८ वैशाख २०८१ शनिबार
समाज

अन्तरवार्तामा अध्यक्ष भागेपछि शिक्षक नियुक्ति रोकियो

जाजरकोट – शिक्षक नियुक्तिका लागि भइरहेको मौखिक अन्तरवार्ताको समयममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू भागेपछि यहाँका दुईवटा  विद्यालयमा शिक्षक नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको छ। 

आफ्ना मान्छेहरू शिक्षक नहुने भएपछि जिल्लाको छेडागाड  नगरपालिका वडा नं १२ मनघाट स्थित चन्द्रज्योति आधारभूत विद्यालय र त्रिवेणीनलगाड नगरपालिका वडा नं ६ पिउली स्थित जनप्रिय प्राथमिक विद्यालयको प्राथमिक तहको राहत शिक्षक पदका लिइएको परीक्षाको अन्तरवार्ताका बेला व्यवस्थापन समितिका अध्यक्ष भागेपछि एक महिना बढी समयसम्म पनि शिक्षक नियुक्ति हुन नसकेको पीडितहरूको गुनासो छ । शिक्षक पद रिक्त भएको ७ महिना वढी भइसकेको र परीक्षा लिएको डेढ महिना हँुदा पनि दलका नेताको हस्तक्षेपले नियुक्ति प्रक्रिया रोकिएको सरोकारवालाहरूको गुनासो छ । आफ्ना मान्छे परीक्षामा पास नहुने भएपछि दुवै विद्यालयका अध्यक्षहरू भागेको बताइएको छ। 

मनघाटको चन्द्रज्योति आधारभूत विद्यालयको शिक्षक पदका लागि लिखित परीक्षामा सफल भएर अन्तरवार्ताका लागि छनोट भएका खीमबहादुर खड्काले अन्तरवार्ता हुँदाहुँदै व्यवस्थापन समितिका अध्यक्ष देवीराम जैसी कोठाबाट एक्कासी भागेर अहिलेसम्म शिक्षक नियुक्तिको काम पुरा नभएको बताए । साउन ७ गते जिल्ला शिक्षा कार्यालयमै हुने परीक्षाका लागि सुरुमा अन्तरवार्ता दिने मेरो पालो थियो मलाई भित्रबाट बोलाएपछि ढोकैमा पुगेको बेला अध्यक्ष जैसी बाहिर निस्केर बेपत्ता भए, खड्काले भने । पीडित खड्काले अन्तरवार्ता रोकिएकै दिन जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा अन्तरवार्ता पुरा गरेर नियुक्ति प्रक्रिया टुङग्याउनका लागि आवश्यक कारवाहीको माग गर्र्दै  निवेदन दिएको बताए । निवेदन दिएको साढे १ महिना हुन लागेपनि  कुनै सुनुवाइ नभएको  खड्काले गुनासो गरे।

एउटा व्यक्तिको दवावको कारणले आफूहरूको परीक्षा रोकिएको र विद्यालयको  पठनपाठनमा समेत ठूलो बाधा परेको खड्काले बताए । वडाध्यक्ष प्रेमबहादुर खत्रीले नै चुनावका बेला जागिर लगाइदिन्छु भनेको व्यक्तिलाई जसरी पनि शिक्षक बनाउन नियुक्ति प्रक्रिया रोकेको  पीडित खड्काले बताए । व्यवस्थापन समितिका अध्यक्ष देवीराम र वडाध्यक्ष प्रेमबहादुरले आफ्नो मान्छेलाई शिक्षक बनाउन खोजेका कारण लामो समयदेखि  विद्यालयमा पठनपाठनमा समस्या परेको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए । उनले आफ्नो मान्छे भए परीक्षा हुन्छ नत्र हुन्न भनेर मौखिक परीक्षा नै गर्न नदिएको उनले बताए।

त्यस्तै जनप्रिय प्राथमिक विद्यालय  पिउलीको राहत दरबन्दीको शिक्षक पदका लागि लिइएको परीक्षामा पनि लिखित परीक्षा सकिएर मौखिक परीक्षा हुँदाहुँदै व्यवस्थापन समितिका अध्यक्ष दिपबहादुर विक भागेपछि अहिलेसम्म शिक्षक नियुक्ति हुन नसकेको पिडित मनोद शर्माले वताए । उनले असार ११ गते लिखित परीक्षा सकेर मौखिक परीक्षा हुँदाहुँदै आफ्नो मान्छे नहुने भएपछि अध्यक्ष जुरुक्क उठेर भागेको बताए । उनले आफूले शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि उजुरी हालेको तर कुनै सुनुवाइ नभएको. बताए । उता प्रधनाध्यापक सारदा बुढाले भने व्यवस्थापन समितिको अध्यक्षले आफ्नो मान्छे शिक्षक बन्नुपर्ने अडान राखेर परीक्षामा बाधा पुर्याएको बताइन् । अध्यक्षका कारण आफूले सबैबाट गाली खाएको र शिक्षा कार्यालयले पनि कुनै पहल नगरेको प्रधानाध्यापक बुढाले बताइन्। 

दुवै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई शिक्षा कार्यालयले बारम्बार ताकेता पत्र लेखेपनि उनीहरूले नटेर्ने गरेको सरोकारवालाहरूको भनाइ छ । पिउलीको विद्यालयका अध्यक्ष दिपबहादुर विकले भने आफ्नो गाउँका मान्छेहरूले भनेको मान्छेलाई नै आफूले शिक्षक बनाउन पाउनुपर्ने बताए । जनताले भनेको मान्छेलाई नबनाएर अरु कसलाई बनाउनु उनले भने । मनघाट विद्यालयका अध्यक्षलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । शिक्षा कार्यालय र प्रशासन कार्यालयमा उजुरी दिने खड्का र शर्मा दुई विद्यालयमा लिखित परीक्षामा सबैभन्दा बढी अकं ल्याएका व्यक्तिहरू हुन्। 

उता जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले दुवै विद्यालयलाई चेतावनी सहितको पत्र लेखिएको र बारम्बार अटेर गरे दरबन्दी काट्ने सम्मको कारवाही हुन सक्ने बताए । राजनीतिको आडमा शिक्षक नियुक्ति प्रक्रियामा अवरोधहरू हुँदा समस्या पर्ने गरेको उनले बताए। 

 

प्रकाशित: १८ भाद्र २०७४ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App