coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

छोरी फाल्दा बुहारी संकट !

कीर्तिपुर नगरपालिका काठमाडौँ उपत्यकाको पुरानो नगर हो । त्यहाँ ६ दसकदेखि त्रिभुवन विश्वविद्यालय बसेको छ । मुलुकभरबाट ठूलो संख्यामा विद्यार्थीहरू त्यहाँ अध्ययन गर्न आउँछन् । कतिपय त्यतै बसोबास गर्ने गर्छन् । प्राध्यापन गर्नेहरूको बाक्लो बसोबास पनि त्यहीँ छ । त्यसैले हुनसक्छ, त्यहाँ बसोबास गर्ने नागरिकहरूमा पुरुषहरूको संख्या अधिक छ । अर्थात् नगरपालिकाको जनसंख्यामा १०० जना महिलाको दाँजोमा १२५ भन्दा बढी पुरुष छन् । यसबाट अनुमान गर्न सकिन्छ अध्ययन गर्न आउने र कीर्तिपुरमा बसोबास गर्नेहरूमा छोराहरू धेरै छन् । यो भयो नगरको समग्र जनसंख्याको अवस्था जहाँ २०६८ को जनगणनाअनुसार ३६ हजार ४ सय ७६ पुरुष र २९ हजार १२६ महिला छन् ।
कीर्तिपुरको जनसंख्याको करिब १९ प्रतिशत १४ वर्षसम्मका बालबालिकाको जनसंख्यामा केटाहरू धेरै देखिन्छ । यो उमेर समूहका केटाकेटीमध्ये १०० केटीहरूको तुलनामा ११३ भन्दा बढी केटाहरू छन् । पुरुषको जम्मा जनसंख्यालाई महिलाको जनसंख्याले भाग गरेर १०० गुणन गर्दा आउने अङ्कलाई सेक्स रेसियो भन्ने गरिन्छ । यसले १०० जना महिलाको तुलनामा कतिजना पुरुष भन्ने जनाउँछ । जनगणनामा त्यस्तो रेसियो १०५ को हाराहारीमा हुनुसम्मलाई सामान्य मानिन्छ तर नगरमा रहेका बालबालिकामध्ये ४ वर्ष उमेर समूहको लिंग अनुपात (सेक्स रेसियो)  ११९ छ, ५ देखि ९ वर्ष उमेर समूहको अनुपात ११४ छ भने १० देखि १४ वर्ष उमेर समूहको अनुपात  १०९ को हाराहारीमा छ । तथ्याङ्कले सेक्स रेसियो ठूलो उमेर समूहबाट सानोमा बढ्दै गएको देखाउँछ । यसको अर्थ जनगणनाको समयमा ४ वर्षसम्मका केटाकेटीहरू जो अहिले ६ देखि १० वर्ष उमेरका भएका छन्, उनीहरूमध्ये १ हजार ८ सय ९५ केटा र १ हजार ५ सय ८६ केटी छन् ।
किन यस्तो भिन्नता ? नेपाल तथ्याङ्क विभागका अवकाश प्राप्त उपमहानिर्देशक तथ्याङ्कशास्त्री डा.रुद्र सुवाल ठोकुवा गरेर भन्न नसकिए पनि लिङ्ग पहिचान गरेर छोरी भए फाल्ने छोरा भए पाल्ने प्रवृत्ति प्रमुख कारण हुनसक्ने औँल्याउँछन् । ‘सानो उमेर समूहमा लिंग अनुपात बढ्दै गएको देखिन्छ,’ सुवाल भन्छन्, ‘तथ्याङ्कले लिङ्ग पहिचान गरेर बच्चा जन्माउने प्रवृत्ति बढ्दै गएको अनुमान गर्न सकिन्छ ।’
कीर्तिपुरमात्र होइन काठमाडौँ उपत्यकाको काठमाडौँ महानगरपालिकाको सेक्स रेसियो पनि उच्च छ । ४ वर्ष सम्मका उमेर समूहमा केटाहरू ११९ भन्दा बढी छन् भने केटीहरू १०० मात्र । त्यस्तै भक्तपुर मध्यपुर ठिमीमा १०० जना केटीमा ११७ भन्दा बढी केटा छन् । ललितपुर उपमहानगर पालिका (अहिलेको महानगरपालिका) मा पनि यो उमेर समूहमा १०० जना केटीमा ११५ जना केटा छन् । काठमाडौँ महानगरपालिकाको ५ देखि ९ र १० देखि १४ वर्ष उमेर समूहमा क्रमशः ११४ र ११० सेक्स रेसियो देखिन्छ । त्यस्तै भक्तपुरको मध्यपुर ठिमीमा ५ देखि ९ वर्षको रेसियो ११५ छ भने १० देखि १४ वर्ष उमेर समूहमा रेसियो १०९ मात्र छ । भक्तपुर नगरमा १० देखि १४ उमेर समूहमा १०६ सेक्स रेसियो छ भने ५ देखि ९ मा १११ छ ।
ललितपुर महानगर १० देखि १४ वर्ष उमेर समूहमा रहेको १०७ को सेक्स रेसियो ५ देखि ९ वर्ष समूहमा १११ र ४ वर्ष समूहमा ११५ पुगेको छ ।
जनगणना सम्पन्न भएको २०६८ सालका हिसाबले त्यसबेला ४ वर्षसम्मका केटाकेटी अहिले ६ देखि १० वर्ष समूहमा पर्छन् । माथि उल्लेखित नगरहरूमा १० देखि १४ वर्षको दाँजोमा ४ वर्ष उमेर समूहको सेक्स रेसियो धेरै हुनुको अर्थ पछिल्लो समय गर्भमा छोरी भए गर्भपात गर्ने छोरा भए पाल्ने चलन बढेको अर्थमा लिन्छन् तथ्याङ्कशास्त्रीहरू । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय जनसंख्या विभागका प्रा.डा. रामशरण पाठक प्रविधिमा पहुँच र प्रयोग बढेसँगै सेक्स रेसियो बढेको देखिएको बताउँछन् । ‘सानो परिवारको चाहना, एउटै मात्र सन्तान पाउने प्रवृत्ति र समाजमा छोरा चाहिन्छ भने बलियो मान्यताकै कारण यस्तो परिणाम आएको हुनसक्छ,’ पाठक भन्छन्, ‘भ्रूणमा के छ भन्ने पत्ता लगाउने अल्ट्रासाउन्ड र त्यसपछि गरिने एबोर्सन प्रमुख कारक हुनसक्छ ।’  पाठकको विचारमा सेक्स रेसियामा ठूलो अन्तर आउनुका कारणबारे गहन अध्ययन आवश्यक छ ।
