्राइस ट्याग हेरेर किन्दिनँ ।
तपाईंले लगाएको घडी कस्तो हो ? घडीको सोखिन हुनुहुन्छ क्यारे !  
घडीमा ठूलो सोख थियो । मेरी छोरी जन्मिएको बेला मेरा ससुराले सुनको रोलेक्स घडी दिनुभयो । त्यो सुनको रोलेक्स घडीभन्दा पनि मेरो सुसुराको बुआ सुवर्ण शम्सेरले स्विजरल्यान्डमा किनेको घडी रहेछ । त्यसको मूल्य छैन । त्यो घडी पाउनुअघि १/२ वर्षमा नयाँ घडी किनौँ भन्ने चाहना हुन्थ्यो । त्यो घडी पाएपछि नयाँ घडी किन्ने चाहना नै भएन । त्योभन्दा महँगो घडी मैले किन्न सक्दिनथेँ । सुवर्ण शम्सेर जो मेरो बाजे सुसुरा हुनुहुन्छ, उहाँले किनेको घडीको मूल्य नै छैन । मैले त्यो घडी सन् २००० सालमा पाएँ । त्यसपछि घडी किन्ने चाहना चट् । त्यसपछि केही समय पहिला यो घडी किनेँ । यो स्मार्ट वाच हो । म कति हिँडे, एक्सरसाइज कति गरेँ, मेरो इमेल, म्यासेज सबै यही घडीमा आउँछ । धेरैपछि यो घडी राम्रो लाग्यो र किनेँ । मोबाइलमा जे–जे आउँछन्, त्यो यसैमा हुन्छ । एपोइन्टमेन्ट देखाउँछ ।
कति पैसा हाल्नुभयो यस्तो घडीलाई ?
त्यो चाहिँ नभनौँ । यो राम्रै घडी हो ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: २० भाद्र २०७४ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App