७ वैशाख २०८१ शुक्रबार
समाज

१० हजारलाई मार्क्सवाद पढाइने

काठमाडौं- कार्ल माक्र्स द्विशतवार्षिकी समारोह राष्ट्रिय समितिले दस हजार व्यक्तिलाई मार्क्सवादको अध्ययन गराउने भएको छ । काभ्रेको धुलिखेलमा भएको पाँचदिने कार्ल माक्र्स राष्ट्रिय स्कुल समापनको अवसरमा सो घोषणा गरिएको हो ।

नेकपा (एमाले) का उपमहासचिव एवं उक्त समितिका संयोजक घनश्याम भुसालले धुलिखेलमा सञ्चालित ५ दिने ‘कार्ल माक्र्स राष्ट्रिय स्कुल’ को समापनमा सो घोषणा गरेका हुन् । पाँचदिने स्कुलमा नेकपा (एमाले), नेकपा (संयुक्त), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेपालका र स्वतन्त्र गरी ३५० भन्दा बढी युवाको सहभागिता थियो ।

कार्यक्रममा सहभागीलाई पाँचवटा समूह बनाई अन्तरक्रियात्मक ढंगले प्रभावकारी विमर्श गरिएको थियो । भदौ १३ देखि १७ गतेसम्म आवासीय रूपमा चलेको उक्त स्कुलमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, ज्ञान सिद्धान्त, माक्र्सवादी नारीवाद, विश्वव्यापीकरण र अन्तर्राष्ट्रिय राजनीति, बेल्ट एण्ड रोड इनिसियटिभ र नेपाल–चीन–भारतको त्रिदेशीय सहकार्यलगायतका विषयमा राजनीतिज्ञ तथा विज्ञबाट प्रशिक्षण र विमर्श भएको थियोे ।

कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीको सन्दर्भमा माक्र्सवादी विचार तथा सिद्धान्तको प्रचारप्रसार गर्न गठित राष्ट्रिय समितिले माक्र्सवादका आधारभूत सिद्धान्त एवं नेपालको कम्युनिष्ट आन्दोलनका करिब ७ दशकका अनुभव, शिक्षा र आगामी बाटोबारे नयाँ पिँढीलाई जानकारी र दिशानिर्देश गर्नु उक्त स्कुलको उद्देश्य रहेको आयोजक समितिका डा. विजय पौडेलले बताए । स्कुलमा नेपाली वाम आन्दोलनका शिक्षाबारे वरिष्ठ नेताहरू मोहनविक्रम सिंह, वामदेव गौतमले सम्बोधन गरेका थिए ।

यसैगरी, नेपाली कांग्रेसका नेता प्रदीप गिरीले ‘माक्र्स एवं उहाँको देन’ र प्राध्यापक चैतन्य मिश्रले ‘माक्र्सवादी अध्ययनका लागि केही सरोकार’बारे धारणा राखेका थिए । स्कुल पुष्पलाल स्मृति प्रतिष्ठान, नेपाल अध्ययन केन्द्र, मदन भण्डारी अध्ययन केन्द्र, घनश्याम ढकाल स्मृति प्रतिष्ठान, पोष्टबहादुर स्मृति प्रतिष्ठान, कृष्णसेन इच्छुक प्रतिष्ठान र कम्युनिष्ट संग्रहालय नेपालको प्रायोजनमा भएको थियो ।

प्रकाशित: १८ भाद्र २०७४ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App