काठमाडौँ उपत्यकाको अवस्था मात्रै यस्तो हो त ? होइन, ‘नागरिक परिवार’ले मुलुकभरिका ३२ जिल्ला र ती जिल्ला सदरमुकाम र नगरपालिका ४९ वटा नगरहरूको १४ वर्षसम्मका केटाकेटीहरूको तथ्याङ्क विश्लेषण गर्दा सबै जसोमा केटाहरूको संख्या धेरै देखिन्छ ।
अध्ययन गरिएका ४९ नगरमध्ये ३६ वटा नगरपालिकाहरूमा रहेका ४ वर्ष सम्मका केटाकेटीको सेक्स रेसियो १०५ भन्दा माथि छ । ४ वर्षको उमेर समूहमा १३ वटा नगर १०५ र सोभन्दा कमको रेसियोमा छन् । कपिलवस्तु, स्याङ्जाको पुतलीबजार र मनाङको चामेमा केटाभन्दा केटी धेरै छन् । १०० जना केटीमा कपिलवस्तुमा करिव ९७ जना केटा छन् भने पुतलीबजार र चामेमा ८९ जना मात्र केटा छन् ।
४ वर्षसम्मको उमेर समूहमा उच्च सेक्स रेसियो हुने १० नगरहरूमा सबैभन्दा अगाडि पाल्पाको तानसेन छ भने त्यसपछि बुटबल, काठमाडौँ महानगर, कीर्तिपुर, दोलखाको भीमेश्वर नपा, नुवाकोटको विदुर, चितवनको रत्ननगर, भरतपुर नपा, भक्तपुरको मध्यपुर ठिमी, पोखरा उपमहानगर, भक्तपुर नगर, भीमदत्त नपा, धनगढी नपा र कैलालीको टीकापुर छन् । पहिलो हुने तानसेनको सेक्स रेसियो १२४.८१ छ भने दसौँ स्थानको टीकापुरको ११४.२९ छ । सेक्स रेसियो १०५ भन्दा बढी हुनुलाई स्वाभाविक मान्दैनन् तथ्याङ्क र समाजविद् ।
५ देखि ९ उमेर समूहमा १०५ भन्दा माथि सेक्स रेसियो हुने नगरहरूको संख्या ३८ छ । यो उमेर समूहमा ४९ नगर मध्ये ११ नगरहरूमा मात्र १०५ भन्दा कम सेक्स रेसियो छ । यो उमेर समूहमा सबैभन्दा माथि बाँकेको कोहलपुर छ । यहाँको सेक्स रेसियो १३० छ अर्थात् १०० जना केटाहरूको तुलनामा १३० जना केटाहरू छन् । यो उमेर समूहमा सेक्स रेसियोको हिसाबले पुछारमा आउँछ रोल्पाको लिवाङ । त्यहाँको सेक्स रेसियो १०० छ, ६७४ जना केटा ६ ७३ जना केटी छन् । यो उमेर समूहका पहिलो स्थानमा कोहलपुर छ भने त्यसपछिका नगरहरूमा पर्साको रामगढवा, जनकपुरको जनकपुरधाम,कंचनपुरको भीमदत्त नपा, भक्तपुरको मध्यपुर ठिमी, काठमाडौँ महानगर, सप्तरीको  राजविराज, कैलालीको घनगढी, रुपन्देहीको बुटबल र काठमाडौँको कीर्तिपुर छन् । पहिलो हुने कोहलपुरको सेक्स रेसियो १३० को हाराहारीमा छ भने दसौँ स्थानमा रहेको कीर्तिपुरको ११४ छ ।
१०—१४ उमेर समूहमा सेक्स रेसियो १०५ भन्दा धेरै हुने नगरको संख्या २८ मात्र छन् । २१  नगरहरूमा सेक्स रेसियो १०५ र सोभन्दा कम छ । मनाङका चामेमा केटाकेटी बराबर छन् भने झापाको भद्रपुरमा ११० केटीमा ९८ केटा छन्, चितवनको रत्ननगरमा ११० केटीमा ८८ केटा मात्र छन् । १०–१४ वर्ष उमेर समूहका केटाकेटीहरूमा सबैभन्दा धेरै जनसंख्या अन्तर रहेको नगरमा सप्तरीको राजविराज पर्छ । राजविराजको सेक्स रेसियो १२५ छ भने त्यसपछि बाराको कलैया, कैलालीको धनगढी, प्युठानको खलङ्गा, वीरगंज, तानसेन, सुर्खेतको वीरन्द्रनगर, सिरहाको लहान, सर्लाहीको मलगंवा र कैलालीको टीकापुर छन् । दसौँ नम्बरको टीकापुरको सेक्स रेसियो ११० छ । जनगणना २०६८ मा १०—१४ उमेर समूहको जनसंख्या अहिले १६ देखि २० वर्ष उमेर समूहको युवा अवस्था हो । यी युवा आउँदो ५÷१० वर्षपछि विवाह हुने अवस्थाको विश्लेषण गर्दा सहरी क्षेत्रमा केटी पाउन समस्या हुने देखिन्छ । राजविराज, लहान, मंलगवा, पर्साको रामगढवा, धनगढी, टीकापुरले तराई मधेसको अवस्था दर्शाउँछन् भने प्युठानको खलंगा, सुर्खेतको तथ्याङ्कले पहाडी बजार सदरमुकामहरू पनि त्यही नियतिमा रहेको सन्देश दिन्छन् । यो उमेर समूहमा सेक्स रेसियो कम हुनेमा राजविराज १२५ अंकका साथ पहिलो स्थानमा छ । उता दसौँ स्थानमा रहेको सर्लाही मलंगवाको सेक्स रेसियो ११० रहेको छ ।
