७ वैशाख २०८१ शुक्रबार
अन्य

‘महाभारतको अस्थिपञ्जरमा मांस भरेको हुँ’

घनश्याम कँडेल

कवि तथा समालोचक घनश्याम कँडेल यस वर्षको मदन पुरस्कार विजेता हुन् । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी र नेपाली दुवै विभागमा अध्यापन गराएका कँडेलको खण्डकाव्य धृतराष्ट्रले यस वर्षको मदन पुरस्कार पाएको छ । मदन पुरस्कार तथा  उनको कृतित्व र व्यक्तित्व सेरोफेरोमा रही विष्णु पोखरेल र वसन्त खड्काले गरेको कुराकानी:

प्रतिष्ठित मदन पुरस्कार पाउँदा कस्तो अनुभूत गर्नुभएको छ ?

खुसी नै लागेको छ । यस्तो प्रतिष्ठित पुरस्कारका लागि योग्य भएकामा मलाई गौरव नै लागेको छ । मैले यो कृति पुरस्कारका लागि लेखेको भने होइन । कुनै पनि लेखकले सायद पुरस्कारकै लागि लेख्दैन । आफ्ना रचना र सिर्जनाका माध्यमबाट मुलुकलाई केही योगदान दिन सकियोस् भनेर लेख्छु । सिर्जनाकै माध्यमबाट मुलुक र समाजलाई कमसेकम केही योगदान गर्न सकियोस् भन्ने अभिप्राय हुन्छ ममा । म सिर्जनामार्फत आजको समाजका जटिलतालाई, आजको जीवनका जटिलतालाई व्यक्त गर्न सकियोस् भनेर लेख्छु । पुरस्कारलाई केन्द्रमा राखेर त्यसैका लागि सिर्जना गर्ने भन्ने मैले कहिल्यै सोचिनँ ।

कविता केवल नारा नहोस् भन्नेमा म सधैँ सचेत हुन्छु । समाजलाई जे दिन खोजेको हो, त्यो दिन सकियोस् । कवितामा तुकबन्दी नहोस् । जबर्जस्ती छन्द मिलाइएको नहोस् । कवितामा कलात्मक सौन्दर्य होस्, भावलाई स्पष्ट पारिएको होस् र विचारको प्रस्ट होस् ।

कतिपयले आत्मसन्तुष्टिका लागि लेख्छु भन्छन्, सिर्जनाले तपाईंलाई कत्तिको आत्मसन्तुष्टि दिन्छ ?

आत्मसन्तुष्टिका लागि लेखिन्छ भन्ने एउटा धेरै पुरानो धारणा हो । कविता आत्मसन्तुष्टि वा जीवनका लागि लेख्ने भन्ने पुरानो विवाद हो । म कविता जीवनका लागि लेख्छु । जीवनका जटिलतालाई नै सिर्जनात्मक अभिव्यक्ति दिन रुचाउँछु । जीवन जगत्का जटिलतालाई सिर्जनामा उतारेपछि आत्मसन्तुष्टि त्यत्तिकै आइहाल्छ नि ! म आफैँ साहित्यको विद्यार्थी र अध्यापक भएकाले नारालाई कविता भन्न सक्दिनँ । कविता केवल नारा नहोस् भन्नेमा म सधैँ सचेत हुन्छु । समाजलाई जे दिन खोजेको हो, त्यो दिन सकियोस् । कवितामा तुकबन्दी नहोस् । जबर्जस्ती छन्द मिलाइएको नहोस् । कवितामा कलात्मक सौन्दर्य होस्, भावलाई स्पष्ट पारिएको होस् र विचारको प्रस्ट होस् ।

वर्तमान नेपाली कवितामा तपाईंले भनेजस्तो जीवन्तता, कलात्मकता, भाव र विचारको संयोजन पाइन्छ त ?

अहिलेको नेपाली कविता भनेर समग्र कवितालाई भन्न मिल्दैन । तर, विशेषगरी नयाँ कवि–लेखकमा भने तत्काल चर्चा कमाउन नारा लेख्ने चलन पनि देखिन्छ । कतिपय गम्भीर लेखक–कवि पनि छन् । उनीहरू आफूलाई खार्छन्, तिखार्छन् र परिष्कृत बनाउँछन्, अनि बल्ल चर्चा कमाउँछन् ।

बनारसमा अध्ययन गर्दा युद्धप्रसाद मिश्रलगायत प्रगतिवादी कविसँग संगत गर्नुभयो, तपाईंका कृतिमा पनि प्रगतिवादी भाव दर्शन्छ, प्रगतिवादी धारतिर कसरी आकर्षित हुनुभयो ?

