८ वैशाख २०८१ शनिबार
राजनीति

‘एमालेविरुद्धको आक्रोश रोक्न विशेष संयन्त्र’

जनकपुर- चुनावी प्रचारप्रसारमा खटिने एमालेका शीर्ष नेताहरुविरुद्ध मधेसमा आक्रोश देखिएपछि त्यसलाई निस्तेज पार्न सुरक्षानिकायले विशेष संयन्त्र निर्माण गर्न लागेको गृहमन्त्री जनार्दन शर्माले बताएका छन् ।

२ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न आइतबार जनकपुर आएका शर्माले चुनावमा मतदान गर्ने र मत माग्न पाउने अधिकार हरेक नागरिकलाई समान रहेको बताउँदै कसैलाई कुनै बहानामा अवरोध नगर्न अपिल पनि गरे । ‘निर्वाचनमा मतदान गर्ने र मत माग्ने अधिकार हरेक नागरिकलाई समान छ’, गोष्ठी सम्पन्न गरी राजधानी फर्किने क्रममा जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, ‘कुनै पार्टीले अर्को पार्टीलाई राजनीतिक विरोध गर्न छुट छ तर भौतिक रुपमा अवरोध गर्ने अधिकार कसैलाई छैन ।’ उनले थपे, ‘एमाले मात्रै होइन, कुनै पनि पार्टी वा नेतालाई लक्षित गरी भौतिक आक्रमण वा चुनावी प्रक्रियामा अवरोध पुग्न नदिन सुरक्षा निकायले विशेष संयन्त्र निर्माण गरी त्यस्ता गतिविधि निस्तेज पार्नेछ ।’

गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा जनकपुरमा आयोजित सुरक्षा गोष्ठीमा आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय चुनावका साथै मंसिर १० र २१ गते हुने संघीय तथा प्रदेश निर्वाचनको सुरक्षा तयारीबारे छलफल भएको मन्त्री शर्माले जनाए । उनले भयरहित वातावरणमा सफलतापूर्वक सबै निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गरे ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, सिके राउत र जयकृष्ण गोइतलगायत समूहले चुनावमा अवरोध पु¥याउने प्रयास गरे पनि चुनावप्रति जनताको आतुरताले त्यसलाई मत्थर पार्ने शर्माले बताए ।

गोष्ठीमा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, निर्वाचन आयुक्त, इला शर्मा, पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, नेपाल प्रहरी प्रमुख प्रकाशअर्याल, सशस्त्र प्रहरी बल प्रमुख सिंहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलीपकुमार रेग्मी, नेपाली सेना व्यवस्था तथा युद्ध कार्य महानिर्देशनालयका निर्देशक उपरथी देवकुमार सुवेदी र आठ जिल्लाका सुरक्षाप्रमुख सहभागी थिए ।

प्रकाशित: १९ भाद्र २०७४ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App