४९ वटा नगरहरूको १४ वर्षसम्मको समग्र उमेर समूहको तथ्याङ्कले ११० सेक्स रेसियो देखाउँछ । यस तथ्याङ्कमा २५ वटा तराई–मधेसमा नगरहरू छन् भने २४ वटा नगरहरू काठमाडौँ उपत्यका र पहाडी क्षेत्रका हुन् । तथ्याङ्कले तराई–मधेस र पहाड जहाँसुकै होस्, सेक्स रेसियोको अवस्था सामान्य छैन ।
नगरहरूमा ४ वर्षसम्मको उमेर समूहको सेक्स रेसियो ५—९ र १०—१४ उमेर समूहको भन्दा बढी देखिनुले पछिल्लो समय लिङ्ग थाहा पाएर गर्भपात गरेको अवस्था औल्याउँछ । ४ वर्ष उमेर समूहका बालबालिकाहरूको अवस्था स्वाभाविक अर्थात् १०५ प्रतिशतभन्दा बढी रहेका नगरहरू ३६ वटा छन्, ५—९ उमेर समूहमा ३८ वटा नगरहरूले त्यस्तो चपेटामा छन् । उता १०—१४ उमेर समूहमा सेक्स रेसियो १०५ भन्दा बढी हुने नगरको संख्या २८ छ । अर्थात्, १६ देखि २० वर्ष अघिसम्म मुलुकका आधाजसो नगरहरूको केटाकेटीको जनसंख्या स्वाभाविक थियो तर पछिल्ला वर्षहरूमा त्यस्तो सन्तुलन गुम्दै गएको छ ।
त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग, कीर्तिपुरका प्रा. डा. योगेन्द्र गुरुङ सरकारले भ्रूण हत्या गर्न पाउने नियम ल्याएपछि यस्तो अवस्था आएको हुनसक्ने औल्याउँछन् । १७ वर्षअघि आमालाई खतरा हुने लगायतका विभिन्न सर्तहरूको बन्देजमा रहेर १२ हप्ता अघिको गर्भपात गर्न पाउने नीति आएको हो । अहिलेको प्रविधिले १२ हप्ता पछिको गर्भको मात्र लिङ्ग छुट्याउन सकिने भएकाले एबोर्सन गर्न पाउने नियमको चर्को दुरुपयोग भएको छ । जसको मूल्य नेपाली समाजले आउँदा दिनमा तिर्नुपर्ने हुन्छ । ‘जताततै भिडियो एक्स–रे गरेर लिङ्ग पहिचान गर्न सक्ने र पहिचानपछि छोरी भए फाल्ने छोरा भए राख्ने प्रचलनकै कारण यस्तो भिन्नता देखिएको हुनसक्छ,’ गुरुङ भन्छन्, ‘जताततै लिङ्ग पहिचान गर्नसक्ने प्रविधि र भ्रूण फाल्न सक्ने क्लिनिक खुलेका छन्, तिनमा आम मानिसको पहुँच पुग्यो ।’ १४ वर्षसम्मको उमेर समूह (अहिले ६ देखि २० वर्ष उमेर समूह) मा किन धेरै भिन्नता भएको हो ? गहन र विस्तृत अध्ययन आवश्यक रहेको औँल्याउँछन्, गुरुङ । ‘मेरो विचारमा भ्रूण हत्यासम्बन्धी कानुन र त्यस्ता क्लिनिकहरू खुलेपछि लिङ्ग पहिचान गरेर मात्र जन्माउने प्रचलन बढेको हो,’ गुरुङले भने, ‘एबोर्सन कानुन आउनुअघि यस्तो अवस्था थिएन । अहिले आम जनताको पहुँचमा त्यस्तो सेवा पुगेको छ र त्यत्तिकै दुरुपयोग पनि भएको छ ।’
ग्रामीण भेगको अवस्था नगरको भन्दा अलिक भिन्न देखिन्छ । अध्ययन गरिएका ३२ जिल्लाको समग्र तथ्याङ्क केलाउँदा ४ वर्षसम्मको उमेर समूहमा सेक्स रेसियो उच्च अर्थात् केटीहरूको दाजोमा केटा धेरै हुने जिल्ला ९ वटा छन् । जसमा भक्तपुर सबैभन्दा उच्च ११५ सेक्स रेसियो छ भने दोस्रोमा काठमाडौँ ११४, तेस्रोमा कास्की ११३  चौथौमा अर्घाखाची ११३, पाँचौँमा रुपन्देही १०८, छैटौँमा स्याङ्जा, सातौँमा कञ्चनपुर १०६, आठौँमा सुर्खेत १०६, नवौँमा बाग्लुङ १०६ र दसौँमा कैलाली १०५.९६ रहेको छ ।
५—९ उमेर समूहमा ३२ जिल्लामध्ये ६ वटा जिल्ला मात्र सामान्य अवस्थाभन्दा माथि छन् । जसमा भक्तपुर ११३, काठमाडौं ११३, कञ्चनपुर १०८, कास्की १०७, रुपन्देही १०७ र कैलाली १०६ । त्यस्तै १०—१४ उमेर समूहमा सेक्स रेसियो उच्च हुनेमा भक्तपुर ११२, काठमाडौँ १११ र कास्की १०७ मात्र छन् ।
माथि उल्लेख गरिएका जिल्लाहरूको एक दसकअघिको अर्थात् २०५८ को जनगणनामा अहिले जस्तो तथ्याङ्क थिएन । त्यसबेला सबैभन्दा उच्च सेक्स रेसियो भएका जिल्लाहरूमा सबैभन्दा धेरै सिरहा १०७.५१ दोस्रोमा  काठमाडौँ १०७.२२, तेस्रोमा सप्तरी १०६, चौथोमा रुपन्देही १०६, पाँचौँमा बर्दिया १०६, छैटौँमा भक्तपुर, सातौँमा कञ्चनपुर १०४ थियो । यसबाट के देखिन्छ भने २०५८ सालमा काठमाडौँ, भक्तपुर, सिरहा, सप्तरी, रुपन्देही, बर्दियामा मात्र स्वाभाविक भन्दा धेरै केटाहरू थिए ।