म अहिलेसम्म कुनै पार्टीमा लागेको छैन, कुनै पार्टीको झन्डामुनि बसेको छैन । कुनै वादको आधारमा सिर्जना पनि गर्दिनँ । अब तपाईंले मेरा कृति पढेर प्रगतिवादी भन्न सक्नुहुन्छ । मैले कुनै वाद पछ्याएरभन्दा पनि आफू बाँचेको समाज, मेरो देश र मेरो समुदायका लागि केही दिन खोजेको हुँ । प्रगतिशील भनेको के ? समाज कहिल्यै पनि एउटै अवस्थाबाट गुज्रँदैन । हरेक क्षेत्रमा प्रगतिको गुञ्जायस हुन्छ नै, समाज पनि नदीजस्तै गतिशील हुन्छ । पानीको प्रवाहजस्तै यसको गति पनि अघि बढिरहेकै हुन्छ । अब म त्यही समाजमा बसेर त्यसकै सिर्जना गर्दा कसैले प्रगतिवादी देख्लान्, कसैले यथार्थवादी । तर म सिद्धान्तलाई मनमा राखेर वा त्यसलाई पछ्याएर सिर्जना गर्दिनँ ।

मेरो विचारमा साहित्य सिर्जना गर्दा कुनै वाद वा सिद्धान्त पछ्याएर गर्दा त्यसमा जीवन्तता आउँदैन । सिर्जना जीवन्त हुन समाजलाई हेरेर लेखिएको हुनुपर्छ । त्यसरी लेख्दा त्यो कसैका लागि प्रगतिवादी हुनसक्छ, कसैका लागि अर्कै । त्यो मैले तपाईंहरूकै जिम्मामा छाडिदिएको छु । मेरो उज्यालोतिर कृतिबारे ठाकुर पराजुलीले लेख्नु नै भएको छ, ‘यसमा कसैले प्रगतिवाद देख्नेछन्, मानवतावादीले मानवता देख्नेछन्, राष्ट्रवादीले राष्ट्रवाद देख्नेछन् ।’

यसको अर्थ, जसले जसरी अध्ययन गर्छन् वा जुन वादबाट निर्देशित हुन्छन्, त्यसलाई मेरा रचनामा पाउन सक्नेछन् ।

भनेपछि सिद्धान्तको कसीमा बाँधिएर साहित्य लेखिनुहुँदैन ?

सिद्धान्तको कसीमा साहित्य लेख्ने होइन, साहित्य सिर्जना भइसकेपछि त्यसलाई सिद्धान्तको कसीमा राखेर हेर्ने हो । मेरा कृतिमाथि पनि कति अध्ययन अनुसन्धान भएका छन्, भइरहेका पनि छन् । त्यसमा कसैले प्रगतिवाद खोजेका छन्, कसैले स्वच्छन्दतावाद त कसैले राष्ट्रवाद । त्यो उनीहरूको कुरा हो । जसले जुन विचार पछ्याउँछ वा जुन दृष्टिकोणले हेर्न चाहन्छ, त्यसैअनुसार विश्लेषण गर्न सक्छ ।

तपाईंले काव्यमा मात्र नभई समालोचनामा पनि कलम चलाउनुभएको छ, विश्वविद्यालयमा पाश्चात्य समालोचना नै अध्यापन गराउनुभयो, वर्तमान नेपाली समालोचनालाई कसरी हेर्नुहुन्छ ?

मैले अघि नै भनेँ, अहिले साहित्यमा छिटो चर्चा कमाउन चाहने धेरै छन् । त्यस्तै समालोचनामा पनि देखिन्छ । त्यसका लागि पाश्चात्य केही वाद टिप्ने र त्यसैका आधारमा सिर्जना आउने चलन बढेको छ । त्यसैलाई राम्रो भनेर लेखिदिने समालोचक पनि छन् । त्यो गलत प्रवृत्ति हो । जसले हाम्रो जीवन बोल्दैन, त्यसलाई पश्चिमा वादको कसीमा राखेर समालोचना गर्नु राम्रो होइन ।

अर्को कुरा के भने, अहिले पश्चिमा जगत्ले अक्टोपसले जसरी पन्जा फैलाएको छ– राजनीतिक, आर्थिक, सांस्कृतिक र साहित्य क्षेत्रमा । समालोचनामा पनि त्यही अक्टोपसको पन्जाले छोएजस्तो देखिन्छ । त्यसको अर्थ मैले पश्चिमा साहित्य, सिद्धान्त र वाद अध्ययन गर्नु हुँदैन भन्न खोजेको होइन । तर, त्यसको अन्धानुकरण गर्ने, आफ्नो मन रेको वादमा बाँधिएर लेखिएकोलाई राम्रो र अरुलाई नराम्रो भन्ने कार्यले न साहित्य न त समाजको उत्थान गर्छ ।

