५ वैशाख २०८१ बुधबार
समाज

ओखलढुंगामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते

खोटाङ – ओखलढुंगामा सुमो जीप दुर्घटना हुँदा विवाहका लागि केटी हेर्न जाँदै गरेका युवकको मृत्यु भएको छ । काठमाडौंबाट यात्रु लिएर ओखलढुंगाको खिजीफलाँटे जाँदै गरेको ना १ ज ५६७८ नम्बरको सुमो पल्टिँदा सोलुखुम्बु बाकु–९ का ३७ वर्षीय ल्हाक्पा देण्डी शेर्पाको मृत्यु भएको हो । ११ जना सवार जीप खिजीदेम्बा गाउँपालिका–३ खिजीचण्डेश्वरीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

केटीको घर नपुग्दै शेर्पाको जीपमा च्यापिएर मृत्यु भएको जनाइएको छ । उनको उद्धारमा ढिलाइहुँदा मृत्यु भएको स्थानीयको भनाई छ । ब्रेक फेल हुँदा जीप सडकबाट पल्टिएको थियो। जीप दुर्घटनामा सोही ठाउँका किपा शेर्पा, डाली शेर्पा, लामाङ डेन्डी शेर्पा, आङ डेन्डी शेर्पा, दोर्जी शेर्पा, पशी शेर्पा, आङ गम्बु शेर्पा र थोक्पा शेर्पा घाइते भएका छन्। घाइतेलाई उपचारका लागि रामेछापतर्फ पठाइएको प्रहरीले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय खिजीफलाँटेले नियन्त्रणमा लिएको छ। 

यस्तै, ओखलढुंगाकै चम्पादेबी गाउँपालिका–२ नवलपुरबाट पलापुतर्फ जाँदै गरेको बा ४ ख ८०९८ नम्बरको ट्रक दुर्घटना हुँदा नाम र थर खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ । मिनी ट्रक दुर्घटनामा ओखलढुंगा चम्पादेवी–१ का युवराज बराल, अर्जुन रोका, काभ्रे भकुन्डेवेसीका हिरा तामाङ र सोही ठाउँका सुजन सापकोटा घाइते भएका छन् । घाइतेलाई उपचारको लागि विएण्डवी अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । ट्रकका चालक सिन्धुली फिक्कल गाउँपालिका–२ का यमकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: १७ भाद्र २०७४ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App