गुरुङका अनुसार अहिलेको यस्तो अवस्थाको असर आउँदा दिनमा पर्छ । ‘केही वर्षपछि बुहारी पाउन समस्या आउन सक्छ,’ गुरुङ भन्छन्, ‘सहरी क्षेत्रको असमानतामा ग्रामीण क्षेत्रले पूरा गर्ने केही सम्भावना छ ।’  
जहाँ प्रविधि, त्यहीँ धेरै अन्तर
सेक्स रेसियो उच्च हुनेमा तानसेन नगरपालिका, बुटबल नगरपालिका सबैभन्दा माथि छन् । ४ वर्ष उमेर समूहमा तानसेन १२४ र बुटवल १२० हुनुको अर्थ हुनसक्छ, त्यहाँबाट भारतको गोरखपुरसम्मको सोझो रुट । केही वर्ष अघिसम्म अल्ट्रासाउन्ड गराएर लिङ्ग छुट्याउन पश्चिम नेपालका जिल्लाहरूको गन्तव्य हुन्थ्यो गोरखपुर । अहिले त्यस्तो अवस्था छैन । बुटबल, भैरहवा क्षेत्रका अस्पताल, क्लिनिकहरूमा हुने अल्ट्रासाउन्ड र एबोर्सन–धन्दाको परिणाम तानसेनमा छोरीको संख्या घटेको हुनसक्छ । काठमाडौँ, भक्तपुर, चितवनजस्ता जिल्लाको उच्च रेसियोको अर्थ यी स्थानमा सहजै अल्ट्रासाउन्ड गरेर लिङ्ग छुट्याउन सकिन्छ र बढी पैसा दिएर गर्भ तुहाउन पनि सहज छ ।
जहाँ स्वास्थ्य सेवाको राम्रो पहुँच छ, त्यस क्षेत्रमा बढी सेक्स रेसियो देखिनुमा लिङ्ग छुट्याएर एबोर्सन गर्ने प्रवृत्ति हुनसक्छ । काठमाडौँका कतिपय अस्पतालले विशेष सेवा भन्दै अल्ट्रासाउन्ड गरेको ५–७ हजार रुपैयाँ असुल्छन् । जबकि अल्ट्रासाउन्ड गरेको शुल्क ४ सयदेखि बढीमा एक हजारसम्म मात्र हो । १२ साता नाघेका गर्भको लिङ्ग छुट्याउने र छोरी भए एबोर्सन गरेर फाल्ने काम राजधानीका अस्पतालहरूमा हुने गरेको समाचार बारम्बार आइरहेका छन् ।
‘नागरिक परिवार’ले अध्ययन गरेका ४९ नगरहरूमध्ये चितवनको रत्ननगर छान्दा १४ देखि २० वर्ष अगाडिसम्म ( १०—१४ वर्ष उमेर समूह)का केटाकेटीको रेसियोमा रत्ननगर ४९ नगरहरूमध्ये सबैभन्दा पुछारमा थियो । त्यसबेला १०० जना केटीहरूमा ८८ जना मात्र केटाहरू थिए । ११ देखि १५ वर्षअघि त्यही रत्ननगर ४९ नगरमध्ये पुछारबाट ४० औँ स्थानमा उक्लियो, १०५ सेक्स रेसियोका साथ । ४ वर्ष उमेर समूहको गणनामा भने त्यही रत्ननगर सातौँ स्थानमा आइपुगेको छ, ११७ सेक्स रेसियोका साथ । यसबाट देखिन्छ, रत्ननगर २० वर्ष अघिसम्म केटीहरूको धनी थियो भने ६ वर्षअघि केटाहरूको मालिक बन्न पुगेको छ । २० वर्ष अघिसम्म १०० छोरीहरू जन्माउँदा ८८ छोरी जन्माउने रत्ननगर ६ वर्षअघि १०० जना छोरीमा ११७ जना छोराहरू जन्माउने नगर बन्यो । के यो प्रकृतिको खेल हो वा चितवन चिकित्सा केन्द्र बन्नुको उपहार ? तथ्याङ्क विश्लेषकहरू प्रकृतिमा १०५ प्रतिशतको सेक्स रेसियो सामान्य मानिन्छ भने बाँकी मानिसले आफैँले सिर्जना गरेको समस्या ।
मारवाडी समुदाय
मारवाडी युवा मञ्च काठमाडौँका अध्यक्ष दीपक वंशलका तीन वटा सन्तान छन् । पहिलो छोरी सन् २००१ मा जन्मिइन् । दोस्रो छोरी सन् २००६ मा भने तेस्रो सन्तान छोरा सन् २००७ मा जन्मिए । दीपकका अनुसार उनले पहिलो सन्तानका बेलामा गर्भमा के छ भनेर अल्टासाउन्ड गराएनन्, दोस्रो बच्चाको बेलामा अल्ट्रासाउन्ड गराएपछि छोरी छ भन्ने थाहा पाए तर एबोर्सन गराएनन् । त्यसको एकवर्ष पछि गर्भमा तेस्रो सन्तान आयो, त्यसको पनि अल्ट्रासाउन्ड गराए र छोरा भएको भएको थाहा पाए । पहिलो सन्तान गर्भको लिङ्ग पहिचान नगर्ने, दोस्रो र तेस्रोमा भने पहिचान गरेर मात्र जन्माउने निर्णयमा पुग्ने धेरै छन् ।
नेपालको मारवाडी समुदाय व्यापार, उद्यममा लागेको र सहरमा बसोबास गर्ने भएकाले अल्ट्रासाउन्ड प्रविधिमा उनीहरूको चाँडै पहुँच पुग्यो । छोरीको विवाहमा ठूलो धनराशि चाहिने प्रचलनले थिचिएको यो समुदायले अरु समुदायभन्दा पहिले प्रविधिको प्रयोग गरेर लिङ्ग छुट्याउने र गर्भ तुहाउने गरेका कारण अहिले बुहारी नै फेला नपर्ने चुनौती थपिएको छ । वंशल आफूहरूले ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान थालेको र अहिले भ्रूण हत्या पूरै बन्द नभए पनि नियन्त्रणमा आएको बताउँछन् । धार्मिक–सामाजिक मामिलामा कट्टर मानिने मारवाडी समुदाय अहिले विवाहमा लचिलो बन्दै गएको, अन्तर्जातीय विवाहहरू स्वीकार गर्न थालिएको छ । बुहारीहरू पाउन समस्या पर्न थालेको अवस्था औँल्याउँदै अखिल माहेश्वरी महिला संगठनकी सदस्य अनिता सोनी भन्छिन्, ‘मारवाडी समुदायमा छोराको तुलनामा छोरीको संख्या निकै कम छ । जसले गर्दा परिवार र पुस्ता सञ्चालनमै समस्या देखिएको छ । छोरीको संख्या बढाउन हामीले ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियान नै थालेका छौँ ।’
