coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सडकमा अलपत्र पर्नेको संख्या बढ्दै

ललितपुर –  रामेछाप जिल्ला कुम्गुस्थलीका विनोद सन्तान र सम्पति दुवै भएर पनि एक्लो जिन्दगी बिताउन बाध्य छन्। 

झण्डै ५० वर्ष उमेरका उनी तीन वर्षसम्म रातोपुलमा मागेर गुजारा टार्दथे । अहिले उनी एउटा संस्थामा आश्रय लिइरहेका छन्। उनका मिर्गौलाले काम नगर्ने भएको छ तैपनि उनको उपचार हुनसकेको छैन्। संस्थाले विभिन्न माध्यमबाट उनकी छोरीको खोजी गरेको छ । एक÷दुई दिनमा लिन आउँछु भनेर गएका छोरीज्वाइँ एक महिना बित्दासमेत फर्किएका छैनन् । उनी आफैंँ पनि बरु पाटी फर्कर्ने तर सन्तानसँग नफर्कने बताउँछन्। 

नेपाल र भारतका ठूला होटलमा काम गरेका विनोद रोग बढ्दै जाँदा असहाय भए। सन्तानको माया र स्याहार चाहिने उमेरमा बेवास्ता गरिएपछि मन मरेर उनी सडकमा पुगे। युवाको एउटा टोलीले उनलाई उद्धार गरेर मानवसेवा आश्रम पुर्‍यायो । 

रोगसँग लडिरहेका उनी अहिले पनि उपचार पाएमा पहिलेको जीवनमा फर्कने आशा गर्छन् । ‘कुक’ का रुपमा काम गरेर जीविकोपार्जन गर्ने इच्छा उनमा भएको उनको उद्धार गर्ने समाजसेवी दुर्गानाथ दाहाल बताउँछन्। दाहाल भन्छन्, “महँगो पर्ने भएकाले उहाँको उपचार गर्न भने सकिएको छैन ।” 
विनोद जस्तै सन्तान भएर पनि नवलपरासीका हरि सुवेदी एक्लो भएका छन् । दुई छोरा र एक छोरीका पिता उनी कडा खालको मानसिक रोगबाट ग्रस्त छन्। उनको रोगकै कारण श्रीमतीले अर्कासँग विवाह गरिन् । काठमाडौँमै रहेकी छोरीले केही वर्ष हेरे पनि अहिले वास्ता गरेकी छैनन् । विदेशमा रहेका छोरा अहिले स्वदेश फर्किएका छन् । तैपनि हेर्ने अवस्था छैन
। उनलाई छोरीले पशुपतिस्थित वृद्धाश्रम पु¥याएकी थिइन् ।  परिवारमा सबै भए पनि उनलाई परिवारमा फर्काउन सकिने अवस्था नभएको आश्रमले बताएको छ । 

विभिन्न कारणले परिवार छाडेर बाँच्नका लागि सडकमा पुग्नेको संख्या बढ्दो छ । पारिवारिक बेमेल नै सडकमा पुग्नाको मुख्य कारण बनेको छ । सडकमा मागेर सडक पेटी वा पाटीमा रात कटाउनेमा सबैभन्दा धेरै ज्येष्ठ नागरिक छन् । कतिपय सन्तान नभएर त कति भएका सन्तानले बेवास्ता गर्दा सडकमा मागेर जीवन धानिरहेका छन्। 

लगनखेलमा मानसिक अस्पताल भएका कारण लगनखेल, सातदोबाटो, जावलाखेललगायत स्थानका पाटीमा मानसिक रोग लागेर सडकमा पुगेका धेरै भेटिन्छन् । मानवसेवा आश्रम नामक संस्थाले सडकका धेरैको उद्धार गरिरहेको छ तर सडक खाली नै गर्न भने सकेको छैन। 

सडकमा मागेर जीवन धान्नेमा कतिपय सन्तान नै नभएका ज्येष्ठ नागरिक छन् । उमेरमा देश–विदेश घुमेका जयबहादुर घिमिरे काम गर्न नसक्ने भएपछि भने एक दशकभन्दा लामो समय पाटीमा मागेर गुजारा गर्न बाध्य भए। आफ्नो घर रामेछाप बताउने उनी अविवाहित हुन्। दाजुभाइले सम्पति खाएको उनको आरोप छ । सम्पत्ति र सन्तान केही नभएपछि सडक अन्तिम विकल्प भएको हो। 

आश्रमले लगेपछि उनी अहिले आश्रममा नै मृत्यु कुरेर बसेका छन्। उमेरले ८० वर्ष नाघेका घिमिरे अझै आफ्नो काम आफैँं गर्न रुचाउँछन्। उनी भन्छन्, “आफैंँले भाँडा माझेर खाँदा मात्र आनन्द लाग्छ ।” उनी नियमित रुपमा मुटु र उच्च रक्तचापको औषधि खाने गर्छन्। 

विभिन्न कारणले सडक जीवन बिताउन बाध्य भएकामा सबैभन्दा बढी ज्येष्ठ नागरिक भएको आश्रम ललितपुरका प्रमुख धर्मप्रसाद पौडेल बताउँछन्। आश्रम अहिलेसम्म स्वदेशी सहयोगले मात्रै चलिरहेको छ । सातामा दुई दिन सडक अवलोकन गरेर आश्रमले सडकमा मागेर गुजारा गर्नेलाई ल्याउने गरेको छ। उनी भन्छन्, “मागेर समेत खान नसक्ने नै हाम्रो लक्षित वर्ग हो ।” देशभरका आठ आश्रममा गरेर झण्डै एक हजार जनाको उद्धार भएको छ। 

एक सय ७५ जना पुनःमिलन गराइएको पौडेल बताउँछन्। पचास जनाभन्दा बढी ज्येष्ठ नागरिकको आश्रममा नै मृत्यु भइसकेको छ । अहिले संस्थाले आश्रय दिए पनि सडकमा अलपत्र परेका नागरिकको जिम्मेवारी स्थानीय निकायले लिनुपर्नेमा आश्रमको जोड छ । सञ्चिता घिमिरे / रासस 

प्रकाशित: १८ भाद्र २०७४ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App