५ वैशाख २०८१ बुधबार
राजनीति

उम्मेदवार छान्न राजपालाई सकस

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्नेे विषयमा राजपा नेपालभित्र कचिंगल सुरू भएको छ । उच्चस्तरीय समितिले शनिबार पनि  उम्मेदवारको टुंगो लगाउन सकेन । पार्टी अध्यक्षमण्डलले उम्मेदवार छनोट गर्नका लागि शुक्रबारसम्म केन्द्रमा प्रतिवेदन बुझाउने गरी करिब एक साताअघि  दुई नम्बर प्रदेशका ८ वटा जिल्लामा ६ ÷६ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । जसमध्ये बाराका लागि गठित उच्चस्तरीय समितिले मात्रै प्रतिवेदन बुझाएको छ । बारामा  उम्मेदवारको टुंगो लगाउन सरोज यादवको संयोजकत्वमा समिति गठन गरिएको थियो । बाँकी सातवटा जिल्लाका लागि गठन गरिएका समितिले आकांक्षीलाई मिलाउन नसकेर प्रतिवेदन बनाउन सकेका छैनन् । राजापका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले उच्चस्तरीय समितिबाट प्रतिवेदन नआएको स्वीकार गरे । ‘उम्मेदवारको विषयमा ठूलाठूला पार्टीले पनि कुरा मिलाउन सकेका छैनन् । हाम्रो पार्टीमा पनि यस्तै सकस छ,’ उनले भने, ‘आकांक्षी धेरै भएपछि यस्तो हुनु स्वाभाविकै हो,’ । आइतबारबाट उम्मेदवारको टुंगो लाग्ने पनि उनले बताए ।

दुई नम्बर प्रदेशका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवारको टुंगो लगाउन राजपा नेतृत्वलाई समस्या परेको छ । वीरगन्ज महानगरपालिकामा मेयर उम्मेदवारका लागि विमल श्रीवास्तव र राजेशमान सिंहमध्ये कोही पनि पछि नहट्ने स्थितिमा छन् । पार्टीले एउटालाई टिकट दियो भने अर्कोले बागी उठ्ने घोषणा गरेका छन् । यसैगरी जनकपुर, राजविराजलगायतका ठाउँमा पनि उम्मेदवारको टुंगो लगाउन कठिन भएको छ । जनकपुरमा लालकिशोर साह, शिवशंकर साह हीरा, परमेश्वर साहलगायत मेयर उम्मेदवारका आकांक्षी छन् । यसैगरी राजविराजमा मनीष सुमन, शम्भु यादव, लक्ष्मण यादवलगायत आकांक्षी छन् । दुई नम्बर प्रदेशका केही स्थानीय तहमा एउटै पदमा पन्ध्रजनासम्म आकांक्षी देखिएकाले उम्मेदवारको टुंगो लगाउन ढिलो भएको राजपाका नेताहरू बताउँछन् ।

उम्मेदवार छान्न सकस परेपछि उम्मेदवार चयन गर्नेबारेमा शनिबार राजपा अध्यक्ष मण्डलको बैठक बसेको थियो । राजपाका अध्यक्ष मण्डलका सदस्य भण्डारीले भदौ २० गतेसम्म सबै जिल्लामा उम्मेदवारको टुंगो लाग्ने बताए । ‘उच्चस्तरीय समितिले आइतबार(आज)बाट रिपोर्ट बुझाउन थाल्नेछन् ।  केही ढिलो भएको मात्र हो,’ उनले भने । उम्मेदवारको नाम संकलन गर्न पठाइएका पर्यवेक्षकले आफ्ना प्रतिवेदन बुझाइसकेका छन् । पर्यवेक्षक टोलीले नाम मात्र संकलन गरेको थियो । संकलन गरिएका नामबाट उम्मेदवार मिलाउन उच्चस्तरीय समितिलाई सकस परेको हो ।

राजपाका केही शीर्ष तहका नेता नै स्थानीय तहमा उम्मेदवार हुन आकांक्षा देखाएका छन् । दुई उपाध्यक्ष, चार महासचिव, एक प्रवक्ता उम्मेदवार हुन आफनो नाम उच्चस्तरीय समितिमा टिपाएका छन् । केही जिल्लामा त उच्चस्तरीय समितिका संयोजकभन्दा  आकाक्षीकै पदीय हैसियत माथि छ । त्यसैले पनि उच्चस्तरीय समितिलाई आकांक्षी मिलाउन समस्या परेको हो ।

अध्यक्ष मण्डल बैठकमा त्रिपाठी स्थायी सदस्य

शनिबार बसेको अध्यक्ष मण्डल बैठकले असन्तुष्ट नेता हृदयेश त्रिपाठीलाई अध्यक्ष मण्डल बैठकमा स्थायी सदस्यका रूपमा मनोनित गर्ने निर्णय गरेको छ । भण्डारीले भने, ‘उहाँ (त्रिपाठी) लाई  अध्यक्ष मण्डलको बैठकमा स्थायी सदस्यको रूपमा मनोनित गरिएको हो । अध्यक्ष मण्डलका सदस्यका रूपमा होइन ।’  त्रिपाठी राजपा गठन भएयता असन्तुष्ट रहँदै आएका छन् । 

 अध्यक्ष मण्डलको सोही बैठकले सचिवालय समन्वय समिति र प्रचारप्रसार समिति पनि गठन गरेको छ ।

प्रकाशित: १८ भाद्र २०७४ ०३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App