अभियानको केही सकारात्मक असर देखापर्न थालेको छ । छोराको अनुपातमा छोरीको संख्या कम हुँदा सामाजिक असन्तुलनको स्थिति उत्पन्न छ,’ सोनी भन्छिन्, ‘प्रत्येक एकसय छोराको अनुपातमा ९३ छोरीको अनुमान समाजिक सर्भेक्षणमा आइरहेको छ । यस्तो परिस्थितिबारे विस्तृत अध्ययन गर्दा स्थिति चिन्ताजनक छ ।’
मारवाडी महिला मञ्च, काठमाडौँकी महासचिव अर्चना काबरा ३० वर्षअघि लिङ्ग पहिचान गरेर छोरी भए फाल्ने, छोरा भए राख्ने गर्ने गरेको बताउँछिन् । ‘अहिले पनि हाम्रो यस्तो प्रवृत्ति पूरै समाप्त भैसकेको छैन,’ काबरा भन्छिन्, ‘तर पहिलाजस्तो अवस्था अहिले छैन । अहिलेको पुस्तामा छोराछोरीबीच भेदभाव छैन र उनीहरू भ्रूण हत्याजस्तो पाप गर्न चाहँदैनन् ।’ कतिपय अवस्थामा पहिलाको तुलनामा आजकल उल्टो चलन चल्न थालेको अनुभव उनको छ । काबराले भनिन्। ‘अहिले छोरीको महत्व बढेको छ ।’
उच्च सेक्स रेसियोको प्रभाव
सेक्स रेसियो १०५ भन्दा बढता हुँदा त्यसले सामाजिक असन्तुलन ल्याउने धारणा विज्ञहरुको छ । तथ्याङ्कशास्त्री रुद्र सुवाल नगरपालिकाहरूमा देखिएको सेक्स रेसियोलाई सामान्य अवस्था भन्न नमिल्ने धारणा राख्छन् । ‘यसले सामाजिक विचलनको अवस्था निम्त्याउन सक्छ,’ सुवाल भन्छन्, ‘समाजमा लैंगिक असन्तुलनको अवस्था र विकृतिहरू ल्याउन सक्छ ।’
समाजशास्त्रका प्रा.डा. कृष्ण भट्टचन केटीको कमीका कारण केटाहरू अविवाहित रहन बाध्य हुने, समलिंगी सम्बन्ध बढ्न सक्ने औल्याउँछन् । ‘पुरुषको संख्या बढी भएर अविवाहित रहने स्थितिमा उनीहरुको बालबच्चा नहुने भएकाले स्वतः जनसंख्यामा कमी आउने छ ।’
तथ्याङ्कशास्त्रका प्रा.डा रामशरण पाठक, सेक्स रेसियो उच्च हुँदा त्यसले समाजको सामाजिक, आर्थिक, राजनीतिक र समग्रमा सामाजिक जीवनमा प्रभाव पार्ने बताउँछन् । ‘आउँदा केही वर्षमै सबै पुरुषले विवाह गर्न योग्य कन्या पाउँदैनन्,’ पाठक भन्छन्, ‘अहिले देखिएको रेक्स रेसियो कायम हुने हो भने पुरुषले नेपालबाहिर गएर बिहे गर्नुपर्छ वा अविवाहित बस्नुपर्ने अवस्था आउँछ ।’  
तथ्याङ्कशास्त्रका प्रा.डा योगेन्द्र गुरुङ भन्छन्, ‘अहिल्यै लिङ्ग पहिचान गरेर जन्म दिने वा नदिने प्रवृत्तिमा परिवर्तन आउन सक्यो भने नेपाले धेरै ठूलो सामाजिक समस्या झेल्नुपर्दैन । अहिलेजस्तै एबोर्सन बढ्दै गयो भने महिला पुरुषको संख्याको असमानता बढ्दै जान्छ । त्यसले सामाजिक असन्तुलन ल्याउँछ, त्यससँग जोडिएका विविध समस्या सिर्जना हुन्छ ।’
सेक्स रेसियो
पुरुषको जनसंख्यालाई महिलाको जनसंख्याले भाग गर्ने र त्यसरी आउने अंकलाई १०० ले गुणन गर्दा आउने अंकलाई सेक्स रेसियो भनिन्छ । यसको अर्थ १०० जना महिलाको तुलनामा कति पुरुष भन्ने बुझिन्छ ।
१४ वर्षसम्मको उमेर समूहमा नेपाल, भारत, चीन र विश्वको सेक्स रेसियो
नेपालमा १४ वर्षसम्मका बालबालिका कुल जनसंख्याको करिब ३० प्रतिशत छन् र तीनको सेक्स रेसियो १०७ .२२ छ । २०६८ को जनगणनामा देखिएको १०७ हाराहारीको सेक्स रेसियो त्यस अगाडिको गणनामा भन्दा करिब ३ अंकले बढी हो । २०५८ को जनगणनामा यो उमेर समूहको सेक्स रेसियो १०४ थियो ।
हाम्रो छिमेकी भारतमा यो उमेर समूहको सेक्स रेसियो ११३ छ । चीनमा ११७ छ भने विश्वमा यही उमेरको जनसंख्या रेसियो नेपालकै हाराहारी १०७ रहेको छ । अर्थात्, नेपाल, भारत, चीन र विश्वमै केटाहरूको संख्या बढी छ ।
कुल जनसंख्यामा महिला धेरै
