coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोको उच्च जोखिममा ४५ परिवार

बैतडी– बैतडीको गोकुलेश्वर ३५ र सित्तडमा १० गरी ४५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गोकुलेश्वर वडा नं ४, ६ र ९ का ३५ परिवार पहिरोको जोखिममा रहेको स्थानीयवासी राम नाथले जानकारी दिए।

उनले भने, “२०४५ सालदेखि सो ठाउँमा पहिरो सुरु भएको र पहिरोले जमिन भास्ने क्रम बढ्दै गएको छ ।” पहिरोका कारण गाउँमा रहेको केदार निमाविलाई स्थानान्तरण गरिएको र विद्यालय भवन नै जोखिममा पारेपछि विद्यालय सार्नुपरेको नाथले बताए।

पहिरोका कारण धेरै जमिन नष्ट भइसकेको छ भने अझै पनि जमिन पहिरोको जोखिममै रहेको छ। यस्तै सो ठाउँका बासिन्दा पहिरोको उच्च जोखिममा रहेको उनले बताए।

सित्तड गाविस–५ डोलबस्ती पहिरोको उच्च जोखिममा रहेको छ । लगातार भएको वर्षाका कारण वस्ती नै पहिरोको जोखिममा परेको सित्तड स्वास्थ्य चौकीका प्रमुख नैन सिंह गोयलाले जानकारी दिए। पहिलादेखि पहिरोको जोखिममा रहेको वस्ती वर्षाका कारण झन प्रभावित भएको छ उनले भने, “वस्तीमा रहेका सबै घर पहिरोको जोखिममा छन्।”

दस घरपरिवार बस्दै आएकोमा डोलवस्तीको भित्रपट्टी कमेरोयुक्त माटो भएकाले जमीन भासिँदै गएको उनले बताए। सो ठाउँका १५ परिवारले बसाइसराई गरिसकेको भए पनि कमजोर आर्थिक अवस्था भएका जोखिम मोलेर बस्न बाध्य भएको स्वास्थ्य चौकी प्रमुख गोयलाले जानकारी दिए।

मङ्गलबारको वर्षाले बैतडी रौलेश्वर गाविस–६ मडमा घरमाथिबाट पहिरो खस्दा स्थानीय विष्णुदत्त भट्टको घरमा आंशिक क्षति पुगेको छ। पहिरोले भैंसीलाई चोट लागेको छ भने भट्ट श्रीमती पार्वती भट्टलाई पनि चोट लागेको छ। घर अझै पनि पहिरोको जोखिममा रहेको जनाइएको छ। यस्तै शिखरपुर गाविस–४ सेलामा रमेश साउदको पसल तलतिर पहिरो जाँदा पसल पहिरोको जोखिममा रहेको छ। गाउँमा आवतजावत गर्ने बाटो अवरुद्ध भएको छ।

लगातारको वर्षाले बैतडीको रुद्रेश्वर गाविस–९ मा रहेको लटिनाथ प्रावी गिरेबगडको भवन भत्किएको छ। विद्यालयको चार कोठे भवन भत्किँदा विद्यालयका सबै सामग्री नष्ट भएको प्रधानाध्यापक नरेशराम कोलीले जानकारी दिए।

विसं २०६५ मा गाविसको रु. २ लाखको लागतमा निर्मित भवन भत्किएपछि विद्यालयलाई समस्या भएको छ। प्रधानाध्यापक कोलीले भने, “भवनको पूरै छाना खसेपछि कोठाभित्र रहेका कागजपत्र, दराज, कुर्सी, बेञ्च सबै नष्ट भएको छ।” कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयको भवन भत्किएपछि पठनपाठनमा समेत समस्या भएको उनले बताए। रासस

 

प्रकाशित: १२ श्रावण २०७३ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App