७ वैशाख २०८१ शुक्रबार
खेल

इटालीमाथि स्पेन हाबी

मड्रिड- इस्को र अल्भेरो मोराटाको गोलमा स्पेनले शनिबार सान्टियागो बेर्नाबेउमा इटालीमाथि ३–० को नतिजा निकाल्दै अर्को वर्ष रसियामा हुने विश्वकप छनोटनजिक रहेको छ ।

घरेलु टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका इस्कोले १३औं मिनेटमा फ्रिकिकमा गरेको गोलबाट स्पेनले अग्रता लिएको थियो । पहिलो हाफ सकिन ५ मिनेट बाँकी रहँदा इस्को अग्रता दोब्बर पारेका थिए । ७७ मिनेटमा चेल्सीका फरवार्ड मोराटाले अर्को गोल थपेपछि स्पेनले तीन अंक पक्का गरेको हो ।

‘टोलीका अन्य सदस्यभन्दा इस्कोको प्रदर्शन रबाफिलो रह्यो,’ स्पेनका प्रशिक्षक जुलेन लोपेटेगुईले भने, ‘उनले गरेको २ गोलबाट हामी खेलमा हाबी भयौं ।’

२००६ पछि विश्वकप छनोट प्रतियोगितामा इटालीले पहिलो हार बेहोर्दा स्पेन समूह ‘जी’ को शीर्ष स्थानमा रहन सफल भएको छ । समूहमा तीन खेल बाँकी रहँदा स्पेनले दोस्रो स्थानको इटालीमाथि ३ र तेस्रो स्थानको अल्बानियामाथि ६ अंकको अग्रता लिएको छ । अन्य टोलीभन्दा स्पेनको गोलअन्तर धेरै छ । स्पेनले बाँकी खेल जित्दै विश्वकपमा स्थान पक्का गरे इटालीले रसियाको टिकट पक्का गर्न नोभेम्बरमा दुई प्लेअफ खेल्नुपर्नेछ ।

‘आजको खेल हेर्दा दुई टोलीबीचको खेलस्तरका साथै शारीरिक रूपमा पनि धेरै भिन्नता देखियो,’ इटालीका प्रशिक्षक जियामपिएरो भन्टुराले भने, ‘विश्वकपमा स्थान बनाउन हामीले कडा मिहिनेत गर्नुपर्छ ।’

स्पेनका प्रशिक्षक लोपेटेगुइको पहिलो रोजाइमा कुनै पनि फरवार्ड परेका थिएनन् । तथापि ६ मिडफिल्डर खेलाएका लोपेटेगुइले रियाल मड्रिडका मार्को असेन्सियोलाई पहिलो प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय खेलमा मौका दिएका थिए । रियाल मड्रिडबाट डेब्यु खेलमा गोल गरेका असेन्सियोले स्पेनबाट पनि प्रभावशाली प्रदर्शन गरेका थिए ।

२००८ र २०१२ को बीचमा स्पेनले उत्कृष्ट फुटबल खेल्दै लगातार तीन ठूला प्रतियोगिताको उपाधि थियो । लोपेटेगुईले स्पेनबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गरेका डेभिड भियालाई मैदान छिराएका थिए । मेजर सकर लिग क्लब न्युयोर्क सिटीका फरवार्ड भियाले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।

समूह ‘जी’ कै अर्को खेलमा म्यासेडोनियाले इजरायललाई १–० ले हराउँदा समूह ‘डी’ मा वेल्सले अस्ट्रियाविरुद्ध समान १–० कै नतिजा निकाल्यो । म्यासेडोनियाका लागि गोरान पानडेभले ७३औं मिनेटमा गोल गरेका थिए । वेल्सको जितमा बेन्जामिन उडबर्नले ७४औं मिनेटमा गोल गरेका थिए । आन्द्रिया यार्मोलेन्को २ गोलप्रेरित युक्रेनले टर्कीमाथि २–० को विजय हासिल ग¥यो । डोमागोज भिडाले खेल सकिन १६ मिनेट बाँकी छँदा गरेको गोलमा क्रोएसियाले कोसोभोलाई १–० ले हरायो । जितसँगै ७ खेलबाट १६ अंक बटुलेको क्रोएसिया समूह ‘आई’ को शीर्ष स्थानमा छ । समान खेलबाट १४ अंक बटुलेको युक्रेन दोस्रो स्थानमा छ ।

प्रकाशित: १९ भाद्र २०७४ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App