यो रिपोर्ट तयार पार्दासम्म वल्र्ड पपुलेसन क्लकअनुसार नेपालको कुल जनसंख्या २ करोड ८५ लाख १३ हजार ७ सय छ । जसमध्ये पुरुष १ करोड ३८ लाख १६ हजार ४७२ छन् भने महिला १ करोड ४६ लाख ९७  हजार २२८ महिला छन् । यसरी हेर्दा कुल जनसंख्यामा महिलाको संख्या धेरै देखिन्छ । कुल जनसंख्याको सेक्स रेसियो ९४ प्रतिशत छ, जसको अर्थ हुन्छ, १०० जना महिलाको तुलनामा करिब ९४ जना पुरुष छन् । क्लकका अनुसार ०–१४ उमेर समूहका ९३,१३,७४६ जनसंख्यामा ४७,७८,५७९ केटा छन् भने ४५,३५,१६७ केटी छन् । यस आधारमा यो उमेर समूहको सेक्स रेसियो १०५.३६ छ । यसको अर्थ १०० जना केटीमा १०५ भन्दा बढी केटाहरु छन् । २०६८ को जनसांख्यिक तथ्याङ्क विश्लेषण गर्दा १४ वर्ष उमेर समूहसम्म पुरुषहरूको संख्या धेरै छ भने त्योभन्दा माथिल्लो उमेर समूहमा महिलाको संख्या धेरै देखिएको छ ।
कसरी गरियो अध्ययन
‘नागरिक परिवार’ले केन्द्रीय तथ्याङ्क विभागले आफ्नो वेब साइटमा राखेको सेक्टरल स्टाटस्टिक्सबाट जिल्ला, नगरहरूको तथ्याङ्क लिएको हो । मुलुकभरका हिमाल, पहाड र तराई–मधेस सबै क्षेत्र समेटिने गरी ३२ जिल्ला र जिल्लाअन्तर्गतका ४९ वटा नगरहरू छन् । प्राप्त तथ्याङ्कलाई प्रशोधन गरेर सेक्स रेसियो निकालेपछि त्यस्तो तथ्याङ्क त्रिभुवन विश्वविद्यालय, समाजशास्त्रका प्रा.डा. कृष्ण भट्टचन, जनसंख्या विभागका प्रमुख प्रा.डा. रामशरण पाठक तथा प्रा.डा. योगेन्द्र गुरुङ तथा तथ्याङ्क विभागका अवकासप्राप्त उपमहानिर्देशक तथा जनसंख्याविद् डा. रुद्र सुवाललाई उपलब्ध गराएर उनीहरूको धारणा र विश्लेषण लिएको हो ।रामशरण पाठक,
प्रा.डा. त्रिभुवन विश्वविद्यायलय
केन्द्रीय जनसंख्या अध्ययन विभाग, कीर्तिपुर
१. सेक्स रेसियो उच्च हुनुका कारण
सानो परिवारको चाहना, एउटै मात्र सन्तान पाउने प्रवृत्ति
समाजमा छोरा चाहिन्छ भन्ने बलियो मान्यता
भ्रूणमा के छ भन्ने पत्ता लगाउने अल्ट्रासाउन्ड
सेक्स रेसियो उच्च हुँदाका अन्य प्रभावबारे गहन अध्ययन आवश्यक छ ।
२. उच्च सेक्स रेसियोको प्रभाव
महिलाको अभाव सुरु हुन्छ
पटक¬पटक भ्रूण हत्या तथा गर्भ पतन गराउँदा महिलाको स्वास्थ्यमा कुप्रभाव पर्छ
सामाजिक संरचनामा असर
समाजको सामाजिक, आर्थिक, राजनीतिक र समग्रमा सामाजिक जीवनमा प्रभाव
आउँदा केही वर्षमै सबै पुरुषले विवाह गर्न योग्य कन्या पाउँदैनन्, समाजमा धेरै केटाहरू हुनेछन्
अहिले देखिएको सेक्स रेसियो कायम हुने हो भने पुरुषले नेपालबाहिर गएर विवाह गर्नुपर्छ वा अविवाहित बस्नुपर्ने अवस्था आउन सक्छ ।
एकातिर महिलाहरूको संख्या कम हुनुको लाभ महिलाले उठाउन सक्छन्, उनीहरूको अवस्थामा सुधार हुनसक्छ र भएका कुरीतिलाई सच्याउने अवस्थामा पुग्छन् ।
यसको अर्को पाटो छ, महिलाको महŒव बढ्नुको अर्थ उनीहरू फाइदामा हुन्छन् भन्ने पनि होइन । उनीहरुको महŒव बढ्नेबित्तिकै बाबु, दाइभाइ, पतिले उनीहरूमाथि अझ बढी नियन्त्रण बढाउन सक्छन् । फलस्वरुप उनीहरुको अपहरण हुने, वेचविखन बढ्ने सम्भावना हुन्छ ।

३. अल्पकालीन नीति
प्रचार–प्रसार
वकालत
समुदाय परिचालन
४. दीर्घकालीन नीति
महिला सशक्तीकरण कार्यक्रम
५. केही चुनौती र पाठ
नेपालमा केही निश्चित अवस्थामा एबोर्सन गर्न सकिन्छ तर लिंग पहिचान गरेर गर्भपतन गर्न पाइँदैन । गर्भपतन र लिंग पहिचान गर्ने गर्भपतन एकआपसमा छुट्याउन नसकिने चुनौतीपूर्ण काम बनेको छ । अहिलेसम्मका अनुभवले हामीहरू छोरीलाई माया गरौँ र छोरी हुँदा उत्साहित बनौँ भन्ने प्रेरणा दिएको छ ।

डा. रुद्र सुवाल
जनसंख्याविद्,
पूर्व उपमहानिर्देशक, केन्द्रीय तथ्याङ्क विभाग

