७ वैशाख २०८१ शुक्रबार
समाज

औषधिसहित स्वास्थ्यकर्मीको टोली गोबरगाढातर्फ, प्रभावित क्षेत्रमा रोगको प्रकोप

राजविराज– अत्यावश्यक औषधिसहित स्वास्थ्यकर्मीहरुको टोली बुधवार ‘टापु’ गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढातर्फ प्रस्थान गरेका छन्। डुवानका त्रासबीच टापुमा फसिरहेका गोबरगाढाबासीलाई औषधिसमेत नरहेको भन्दै नागरिकन्यूजसहितका सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीसहितको टोली त्यसतर्फ पठाएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार आवश्यक औषधिसहित ३ जना स्वास्थ्यकर्मीको टोली गोबरगाढातर्फ पठाइएको हो। स्थानीय करिब ३ सय परिवार गोबरगाढामै रहेको तथा उनीहरुका लागि अत्यावश्यक औषधिसमेत नरहेको भनी सञ्चारमाध्यममा प्रमुखता साथ समाचार प्रकाशित भएका थिए।     

गोबरगाढास्थित स्वास्थ्य चौकीमा पछिल्लो दुई महिनादेखि स्वास्थ्यकर्मी नआएको तथा औषधिसमेत नरहेको स्थानियहरुको भनाई छ। वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले गोवरगाढा स्वास्थ्य चौकीका प्रमुख नरेन्द्रप्रसाद सिंहसहित ३ जना हेल्थ असिटेन्टहरुलाई गोबरगाढा पठाइएको जानकारी गराए।

‘साँझसम्म उनीहरु गोबरगाढा पुगिहाल्छन्, त्यहाँको समस्यालाई मध्यनजर गर्दै आवश्यक औषधिसमेत पठाएको छौं,’ झाले भने, ‘आवश्यक परे थप टोलीसमेत पठाइन्छ।’

बाढी प्रभावित क्षेत्रमा रोगको प्रकोप

बाढीले प्रभावित सप्तरीका झण्डै दुई दर्जन मानव बस्तीहरुमा रोगको प्रकोप वढ्न थालेको छ। सर्वसाधारणहरु धमाधम विरामी पर्ने थालेपछि बाढी पीडितहरुको झनै समस्यामा परेका छन्। खासगरी महिला, बालबालिका र वृद्धवृद्धाहरु धमाधम बिरामी हुन थालेको बाढी प्रभावित क्षेत्रमा अवस्थित स्थानीय स्वास्थ्य संस्थाहरुले जनाएका छन्।

बाढीले प्रभावित सप्तरीको रम्पुरा मल्हनियाँ–६ मा मात्रै झण्डै एक सय जनाभन्दा बढी विरामी परेका छन्। विरामी पर्नेमा अधिकांश बालबालिका रहेको गाविसका समाजिक परिचालक सुरेश यादवले जानकारी गराए। ‘अधिकांशलाई ज्वरोको समस्या देखिएको छ। केही झाडा पखालाका विरामी समेत रहेका छन्’, उनले भने, ‘६ नम्बर वडाबाहेक अन्य वडाहरुमा पनि विरामीको संख्या निरन्तर बढ्दै गएको छ।’ रम्पुरा मल्हनियाँमा बाढीबाट बढी प्रभावित भएको वडा नम्बर ६ नै हो।
त्यस्तै सकरपुरा, तिलाठी, कोइलाडी बर्साइन, विसहरीया, दिघवा, पातो, कजौली, भारदह, पोर्ताहा, त्रिकौल, मैनाकडेरी, देउरी भरुवा, भगवतपुर, बथनाहालगायत बाढी प्रभावित गाउँहरुमा विरामीहरुको चाप बढेको बरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी गराए।

‘भाइरल फिभरका विरामीहरु बढी देखिएका छन्, डारियाका पनि केही केसहरु हामी कहाँ आएको छ’, उनले भने, ‘हामी एलर्ट बसेका छौं, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरु परिचालित गरिसकेका छौं।’ पानी बिस्तारै घट्दै जाँदा झन् विरामीहरुको संख्या बढ्न सक्ने उनको भनाई छ। ‘पानी घट्दै गएपछि झन् रोगको प्रकोप बढ्न सक्ने सम्भावनाप्रति हामी सचेत छौं’, बरिष्ठ जनस्वास्थ्य प्रशासक झाले भने, ‘पानी घटेपछि खासगरी झाडा पखालाको महामारी नफैलियोस् भनेर हामी सचेत बसेका छौं।’

अगामी खतरालाई मध्यनजर गर्दै आफूले केन्द्रबाट जीवनजल तथा झाडापखालाका अन्य औषधिहरु पठाउन आग्रहसहितको पत्राचार गरिसकेको समेत उनले जानकारी गराए। यसका अतिरीक्त बाढी प्रभावित क्षेत्रका लागि खानेपानी शुद्धीकरणका निम्ति पानी शुद्धीकरण गर्ने औषधि (वाटर पियोरीफायर) युनिसेफ तथा खानेपानीबाट माग गरिएको उनले जानकारी दिए।  

 

प्रकाशित: १२ श्रावण २०७३ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App