८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

स्क्रवटाइफस प्रकोप : बेलैमा पहिचान गरे, उपचार सहज

काठमाडौं- बिरामीमा कडा ज्वरो, खोकी तथा पसिना आउने, आँखा रातो हुनेजस्ता केही लक्षण देखिएमा स्क्रवटाइफस भएको हुनसक्ने भएकाले समयमै परीक्षण गर्न चिकित्सकले सुझाएका छन् । समयमै रोग पहिचान गरे उपचार सहज हुने चिकित्सकले बताएका छन् ।

मुसाको रगत चुस्ने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा सर्ने स्क्रवटाइफस रोग लागेको बेलैमा पत्ता लागे एक हजारमै खर्चमै रोग निको हुने तर उपचारमा ढिला गरे ज्यानै जान सक्ने डाक्टरहरू बताउँछन् ।

मुसाको शरीरमा बाँच्ने परजीवी भएकोले यो रोग मुसा हुने ठाउँमा फैलिन्छ । झाडीमा रहने यो परजीवीभित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जिवाणुको शरीरभित्र प्रवेश गरेमा व्यक्तिमा यो रोगको संक्रमण हुन्छ । मनसुनमा देखा पर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

‘सामान्य रगत परीक्षणपछि तीन सय रुपैंयाँको औषधि सेवन गर्दा रोग निको हुन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान संयोगक डा. शेरबहादुर पुनले भने ।

रोगको लक्षण देखिएमा रगत परीक्षण गराउँदा रोग भए नभएको पत्ता लाग्ने र बढी खर्च पनि नहुने चिकित्सक बताउँछन् । ‘धेरै बिरामी गतल उपचारका कारण शिकार भएका हुन्छन्, रोगका लक्षण देखिए छिटो अस्पताल जानु नै उत्तम विकल्प हो,’ उनले भने ।

विगतमा मोफसलमा मात्र फैलिइको यो रोग हाल  राजधानीमै सक्रिय भएको छ । उपत्यकाका अस्पतालबाट शुक्राराज ट्रपिकलमा परीक्षणका लागि पठाइएका ७० जनाको रगतमा स्क्रवटाइफस प्रमाणित भइसकेको छ । तीमध्ये ९ जना बालबालिका छन् ।

यस वर्ष देशभरबाट २ सय ६७ जनामा स्क्रवटाइफस प्रमाणित भइसकेको र तीनजनाको मृत्यु भएको राष्ट्रिय इपिडियोमोलोजी महाशाखाले जनाएको छ । मृत्यु हुनेमा चितवनमा दुई र स्याङ्जाका एक जना छन् । सबैभन्दा बढी चितवनमा ६४ त्यसपछि मकवानपुरमा ४९, नवलपरासीमा ४२, पाल्पामा २२ र स्याङ्जामा १४ जनामा प्रमाणित भएको र अन्य जिल्लामा छिटफुटरूपमा देखिएको महाशाखाले जनाएको छ । दुई वर्ष अघि सन् २०१५ मा यही रोगको कारण ५ जनाको मृत्यु भएको थियो ।

‘कोरिया, जापानका सहरमा सक्रिय देखिएकोमा नेपालको राजधानीमा समेत देखियो,’ डा. पुनले भने । सन् २००४ मा पाटन अस्पतालले स्क्रवाटाइफस भएको प्रमाणित गरेको थियो । बीचको समयमा यसको छुट्टै परीक्षण नभएकोले स्क्रवटाइफस नभएको भान हुन गएको थियो । यो वर्ष अस्पतालमा परीक्षण कीटमा परीक्षण हुन थालेपछि यो रोग सक्रिय भएको पत्ता लागेको उनले बताए ।

टाइफाइडकै जस्तो लक्षण हुने र  टाइफाइडकै औषधिले निकोसमेत हुने भएकाले यो रोगको पहिचान नभएको चिकित्सकहरू बताउँछन् । डा. पुनका अनुसार केही वर्षअघिसम्म टाइफाइडको लागि प्रयोग हुने ‘सिफ«ोफलोक्सासिन’ ले स्क्रवटाइफस पनि निको हुन्थ्यो । केही वर्षयता त्यसले टाइफाइड निको हुन छोडेपछि टाइफाइडमा ‘सेफेक्जिन’ प्रयोग गर्न थालिएको छ । अहिले स्क्रवटाइफसको लागि ‘डक्सिसाइक्लिन’ प्रयोग गरिन्छ । यो  सातदेखि १० दिनसम्म नियमअनुसार प्रयोग गरेमा ४८ घण्टाभित्रैमा बिरामी सामान्य अवस्थामा फर्किंदै जान्छन् ।

समयमै उपचार नगरेमा रगतको माध्यमबाट विभिन्न अंग संक्रमण भई कलेजो, मिर्गौला र स्नायु प्रणाली जस्ता अंग बिग्रिन गई बिरामीको ज्यानसमेत जाने चिकित्सक बताउँछन् । सन् २०१५ मा यसको कारण पाँचजनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित: १८ भाद्र २०७४ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App