सिर्जनामा जीवन हुनुपर्छ । कुनै पनि कृतिमा जीवन हुन्छ । जीवन्तता नै नभएको साहित्यलाई कुनै वादमा आधारित भएर लेखिँदा राम्रो भनेर समालोचना गरिनुहुँदैन । जस्तो उत्तरआधुनिकतावादी बन्न रचना गर्ने वा त्यस वादमा अडिएर लेख्नेको प्रशंसा मात्र गर्नु उचित होइन । खासमा उत्तरआधुनिकतावादी हुन लेख्ने होइन, आफूले लेखेको कृति उत्तरआधुनिकवादी बन्नुपर्ने हो ।

तपाईंले महाभारतका कथा र मिथकका आधारमा काव्य लेख्दै आउनुभएको छ, किन महाभारतकै विषय रोज्नुहुन्छ ?

नेपाली समाजमा महाभारत, रामायणजस्ता कृतिको ठूलो प्रभाव छ । नेपालमा मात्र होइन, भारतमा पनि यसको ठूलो प्रभाव छ । यस हिसाबले मलाई लाग्यो, महाभारतको कथालाई टिपेर आफ्नो समाजको जीवन्त तस्बिर देखाउन सकियो भने त्यो प्रभावकारी हुनेछ । महाभारत वा रामायणका कथा र मिथकलाई जस्ताको जस्तै लेख्ने हो भने त त्यो साहित्य सिर्जना भएन । तर, ती कृतिमा अन्यायमा पारिएका पात्रलाई टिपेर नयाँ सिर्जना गर्दा त्यसले जीवन्तता पाउँछ । त्यसैले मैले महाभारतका कथाको अस्थिपञ्जर लिएर आफैँले मांस भर्ने काम गरेको हुँ । त्यसले गर्दा मेरा कृति आजको जीवनसँग मेल खाने बनेका हुन् । मैले देवयानी र विश्वामित्र मेनका काव्यमा र अहिले पुरस्कार पाएको धृतराष्ट्रमा पनि त्यही गरेको छु ।

मदन पुरस्कार जिताउने कृति धृतराष्ट्रमा समाजका साथै तपाईंको व्यक्तिगत जीवनका पीडा र भावना कत्तिको जोडिएका छन् ?

केही वर्षअघि म त्रिभुवन विश्वविद्यालय नेपाली विभागको विभागीय प्रमुख थिएँ । त्यसबेला मेरो दायाँ आँखामा समस्या आयो । म नदेख्ने भएँ । चेक गराउँदा आँखाको पर्दा फाटेको पत्ता लाग्यो । नेपालमा उपचार सम्भव भएन । भारतको मद्रास पुगेर उपचार गराउनुप¥यो । त्यसबेला मलाई केही समयका लागि कालो चस्मा दिइएको थियो । म लेख्न र पढ्न सक्दिनँथेँ । जब म केही समयका लागि दृष्टिविहीनजस्तै भएँ, त्यसको पीडा अनुभूत गर्न पाएँ । दृष्टिविहीनले कस्तो अवस्थाबाट गुज्रनु पर्दोरहेछ भन्ने मलाई ज्ञान भयो ।

महाभारतका अनेक पात्रलाई कथामा बुनेर लेख्ने मान्छे भएकाले मैले आफैँलाई धृतराष्ट्रसँग तुलना गर्न पुगेँ । खासमा अन्धा भएकै कारण धृतराष्ट्रलाई जेठो सन्तान हुँदाहुँदै पनि राजा बनाइएन । अन्धो भएकै कारण उनलाई अन्याय गरियो । मलाई त्यसले भित्रैदेखि छोयो । म अरु काममा पनि व्यस्त थिएँ, त्यसैबीच करिब डेढ वर्ष लगाएर मैले यो काव्य लेखे । मेरा छात्र एवं मित्र रामप्रसाद ज्ञवालीले एकदिन यो काव्य सुनेपछि प्रकाशन गर्न सहयोग गर्नुभयो र प्रकाशित पनि भयो ।

तपाईंको विचारमा धृतराष्ट्रको सबल र दुर्बल पक्ष के के हुन् ?

