coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

टिकट माग्दै मधेसी नेता काठमाडौंमा

काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरू भोट माग्न मधेस गएका बेला राष्ट्रिय जनता पार्टी नेपालका स्थानीय कार्यकर्ता भने स्थानीय तहको निर्वाचनमा टिकटका लागि लबिङ गर्न  काठमाडौं आएका छन् । दुई नम्बर प्रदेशमा उम्मेदवारको टुंगो लगाउन गठित उच्चस्तरीय समितिका सदस्यहरू उम्मेदवार चयन नगरी काठमाडौं फर्केका छन् ।

वीरगन्ज महानगरपालिका, मलंगवा नगरपालिका, जनकपुर उपमहानगरपालिका, राजविराज नगरपालिकामा उम्मेदवारको टुंगो लगाउन राजपा नेतृत्वलाई सकस परेको छ ।

आइतबार दिउँसो राजपा कार्यालय बबरमहलमा अध्यक्ष मण्डलको बैठक भइरहेका बेला राजपाका कार्यकर्ताको बाक्लो उपस्थिति थियो । केही आकांक्षीले टिकटका लागि दबाब दिन समूह बनाउँदै अध्यक्ष मण्डलका सदस्यहरूलाई भेटेका थिए  । बारा, पर्सा, सर्लाही, महोत्तरी र रौतहटबाट आएको छुट्टाछुट्टै टोलीले अध्यक्ष मण्डलका सदस्यहरूलाई भेटेका थिए ।

उम्मेदवारको टुंगो लगाउन अध्यक्ष मण्डलका सदस्यहरू आइतबार दिनभर व्यस्त भए । अध्यक्ष मण्डलको बैठक सोमबार पनि बस्ने भएको छ ।

वीरगन्ज महानगरपालिका, मलंगवा नगरपालिका, जनकपुर उपमहानगरपालिका, राजविराज नगरपालिकामा उम्मेदवारको टुंगो लगाउन राजपा नेतृत्वलाई सकस परेको छ ।

आकांक्षीहरूको टुंगो अध्यक्ष मण्डलका सदस्यहरूले लगाउनुपर्नेछ । जिल्ल्लाबाटै उमेदवारको टुंगो लगाउने पार्टीको निर्णय पनि  असफल  भएको छ । ‘अब उम्मेदवारको टुंगो काठमाडांैबाटै लाग्छ । जिल्लाका साथीहरू पनि काठमाडौं आउनुभएको छ’, राजपाका प्रवक्ता सन्तोष मेहताले भने, ‘केहीकेही ठाउँमा आकांक्षीहरू धेरै भएपछि उम्मेदवारको टुंगो लगाउन ढिलो भएको हो ।’

जनकपुर उपमहानगरपालिकाको मेयरका आकांक्षी नेता शिवशंकर साह (हीरा) ले आफूले  मेयरको टिकट लिएरै जिल्ला फर्कने बताए । साहले भने, ‘मैले टिकट पाएँ भने जित्ने निश्चित छ । त्यसैले टिकट पाउनेमा म विश्वस्त छु ।’ सोही पदमा अर्का आकांक्षी  जनकपुरका लालकिशोर साह पनि काठमाडौं आएका छन् । साह राजेन्द्र महतो र हीरा शरत्सिंह भण्डारी निकट मानिन्छन् ।

यसैगरी मलंगवा नगरपालिकाको मेयरमा अख्खर हुसेन, नागेश्वर साह, दिने राय लगायत १० जना आकांक्षी छन् । उनीहरू काठमाडौं आएका छन् ।

राजविराज नगरपालिकाको मेयरमा शम्भु यादव, लक्ष्मण यादवलगायत आकांक्षी छन् । राजविराज नगरपालिकामा राजपाका महासचिव मनीष सुमनले पनि दाबी गरेका छन् ।

वीरगन्ज महानगरपालिकाको मेयर उम्मेदवार बन्न राजेशमान सिंह र विमल श्रीवास्तले दाबी गरेका छन् । श्रीवास्तलाई महन्थ ठाकुरले समर्थन गरका छन् भने सिंहलाई भण्डारीले साथ दिएका छन् । स्रोतका अनुसार अध्यक्ष मण्डलको बैठकमा भण्डारीले वीरगन्ज र जनकपुरमा कुनै अवस्थामा आफ्नो मान्छेले टिकट पाउनुपर्ने अडान राखेका छन् । ‘मैले टिकट पाउनेमा ढुक्क छु’, वीरगन्जमा मेयरका आकांक्षी सिंहले भने ।  श्रीवास्तवले आफूले टिकट नपाएमा बागी उम्मेदवार उठ्ने चेतावनी दिएको राजपा स्रोतको भनाइ छ ।

सप्तरीको छिन्नमता गाउँपालिकामा  सत्यनारायण यादव र रामनारायण यादव आकांक्षी छन् । उनीहरू दाजुभाइ हुन् । टिकटका लागि उनीहरुले पनि लबिङ गरिरहेका छन् ।

कांग्रेस र राजपाबीच तालमेल

महोत्तरीको बर्दिबास नगरपालिकामा कांग्रेस र राजपाबीच चुनावी तालेमल भएको छ । बर्दिबास नगरपालिकाम मेयरमा कांग्रेसबाट प्रह्लाद क्षेत्री र उपमेयरमा राजपाले पाउने गरी तालेमल भएको राजपाका महासचिव केशव झाले बताए । राजपाले सप्तरीको रूपनी गाउँपालिकामा संघीय फोरमसँग तालेमल गरेको छ । यसैगरी बाराको जितपुर उपमहानगरपालिकामा पनि राजपाले अन्य पार्टीसँग तालमेल गर्न सक्ने झाले बताए ।

प्रकाशित: १९ भाद्र २०७४ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App