६ वैशाख २०८१ बिहीबार
अन्य

‘प्रधानमन्त्री हुनेबित्तिकै पहिलो काम ? राजिनामा दिन्छु’

हरिवंश आचार्य, अभिनेता

तपाई हास्य कलाकार नभएको भए के बन्नुहुन्थ्यो ?
म हास्य कलाकार नभएको भए नेता बन्थेँ किनभने हास्य कलाकार र नेताको कार्यशैली र काम एउटै–एउटै जस्तो लाग्छ ।
हास्य कलाकार भइसकेपछि के कुरालाई तपाईं सबैभन्दा बढी ‘मिस’ गर्नुहुन्छ ?
त्यस्तो ‘मिस’ गर्नुपर्ने कुरा केही छैन । यो क्षेत्रमा मलाई जे गर्न मन लाग्यो त्यही गर्न र जे बन्न मन लाग्यो, त्यही बन्न पाएको छु ।
तपाईंको पहिलो जागिर र तलब कति थियो ?
मेरो पहिलो जागिर भनेको रत्नराज्य क्याम्पसको शुल्क बुझ्ने ठाउँमा थियो । त्यहाँ काम गरेबापत मलाई १ सय ३५ रुपैयाँ दिन्थे । जसमा म ३५ रुपैयाँ पकेट खर्च राख्थेँ अनि सय रुपैयाँ दिदीलाई घर खर्च चलाउन दिन्थेँ ।
जीवनको कुनै यस्तो दिन, जसलाई तपाईं दोहोर्याएर जिउन चाहनुहुन्छ ?
म मरेको छैन, बाँचिरहेको छु, अझै धेरै दिन बाँच्न बाँकी नै छ त !
हैन बाँचिसकेको दिनमा भन्न खोजेको नि !
अँ, बाँचिसकेको दिनमा चैँ जुन मेरो स्टगल पिरियड थियो, त्यो दिनदेखि आजसम्म सबै दोहोरियोस् जस्तो लाग्छ । १७ वर्षपछिका हरेक दिन जुन दिन मसँग एउटा लगाए अर्को फेर्ने कपडा थिएन, फाटेका जुत्ता फेर्ने पैसा थिएन ती दिनदेखि आजसम्मकै मेरा संघर्षहरु फेरि एक पटक जिउने रहर छ ।
यस क्षेत्रको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
मेरा दर्शक हाँसेको र ताली पिटेको मलाई सबैभन्दा बढी मन पर्छ ।
के कुराले तपाईंलाई बढी चित्त दुख्छ ?
चित्त नै दुख्दैन मेरो त । विचरा सानो चित्त छ, त्यसलाई पनि कति दुखाउनु ? किन दुखाउनु ?  
पहिले पहिले त दुख्थ्यो होला नि ?
त्यो समयमा मलाई चित्त सानो हुन्छ, त्यसलाई दुखाउनु हुँदैन भन्ने नै थिएन, त्यसैले स–साना कुरामा पनि चित्त दुख्थ्यो ।
तपाईंका अगाडि साँच्चिकै भुत प्रकट भए भने के गर्नुहुन्छ ?
म त एक लात्ती हान्दिन्छु । कुन भुतको तागत मेरो अगाडि आउने ! बरु भुत नै म देखेर डराउँछ होला ।
कुनै दिन देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ ?
राजिनामा दिन्छु । बेकारमा गाली मात्रै खाएर किन बस्नु !
कस्तो कुराले तपाईंलाई बढी खुसी बनाउँछ ?
आफ्नो कार्यक्रम हिट हुँदा बढी खुसी लाग्छ नि !
के देख्दा दुःख लाग्छ ?
मलाई त दुःख लाग्नै छाडिसक्यो । पहिले नै जति दुःख भोग्नु भोगियो, चरम पीडामा काम गरियो । त्यही भएर अचेल दुःखै लाग्दैन ।
प्रेम प्रस्ताव कत्तिको आउँछन् अचेल ?
आउँछ नि दिनदिनै । आफ्नी श्रीमतीको प्रेम प्रस्ताव ।
हैन अरु केटीको भनेको नि !
तिनीहरु मूर्ख छन् र ? घरमा श्रीमती छ, बालबच्चा छ भन्ने जान्दाजान्दै, देख्दादेख्दै पनि प्रेम प्रस्ताव गर्छन् !
त्यसो भए बिहेअघि त टन्नै आउँथ्यो होला । त्यस्तो बेला कस्तो लाग्थ्यो ?
त्यो समयमा पनि आएन । राम्राराम्रा युवतीहरु देख्दा, तिनका पछिपछि लाग्दा पनि वास्ता नगर्दा नराम्रो लाग्थ्यो । उनीहरु नै आएर प्रेमप्रस्ताव राखिदिए नि हुने जस्तो लाग्थ्यो ।

म त एक लात्ती हान्दिन्छु । कुन भुतको तागत मेरो अगाडि आउने ! बरु भुत नै म देखेर डराउँछ होला ।


तपाईको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?
खै त्यो त दर्शकलाई मात्रै हैन, मलाई पनि थाहा छैन ।
तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
म धेरै कुरा चाहने मानिस हैन, अहिलेसम्म जे जति पाएको छु, ती सबै मैले योजना नबनाएरै, नचाहेरै पाएको हुँ । त्यही भएर त्यस्तो अपूरो, अधुरो काम केही छैन ।
तपाईंको कमजोरी के हो ?
सञ्चो नभएका बेला रिँगटा लाग्छ, त्यही नै हो ।

 

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
काम नै मेरो शक्ति हो । काम नभएको भए मेरो अन्तर्वार्ता कसैले लिने थिएनन्, मसँग सेल्फी खिच्न कोही आउने थिएनन् । म म हुने थिइनँ ।
आफूलाई नै मनपर्ने आफ्नो बानी ?
मलाई मेरो सबै बानी मन पर्छ । म रिसाउँदिन । लोभलालच मनमा छैन । जे छ, त्यसैमा सन्तुष्ट छु ।
मन नपर्ने बानी ?
सबै मनपर्ने भएपछि मन नपर्ने बानी कसरी हुन्छ त ?

 

प्रकाशित: १९ भाद्र २०७४ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App