आफैँले आफ्नो कृतिको मूल्यांकन गर्नु सजिलो कुरा होइन । सबै लेखकलाई आफ्नो कृति राम्रै लाग्छ । यत्ति हुँदाहुँदै पनि धृतराष्ट्रको सबल पक्ष भनेको दृष्टिविहीन र अपांगको आवाजलाई यसले मुखरित गरेको छ । धृतराष्ट्रका माध्यमबाट मैले त्यो आवाजलाई बुलंद गर्न सफल भएजस्तो लाग्छ । अपांगको पनि असीमित क्षमता हुन्छ भन्ने पनि देखाउन म सफल छु जस्तो लाग्छ । वास्तवमा महाभारतमा नायक बनाइएका कृष्ण खलपात्र नै हुन्, मैले तिनलाई त्यस्तै रूपमा देखाउने कोसिस गरेको छु । कृष्ण त युद्ध अघि बढाउने नायक मात्र हुन् । अर्को कुरा मैले यसमा अन्याय रहेसम्म युद्ध असम्भव छ भन्ने दर्शाउन पनि खोजेको छु । यो सबल पक्ष हो । दुर्बल पक्ष भनेको यो खदिलो भए पनि सानो छ । महाभारत पढ्दा मलाई कृष्णले शिष्यलाई गुरु मार्न प्रेरित गरेको र कतिपय अवस्थामा युद्धको नियम समेत तोडेको देख्दा चित्त बुझेको थिएन । त्यसले मलाई धृतराष्ट्र लेख्न प्रेरित गरेको हो ।

युद्धको विरोध गर्दागर्दै तपाईंले धृतराष्ट्रमा युद्धको वकालत गरेको देखिन्छ नि ?

संसारभरका सबै विद्वान्ले युद्धको विरोध गरेकै छन् । कसैले पनि युद्धलाई समर्थन गर्दैन । त्यत्ति हुँदाहुँदै पनि किन युद्ध भइरहन्छ त ? मलाई त्यसैले घोच्यो । युद्ध हुनुका पछाडि कारण रहेछन् । जस्तो, अपांग, दलित, महिलालगायत माथि सदियौँदेखि अन्याय भइरहेको छ । त्यो अन्यायलाई कसैले पनि अन्त्य गर्न सकेको छैन । जबसम्म अन्याय अन्त्य हुँदैन, तबसम्म युद्ध समाप्त हुँदैन । मानिसले सकभर अन्य बाटोबाट न्याय खोज्छ । अन्य बाटोबाट नपाएपछि विद्रोह रोज्छ र युद्ध हुन्छ । मैले त्यही कुरा धृतराष्ट्रमार्फत व्यक्त गरेको छु ।

तपाईंको विचारमा अहिलेको नेपाली साहित्यको गति कुन दिशान्मुख छ ?

नेपाली साहित्य प्रगति उन्मुख नै देखिन्छ । अहिले नयाँ विधा आएका छन् । कथा एउटा विधाको रूपमा उदाएको छ । समाजमा जस्तै साहित्यमा पनि परिवर्तन आइरहन्छ । नेपाली साहित्यमा देखिएका परिवर्तन केही सकारात्मक छन्, केही नकारात्मक पनि छन् । परिवर्तन विशुद्ध परिवर्तनका लागि नहोस्, जसलाई देखासिकी भन्छन् । नेपाल पनि विश्व साहित्यभन्दा अलग हुन सक्दैन, त्यसको प्रभाव पनि देखिन्छ नै ।

नेपाली लेखकका रचना विश्व साहित्यसँग प्रतिस्पर्धी बन्न सक्ने अवस्था छ ?

नेपाली लेखकका रचना विश्व साहित्यसँग प्रतिस्पर्धा गर्न सक्ने खालका छैनन् भन्ने होइन । जस्तो देवकोटाको प्रमिथस महाकाव्य विश्वस्तरीय छ । देवकोटाकै निबन्धको कल्पनाको विलक्षणताले तिनलाई विश्वस्तरीय बनाएको छ । देवकोटाका निबन्ध पनि चाल्र्स ल्याम्बका निबन्धभन्दा कम छैनन् । तर हामीकहाँ त्यसलाई विश्वस्तरमा पु¥याइदिने वातावरण छैन । स्रष्टाले लेख्छ, त्यत्तिकै बस्छ । त्यसलाई बाहिरसम्म पु¥याउने काम भएको छैन । हाम्रा कृतिको अनुवाद गरिदिने मान्छे नै छैनन् । नेपाली साहित्यमा राम्रा कृति नभएका होइनन्, तिनले विश्व साहित्यको सम्पर्क भाषामा पुग्ने अवसर नपाएका मात्र हुन् ।

प्रकाशित: १७ भाद्र २०७४ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App