४ वैशाख २०८१ मंगलबार
खेल

नाडाल र फेडेररबीच भेटको सम्भावना

न्युयोर्क- युएस ओपनमा पहिलो पटक राफेल नाडालविरुद्ध हुन सक्ने खेलबाट आउन सक्ने दर्शकको प्रतिक्रियाबारे रोजर फेडरर उत्सुक बनेका छन् । तर, यसै महिनाको अन्तिममा हुने युरोपविरुद्ध विश्व टोलीबीच हुने युगल विधामा पुरुष टेनिसको अग्रपंक्तिका दुई खेलाडी सँगै खेल्ने सम्भावना छ ।

‘यत्तिका वर्षपछि केही फरक हुनु राम्रो हो,’ फेडेररले भने, ‘यदि मैले उनलाई र उनले मलाई सहयोग गर्न सक्यौं भने अझ राम्रो हुनेछ ।’

करियरमा २०औं ग्रान्ड स्लाम उपाधि जित्ने लक्ष्यमा रहेका फेडेररले शनिबार स्पेनका ३१औं वरीयताप्राप्त फेलिसियानो लोपेजलाई ६–३,६–३, ७–५ को सेटमा हराउँदै युएस ओपन टेनिसको चौथो चरणमा स्थान पक्का गरेका छन् । फेडेररले अब क्वाइर्टरफाइनलका लागि जर्मनीका फिलिप कोल्सच्रेइबरविरुद्ध खेल्नेछन् ।

विश्व नम्बर एक नाडालले अर्जेन्टिनाका लियोनार्दो मेयरलाई ६–७(३÷७), ६–३, ६–१, ६–४ को सेटमा हराउँदै चौथो चरणका स्थान बनाएका हुन् ।  नाडालले अब युक्रेनका अलेक्जेन्डर डोग्लोपोलोभविरुद्ध खेल्नेछन् ।

नवौं वरीयताका डेभिड गोफिनले फ्रान्सका गेल मोनफिल्सलाई हराए । ७–५, ५–१ को स्थितिमा मोनफिल्स घाइते भएपछि गोफिन विजयी घोषित भएका थिए । अर्जेन्टिनाका जुवान मार्टिन डेल पोर्टोले रोबर्टो बाउटिस्टालाई ३–० को सेटमा हराउँदा डोमिनिक थिएमले एड्रिन मानारिनोलाई समान ३–० कै सेटमा पराजित गरे ।

तेस्रो वरीयताप्राप्त स्विजरल्यान्डका ३६ वर्षे फेडेरर न्युयोर्कमा कीर्तिमानी छेटौं उपाधि जित्ने अभियानमा छन् । फेडेरर र नाडालले खेल जित्दै गए दुईले अर्थर एश रंगशालामा हुने सेमिफाइनलमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । ‘हार्ड कोर्ट’ मा हुने युएस ओपन प्रतियोगितामा फेडेरर र नाडालले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छैनन् ।

‘लामो समयदेखि नाडाल र म एक अर्काविरुद्ध खेल्ने प्रयास गरिरहेका थियौं । तर त्यस्तो भएन,’ फेडेररले भने, ‘यो हप्ता हाम्रो भेट हुन सक्छ । त्यसका लागि मैले कुनै दबाब महसुस गरेको छैन । आजको जितबाट म खुसी छु र नाडालको जितले पनि मलाई खुसी बनाएको छ । हेर्दै जाऊँ के हुन्छ । तर व्यक्तिगत रूपमा एकदम उत्सुक छु ।’

विम्बल्डन र अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेको समय फेडेररले अर्को ग्रान्ड स्लाम टेनिसको उपाधि जित्न सकेका छैनन् । त्यसैले यो प्रतियोतिगामा फेडेररको खेललाई चासोपूर्वक हेरिएको छ ।

फ्रेन्च ओपनको कीर्तिमानी १० उपाधिसहित नाडालले पनि ३१ वर्षको उमेरमा १५ ग्रान्ड स्लामको उपाधि जितिसकेका छन् । तर, प्रागुएमा हुने लेभर कपमा लामो समय प्रतिस्पर्धीका रूपमा रहेका फेडेरर र नाडाल एउटै टोलीबाट खेल्नेछन् । तीन दिने ‘टिम इभेन्ट’ प्रतियोगिता फेडेरर र नालाड बिजोर्न बोर्गको निगरानीमा (अन्डरमा) हुनेछन् । त्यसबाहेक जोन म्याक इनरोइको विश्व टोलीविरुद्ध अस्ट्रियाका डोमिनिक थिएम, चेक गणतन्त्रका थोमस बार्डेच, जर्मनीका अलेक्जेन्डर जेरेभ र क्रोएसियाका मारिन सिलिच पनि युरोपको टोलीमा हुनेछन् ।

‘नाडालले थुप्रैले उपािध जितिसकेका छन् । यस भ्रमणमा उनी मेरा राम्रा साथी हुनेछन् । जीवनको ठूला प्रतिद्वन्द्वी नाडालसँग समय बिताउन र उनलाई सहयोग गर्न पाउँदा मलाई राम्रो लागेको छ ।’

१९६७ पछिको समयमा युएस ओपन जित्ने सबैभन्दा पाका खेलाडी बनेको फेडेररले स्विडेनका महान हस्ती ६१ वर्षे बोर्गसँग बिताउने समय पनि महत्वपुर्ण हुने बताए । ११ ग्रान्ड स्लामको उपाधि जितेका बोर्गले युरोपियन टोलीको कप्तानी गर्नेछन् ।

‘बोर्गसँग मुस्किलले समय बिताउन पाइन्छ,’ फेडेररले भने, ‘भ्रमणमा उनी धेरै समय हामीमाझ हुँदैनन् । त्यसैले उनीसँग धेरै समय बिताउने प्रयास गर्नेछु । उनीसँग खेल्नु मेरा लागि विशेष हुनेछ ।’

प्रकाशित: १९ भाद्र २०७४ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App