coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उम्मेदवार टुंगो लगाउन दल सक्रिय

काठमाडौं- स्थानीय तह तेस्रो चरणको निर्वाचन आउन दुई साता बाँकी रहँदा प्रमुख दलहरू उम्मेदवार टुंगो लगाउन सक्रिय भएका छन् । उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गए पनि कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपालसहितका दलले अझै सबै स्थानमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

असोज २ मा १ सय ३६ स्थानीय तहमा हुने निर्वाचनमा कांग्रेसले निरन्तर छलफलपछि १ सय १४ तहमा उम्मेदवार टुंगो लगाए पनि २२ तहको टुंगो लाग्न बाँकी छ । उम्मेदवारी टुंगो लगाएका स्थानमा नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाउँदै पार्टी सभापतिलाई सोमबार निर्णय सच्याउन ध्यानाकर्षण गराउने भएको छ ।

त्यस्तै, एमालेले पनि अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन । उसले धनुषा, रौतहटबाहेक अन्य जिल्लाको उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको दाबी गरेको छ । आन्तरिक विवादका कारण धनुषामा उम्मेदवारी छनोट अघि बढ्न नसकेपछि अध्यक्ष केपी शर्मा ओलीले नै हस्तक्षेप गर्ने स्रोतको दाबी छ ।

माओवादी केन्द्र धनुषा, पर्सा, बारा र रौतहटमा आन्तरिक विवादका कारण टुंगोमा पुग्न सकेको छैन भने महोत्तरी र सर्लाहीमा केही तहमा टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रदेश नम्बर दुईको चुनावी अभियानमा सक्रिय छन् । विवादित तहमा दाहाल आफैं बसेर टुंगो लगाउने भएका छन् । तराईमधेसमा आफ्नो पक्षमा जनलहर देखिएको दाबी गर्दै आएको माओवादीले केही नवप्रवेशीलाई उम्मेदवार बनाउने रणनीति पनि लिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । अध्यक्ष मण्डलको बैठक पार्टी केन्द्रीय कार्यालयमा निरन्तर बसेपछि उसले नाम भने टुंगो लगाउन सकेका छैन । उम्मेदवारका आकांक्षीहरु सबै काठमाडौं आएका छन् ।

प्रकाशित: १९ भाद्र २०७४ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App