coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मेयरका १०० दिन : पूरा भएनन् प्रतिबद्धता

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाचित भएको आज (सोमबार) सय दिन पुग्यो । जेठ १४ गते मेयरमा निर्वाचित भएका शाक्यले जेठ १७ गते कार्यभार सम्हालेका थिए । उनले कार्यभार सम्हालेकै पनि ९७ दिन पूरा भएको छ । यद्यपि उनीबाट नतिजा देखिने गरी केही काम हुन सकेको छैन । जबकि चुनाव प्रचारका क्रममा उनले निर्वाचित भएको दिनदेखि सय दिनसम्म जनताको घरदैलोमा गएर जनताका १ सय १ काम गर्ने प्रतिबद्धता गरेका थिए ।

उनका प्रतिबद्धतामध्ये सरकारले दिँदै आएको वृद्धभत्तामा महानगरले दुई हजार थप्ने निर्णयबाहेक नजिता देखिने गरी कुनै काम हुन सकेको छैन ।

मेयर चुनिनुअघि महानगर जस्तो धुलो, धुवाँ, जाम, खाल्डाखुल्डी थिए शाक्य मेयरमा चुनिएपछि पनि अवस्था उस्तै

छ । ‘जनप्रतिनिधि आए÷नआएको केही फरक अनुभूति छैनौं,’ वसन्तपुरका मनिल श्रेष्ठले भने, ‘जनप्रतिनिधि आएपछि सुधार होला भन्ने आशा थियो । सब आशा निराशामा फेरिए ।’ सय दिनमा १०१ काम गर्ने मेयर शाक्यको घोषणा भोट माग्ने बाहाना मात्र भएको उनले बताए ।

‘सय दिनमा १०१ काम त चुनाव जित्न गरेको प्रपञ्च मात्रै हो भन्ने प्रमाणित भएको छ,’ शाक्यसँगै नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका राजुराज जोशीले भने, ‘प्रतिबद्धता त पूरा गरेनन् नै । जसरी काम गर्नु पर्दथ्यो, त्यसरी काम पनि गर्न सकेनन् ।’

काठमाडौं महानगरपालिकालाई साँच्चिकैको महानगर बनाउने भए मेयर शाक्यले मतदाताको कदर गर्दै जोशजाँगर देखाएर काम गर्न थाल्नुपर्ने बताए । आपूmहरु पनि शाक्यलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता जोशीका छ ।

मेयर शाक्यले कार्यभार सम्हालेपछि ६ पटक नगर कार्यपालिका बैठक बसेका छन् । यी बैठकले २७ निर्णय गरेका छन् । महानगरका अनुसार दैनिक कार्यालय सञ्चालन बाहेकका महत्वपूर्ण निर्णय कार्यपालिका बैठकमार्फत हुन्छन् ।

मेयर शाक्यले कार्यभार सम्हालको पहिलो दिन जेठ १७ गते, असार ६, ९, २७, २९ गते र साउन ८ गते कार्यपालिका बैठक बसेको थियो । यही बैठकबाट २७ निर्णय भएका थिए । त्यसयता त मेयर शाक्यले कार्यपालिकाको बैठक समेत राख्न सकेका छैनन् । बैठक राख्न नसकेपछि केही निर्णय एकलौटी गरिरहेको आरोप वडाध्यक्षहरूको छ । गरेका निर्णय पनि केही विवादमा परेका छन् । विवादमा नपरेका निर्णय भने कार्यान्वयन हुन सकेको छैन ।

पहिलो कार्यपालिका बैठकले महानगरमा क्लिन काठमाडौं अभियान थालनी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा सूर्योदय अगावै फोहोरलाई विसर्जन र व्यवस्थापन गर्ने उल्लेख थियो । महानगर धुलो धुवाँमुक्त हुनु त कता हो कता कुही दिनदेखि सडकका फोहोर पनि उठ्न नसक्दा महानगर दुर्घन्धित बन्दैछ । ठाउँ ठाउँमा थुप्रिएका फोहोरले हिडिनसक्नु भएको छ ।

दोस्रो कार्यपालिका बैठकले जनप्रतिनिधिलाई मोवाइल सेट खरिदका लागि प्रतिव्यक्ति ३० हजारको व्यवस्था गर्ने निर्णयलाई तेस्रो बैठकले तत्कालको लागि कार्यान्वयन नगर्ने निर्णय ग¥यो ।