ठूलो जनसंख्यामा सेक्स रेसियो ५ प्रतिशत बढी वा घटी हुनुलाई सामान्य मानिन्छ । जनसंख्याको सिद्धान्तअनुसार ५ प्रतिशतको कमबेसी अर्थात् १०० जना महिलामा ९५ जना वा १०५ जना पुरुषको संख्या सामान्य हो । नेपाल र विश्वका धेरै देशहरूमा १०० जना महिलाको तुलनामा पुरुषको संख्या तुलना हुन्छ । भारतमा भने पुरुषको १०० जनसंख्यालाई आधार मानेर महिलाको तुलना गर्ने गरिन्छ । संसारभरकै जनसंख्यामा अहिले पुरुषहरू बढी छन् । हाम्रो समाजमा जसरी नगरपालिका र जिल्लाहरूमा सेक्स रेसियोमा पुरुषको संख्या बढी देखिएको छ, यसलाई सामान्य अवस्था भन्न मिल्दैन, यो असामान्य अवस्था हो । यसले सामाजिक विचलनको अवस्था निम्त्याउन सक्छ । समाजमा लैंगिक असन्तुलनको अवस्था ल्याउन सक्छ । विकृति ल्याउन सक्छ । यसले आर्थिक–सामाजिक जीवनमा प्रभाव पार्न सक्छ । हाम्रा छिमेक भारत र चीन दुवैतिर सेक्स रेसियो उच्च छ ।

प्राध्यापक डा. योगेन्द्र गुरूङ
जनसंख्या अध्ययन केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
सेक्स रेसियो उच्च हुनु भनेको केटाहरूको संख्या धेरै हुनु हो । सेक्स रेसियो १०५ अर्थात् १०० जना महिलामा १०५ जना पुरुषको संख्यालाई सामान्य मानिन्छ । प्रकृतिमा केटीहरू भन्दा केटाहरू धेरै जन्मने तर उनीहरूमा केटीहरूको जस्तो प्रतिरोध गर्ने क्षमता नरहने भएकाले धेरै मर्ने पनि हुन्छ । प्रकृतिको यही कारणले पछि गएर केटा र केटीको संख्या बराबर हुन्छ । समाज त्यसरी नै चलेको हुन्छ तर कतिपय अवस्थामा १०५ प्रतिशत रेसियोलाई सामान्य मानेर त्यसको तलमाथि ५ प्रतिशतलाई पनि स्वाभाविक मान्नुपर्ने हुन्छ । हाम्रा कतिपय नगरपालिकामा १२०÷१३० प्रतिशतसम्म देखिन्छ । यस्तो अवस्था भने राम्रो होइन । यसले समाजमा असन्तुलन ल्याउने हुन्छ ।
सरकारले भ्रूण हत्या गर्न पाउने नियम ल्याएपछि यस्तो अवस्था आएको हुनसक्छ । जताततै भिडियो एक्सरे गरेर लिङ्ग पहिचान गर्न सक्ने र पहिचानपछि छोरी भए फाल्ने अनि छोरा भए राख्ने प्रचलनकै कारण यस्तो भिन्नता देखिएको हुनसक्छ । जताततै लिंग पहिचान गर्नसक्ने प्रविधि र भ्रूण फाल्न सक्ने क्लिनिक जताततै भएपछि आम मानिसको पहुँचमा पुग्यो । किन जनसंख्या धेरै भिन्नता भएको हो ? गहन र विस्तृत अध्ययन आवश्यक देखिएको छ । मेरो विचारमा भ्रूण हत्यासम्बन्धी कानुन र त्यस्ता क्लिनिक खुलेपछि लिंग पहिचान गरेर मात्र जन्माउने प्रचलन बढेको हो । एबोर्सन कानुन आउनुअघि यस्तो अवस्था थिएन । अहिले आम जनताको पहुँचमा त्यस्तो सेवा पुगेपछि र त्यसको दुरुपयोगपछि यस्तो अवस्था आएको हो ।
अहिलेको यस्तो अवस्थाको असर आउँदा दिनमा पर्छ । केही वर्षपछि बुहारी पाउन समस्या हुनसक्छ । सहरी क्षेत्रको असमानतामा ग्रामीण क्षेत्रले पूरा गर्ने सम्भावना छ । अहिल्यै लिंग पहिचान गरेर जन्म दिने वा नदिने प्रवृत्तिमा परिवर्तन आउन सक्यो भने नेपाले धेरै ठूलो सामाजिक समस्या झेल्नुपर्दैन तर अहिलेजस्तै एबोर्सन बढ्दै गयो भने महिला पुरुषको संख्याको असमानता बढ्दै जान्छ ।
अर्चना काबरा,
महासचिव, मारवाडी महिला मञ्च, काठमाडौं
२०/३० वर्षअघि त्यत्ति धेरै जानकारी र बुद्धि पनि थिएन । त्यसबेलाका कतिपय महिलाले लिंग पहिचान गरेर छोरी भए फाल्ने, छोरा भए राख्ने गर्थे । अहिले पनि यस्तो प्रवृत्ति पूरै समाप्त भइसकेको छैन । हाम्रो समुदायमा पहिला जस्तो अवस्था अहिले छैन । अहिलेको पुस्तामा छोराछोरीबीच भेदभाव छैन र उनीहरू भ्रूण हत्याजस्तो पाप गर्न चाहँदैनन् ।
पहिला केटीको बाबु आएर आफ्नी छोरीको विवाह छिनोफानो गर्ने चलन थियो । अहिले त्यस्तो चलनमा व्यापक परिवर्तन आएको छ । हिजोजस्तो छोरीहरूको विवाह गर्न अब समस्या छैन । कतिपय अवस्थामा पहिलाको तुलनामा उल्टो चलन चल्न थालेको हामी पाउँछौँ । अहिले छोरीको महत्व बढेको छ ।
भ्रूण हत्याको विकराल समस्यालाई लिएर मारवाडी समाजमा विभिन्न संस्थाले डुकुमेन्टी देखाउने अभियान नै चलाइएको थियो । हामीले करिब १५ वर्ष अघिदेखि त्यस्तो अभियान सञ्चालन गरेका हौँ । काठमाडौँका अग्रवाल भवन, माहेश्वरी भवन, जैन भवनमा भ्रूण हत्या पाप हो भन्ने कार्यक्रम, डकुमेन्ट्री प्रदर्शनजस्ता अभियान चलाउँदै आयौँ । अहिलेको अवस्थामा आइपुग्दा यस्तो समस्या छैन ।
