१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

असाेज २ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

काठमाडौँ – निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका दिन असोज २ गते उक्त प्रदेशमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने जिल्लाका सरकारी, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा असोज २ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयसँग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए। 

तेस्रो चरणअन्तर्गत सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटका १३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ। 

यसैगरी, आयोगले ती जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसमा यही भदौ २९ देखि असोज २ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पनि शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ। 

निर्वाचनमा मतदान कार्य सञ्चालनका लागि तोकिएका अधिकांश मतदान केन्द्र विभिन्न सार्वजनिक एवं संस्थागत विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थामा रहेकाले उक्त समयावधिसम्म ती जिल्लाका सबै शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगले आग्रह गर्ने निर्णय गरेको हो। 

मतदानपछि पनि कुनै सार्वजनिक वा संस्थागत विद्यालय र क्याम्पसमा मतगणना हुने अवस्था आएमा मतगणना कार्य सम्पन्न नभएसम्म ती विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउनसमेत शिक्षा मन्त्रालयलाई आयोगले अनुरोध गरेको छ। 

यसैगरी, उक्त निर्वाचनको मतदान कार्य सञ्चालनका लागि मतदान केन्द्र तोकिएका गाउँपालिका तथा नगरपालिकाका, वडा कार्यालय, स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र लगायतका सार्वजनिक भवन र परिसर उपलब्ध गराई दिनसमेत आयोगले सम्बन्धित निकायसँग आग्रह गरेको प्रवक्ता ढकालले जानकारी दिए। रासस 

प्रकाशित: १९ भाद्र २०७४ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App