त्यसैगरी अन्तिम साता बसेको कार्यपालिका बैठकले आर्थिक ऐन, नीति तथा कार्यक्रम घोषणा गर्ने निर्णय पारित गरको थियो । तर बैठकले पारित गरेको आर्थिक ऐनमा बढेको करलगायतका विषयमा विवाद आयो । आर्थिक ऐनमा पारित केही करका शीर्षकलाई मौखिक निर्णय गरेर तत्काललाई यथावत राख्न लगाएका छन् शाक्यले ।

शाक्यलाई समावेशी नभएको आरोप पनि छ । नीति तथा कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी तथा वडाध्यक्षका अजेन्डा नसमेटेको आरोप उनलाई छ । ‘हाम्रा एजेन्डा सम्बोधन नै भएनन्,’ १६ नम्बरका वडाध्यक्ष मुकुन्द रिजालले भने, ‘आर्थिक ऐनमा घरबहाल कर २२ प्रतिशत पु¥याइएको रहेछ । १५ मिनेटअघि ऐन दिएर बैठकमा ताली ठोक्न लगाइयो । कर बढाउनेदेखि मृत्यु दर्ता गराउँदा ५ सय राजस्व लिने व्यवस्था मेयर शाक्यको एकल निर्णय हो । अन्य जनप्रतिनिधि त साक्षी  बसेर ताली मात्रै बजाएका हुन् ।’

काम नगरेरै चर्चामा

सय दिनको अवधिमा निकै चर्चामा आए मेयर शाक्य । तर, उनी काम नगरीकनै चर्चित भए । जनप्रतिनिधिलाई मोवाइल सेट बाँड्नदेखि एक करोड २० लाखको गाडी चढ्नेसम्मको शाक्यको रहरको निकै चर्चा भयो । पछिल्लो समय शाक्यले एकलौटी निर्णय गरेर कर्मचारी सरुवा गर्दा नेपाली कांग्रेसबाट विजयी उपमेयर हरिप्रभा खड्गी पनि रुष्ट छिन् । कांग्रेस निकटका कर्मचारीले त आन्दोलनकै तयारी गरिरहेका छन् ।

मेयर शाक्यले काठमाडौंलाई बाहिरबाट आएका मान्छेले बिगारेको बताउँदा पनि उनी चर्चित भए । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्डा पुर्न दिएको निर्देशनमा पनि उनको सहयोग भएन । उनले सार्वजनिक कार्यक्रममै खर्च जोगाउन खाल्डा नपुर्ने बताएका थिए ।

यद्यपी शाक्यकै १ सय १ कार्यसूचीको २४ नम्बरमा सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, विशेष प्रविधिको प्रयोग गरी धुलो र खाडलरहित सडक निर्माण गर्ने उल्लेख थियो । मिडियामा छाउन नचहाने शाक्य भने सय दिनको अवधिमा मिडियामा छाइरहे ।

काम हुँदैछ तर नतिजा...

महानगरका कार्यकारी अधिकृत धनिराम शर्मा मेयर शाक्यको सय दिनलाई सफल मान्नुपर्ने बताउँछन् । ‘सय दिनमै असफलता भनेर औंल्याउनु हुँदैन,’ अधिकृत शर्माले भने, ‘मेयरले काम गरिरहनु भएको छ, नतिजा देखिन समय लाग्छ ।’ रातरात त कसैले पनि परिवर्तन गर्न नसक्ने बताउँदै उनले सय दिनमा १०१ कामको प्रतिबद्धताबारे केही हुँदै गरेको र धेरै बाँकी रहेको संकेत गरे । तर सय मध्ये १० वटा काम बुँदागत रूपमा बताइदिन गरिएको अनुरोधमा उनले स्पष्ट उत्तर दिन सकेनन् । ‘केही काम भएका छन्, केही पाइप लाइनमा छन्,’ उनले भने, ‘चाँडै नै पत्रकार सम्मेलनमार्फत महानगरले गरेका कामको जानकारी सार्वजनिक गर्नेछौं ।’ गर्न नसकिएका काम गर्न सकेनौं भनेरै स्वीर्कान पनि पत्रकार सम्मेलन गर्ने तयारी भएको उनले बताए । मेयर शाक्यसँग यस सम्बन्धमा बुझ्न बारम्बार सम्पर्क गरे पनि उनले फोन उठाएनन् ।

प्रकाशित: १९ भाद्र २०७४ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App