विगतमा भ्रूण हत्या भएकै कारण अहिले मारवाडी समाजमा बुहारी पाउन समस्या छ भन्ने कुराहरू छन् । त्यस्तो अवस्था आएको छैन । कारण अहिले विकल्पहरू छन् । पहिला अन्तर्जातीय विवाह हुँदैनथ्यो र केटाकेटीले आफ्नै रोजाइमा विवाह गर्ने चलन पनि चलेको थिएन । अहिले मारवाडी समुदायभित्रकै विभिन्न जातबीच बिहेबारी चल्न थालेको छ, हिजोका दिनमा त्यस्तो हुन्नथ्यो । त्यसबाहेक पहाडी समुदाय र मारवाडी लगायत अन्य समुदायबीच पनि विवाह हुन थालेको छ । अहिले त्यस्तो विवाहलाई लिएर परिवारका अग्रजले विरोध गर्दैनन् । अहिलेसम्म समस्याको रुपमा आएको छैन । शिक्षा र स्वतन्त्रता पनि ल्याएको छ । अहिले त जातभातका कुरा पनि हराउँदै गएकाले समस्या देखिएको छैन । अहिलेका छोरीहरू आफैँ आफ्नालागि केटा खोज्ने अवस्था छ ।

दीपक वंशल
मारवाडी युवा मञ्च, काठमाडौँ
मारवाडी समुदायमा अहिले अन्तर्जातीय विवाह चलेको छ । मारवाडी समुदायभित्र अग्रवाल, जैन, माहेश्वरी, व्राह्मण र अन्य गरी पाँच जात छन् । २०÷३० वर्ष अघिसम्म एउटा जात र अर्को जातबीच सामन्यतः विवाह हुँदैनथ्यो । अहिले त्यस्तो अवस्था छैन । अन्तर्जातीय विवाह बढेको छ र सामान्य रुपमा गैरमारवाडी समुदाय बीचको विवाह हुन थालेका छन् ।  
प्रेमविवाह गर्ने चलन बढेको छ । खास गरेर अहिले पहिलो सन्तान छोरा भए अर्को नपाउने, कतिपयले जे भए पनि एउटाबाहेक सन्तान नपाउने चलनले जनसंख्यामा फरक ल्याएको हुनसक्छ । पहिलो सन्तान छोरी छ भने अर्को सन्तान सकेसम्म छोरा पाउने चलन पनि देखिन्छ । अहिले पनि अशिक्षित समाजमा छोरी भए भ्रूण हत्या गर्ने गरिन्छ । यो समस्या नियन्त्रण आए पनि पूरै हटिसकेको छैन । हामीले वर्षौदेखि ‘बेटी बचाओ, बेटी पढाओ’ अभियान चलाउँदै आएका छौँ ।
अनिल शाह
सिइओ, मेगा बैंक     
मलाई लाग्छ, बाबु र छोरीबीच मिठो सम्बन्ध रहन्छ । मलाई छोरी चाहिएको थियो, छोरी नै जन्मिएपछि म खुसी छु । छोरी पाइसकेपछि छोरा पाउन अल्ट्रासाउन्ड गरेको र छोरीहरू फालेको सुन्छु, मलाई दुःख लाग्छ । मेरा डाक्टर साथीहरू छन् । उनीहरूका अनुसार डाक्टरकोमा बूढाबूढीलाई लिएर आउनेमा धेरैजसो छोरीहरू हुन्छन्, त्यसपछि बुहारी र  थोरै मात्र छोराहरू हुन्छन् । यसबाट के देखियो भने बूढा बाबुआमालाई केयर गर्नेमा छोराहरूभन्दा छोरी र बुहारीहरू हुँदा रहेछन् । यसको अर्थ छोरा नहोस् भन्ने होइन, छोराछोरी दुवै राम्रो कुरा हो । कुरा यतिमात्र हो कि प्रविधिको प्रयोग गरेर छोरा भए राख्ने, छोरी भए फाल्ने कुरा राम्रो होइन ।
अहिले छोराछोरीको जनसंख्यामा धेरै भिन्नता आयो र छोरीहरूभन्दा छोराहरू धेरै छन् भनिन्छ । त्यसो हो भने हामीसँग सीताहरू धेरै छन् भन्ने अर्थमा लिऔँ । जनकपुरमा सीतालाई वरण गर्न राम मात्र आएका थिएनन्, अरु धेरै राजकुमारहरू पनि आएका थिए । हामी त्यही अवस्थातिर जाँदैछौँ चाँडै नै । छोरी भए फाल्ने समस्या सहरी, शिक्षित र ग्रामीण क्षेत्रमा पनि छ ।
मलाई के लाग्छ भने हामीभन्दा भगवान धेरै जान्ने छन् । उनै भगवानले जुन कोखमा जन्माए त्यही कोखमा त्यही धर्ममा सन्तुष्ट हुनसक्नु पर्छ । मलाई भगवानले हिन्दू कोखमा जन्माए, म त्यही धर्ममा रहन्छु र त्यसैमा मर्छु । मलाई छोराछोरी के दिने त्यो भगवानको हातको कुरा हो । भगवानले दिएको कुरामा यो होइन, त्यो होइन भनेर प्रविधि लगाएर अस्वीकार गर्नु राम्रो होइन । त्यसो गर्नुहुँदैन । म, मेरी श्रीमती र छोरी सबै मानसिक, शारीरिक हिसाबले स्वस्थ छौँ, हामी आ–आफ्नो काममा सक्षम छौँ, मुख्य कुरा त्यो हो । भ्रूणको छोरी हत्या गरेर पाएको छोरा अपाङ्ग जन्मियो भने ? त्यो छोराले १६/१७ वर्षको भएपछि बाबुमाथि हात हाल्ने भयो भने ? छोराछोरी भनेका भगवानले दिने हो, प्रविधि लगाएर यो आउट र यो इन भन्न मिल्दैन । त्यसो गर्नु राम्रो काम हुँदै होइन ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १९ भाद्र २०७४ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App