coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राप्तीको चौफेरी गाउँमा फसेका १ सय ४ जनाको उद्धार

राप्ती नदीको बाढीमा अलपत्र परेका बाँके, होलिया–४ चौफेरी गाउँका स्थानीयलाइ उद्धार गर्दै नेपाली सेनाकाे हेलिकप्टर। तस्बिर: अर्जुन अाेली

नेपालगन्ज–राप्ती नदीको बाढीमा अलपत्र परेका बाँके, होलिया–४ चौफेरी गाउँका थप १ सय ४ जनाको बुधबार उद्धार गरिएको छ। जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो। हेलिकप्टरबाट दिउँसो उद्धार गरी सुरक्षित स्थान खडैचामा लाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिए। ‘नदीको बीच टापुमा फसेका बाँकी स्थानीय बासिन्दाको पनि उद्धार गर्यौं,’ पन्थले भने ।

यसअघि मंगलबार अबेर रातिसम्म राप्तीको बाढीमा फसेका होलिया, बेतहनी र कचनापुरका ६ सय ७३ जनाको हेलिकप्टर, डुंगा लगायत साधनबाट उद्धार गरिएको थियो। प्रजिअ पन्थका अनुसार ४ सय ९८ जनाको हेलिकप्टरमार्फत र १ सय ७५ जनालाई डुंगालगायत साधनको प्रयोगबाट उद्धार गरिएको थियो।

राप्तीमा पानीको सतह अचानक बढेपछि राप्ती आसपासका होलिया, फत्तेपुर, गंगापुर, मटेहिया, बेतहनी, खासकुश्मा, कचनापुर, बैजापुर, बिनौनालगायत गाविसका विभिन्न वडा तथा गाउँहरु डुबानमा परेका छन्। कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार राति साढे ११ बजेसम्म नदीमा पानीको सतह बढेर ८ मिटर १५ सेन्टिमिटरसम्म पुगेको थियो। बाढीको मात्रा बुधबार विस्तारै घट्दै गएको बाढी मापक भद्रबहादुर थापाले जानकारी दिए।

त्यहाँ ४ मिटर ७० सेन्टिमिटर पुग्ने बित्तिकै होलिया, फत्तेपुर, गंगापुर लगायत गाविसका गाउँमा पानी पस्न सुरु हुन्छ। कुसुममा बाढी घटेपनि राप्ती नदीको तल्लो तटीय क्षेत्रको जनजीवन भने अझै सामान्य हुन सकेको छैन। पुर्व सुचना प्रणाली र समयमै उद्धार कार्य गरिएकाले राप्तीको बाढीबाट कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी पन्थले बताएका छन्।

‘पूर्व सूचना प्रणालीसँगै समयमा उद्धार कार्य गर्न र जनता जागरुक भएमा मानवीय क्षति रोकथाम गर्न सम्भव हुने कुरा यसपटकको घटनाले पुष्टि गरेको छ,’ उनले भने।

 

प्रकाशित: १२ श्रावण २०७३ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App