७ वैशाख २०८१ शुक्रबार
राजनीति

केन्द्रीय नेताको दौडाहा तीव्र

रौतहट- स्थानीय तह निर्वाचन हुन लागेको २ नं. प्रदेशमा विभिन्न पार्टीका केन्द्रीय नेताको दौडाहा बाक्लिएको छ । देशकै सबैभन्दा बढी नगरपालिका रहेको रौतहटमा पनि नेताहरुको आवतजावत ह्वात्तै बढेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष अशोककुमार राईलगायतले रौतहटका मतदातालाई भेटिसकेका छन् ।

केन्द्रीय नेता जिल्ला आउँदा विभिन्न पार्टी परित्याग गरी अर्को पार्टीमा टीका लगाउनेको संख्या पनि बढ्ने गरेको छ ।

दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा कुनै पनि पार्टीले सम्पूर्ण उम्मेदवारको घोषणा भने गरिसकेका छैनन् । उम्मेदवार घोषणामा एमाले अगाडि रहे पनि केही नगरपालिकामा अझै टुंगो लगाउन बाँकी छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि उम्मेदवारको छिनोफानो गर्न सकेका छैनन् । संघीय फोरम र राजपा नेपालको पनि हालत उस्तै छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा समेत कुनै पनि दलले सम्पूर्ण रुपमा उम्मेदवार टुंगो लगाउन नसक्नुको कारण दाबेदार धेरै हुनु नै हो । एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय फोरम तथा राजपा नेपालभित्र टिकटका लागि हानथाप गर्ने आकांक्षीको संख्या ठूलो छ । धेरैले उम्मेदवार बन्न चाहेकाले चित्त बुझाउन समस्या रहेको नेताहरु बताउँछन् ।

उम्मेदवारको टुंगो नलागीकनै ठूला दलका केन्द्रीय नेताको दौडाहाबाट कुन उम्मेदवारको पक्षमा कति मतदाता छन् र कसलाई टिकट दिएर कसको चित्त कसरी बुझाउन सकिन्छ भनेर मतदाता र उम्मेदवार दुवैको नाडी छाम्ने काम भएको छ । केन्द्रीय नेता जिल्ला आउँदा विभिन्न पार्टी परित्याग गरी अर्को पार्टीमा टीका लगाउनेको संख्या पनि बढ्ने गरेको छ । एउटा दलमा टिकट पाउने सम्भावना कम भएपछि अलि हैसियतवालाले अर्को दलको सहारा लिने प्रवृत्ति ह्वात्तै बढेको छ ।

एमाले नेता नेपालले पाँच दिनको रौतहट बसाइमा एक हजारभन्दा बढीलाई पार्टीमा भिœयाए । यसैगरी माओवादी अध्यक्ष दाहालले करिब तीन हजारलाई पार्टी प्रवेशको टीका लगाए । संघीय फोरमका सहअध्यक्ष राईले पनि करिब सय जनालाई एकै दिन पार्टी प्रवेश गराए । राजपा नेपालमा पनि प्रवेश गर्नेको लर्को ठूलो रहेको महासचिव अजय गुप्ताले दाबी गरेका छन् ।

एउटा पार्टी छोड्ने र अर्को पार्टी प्रवेश गर्ने क्रम उम्मेदवारले नाम दर्ता गर्ने दिनसम्म अलि तीव्र गतिमा र निर्वाचनको दुई दिनअघिसम्म अलि अलि चल्दै गर्ने नागरिक समाज रौतहटका सचिव विजय किशोर झाले बताए ।

प्रकाशित: १७ भाद्र २०७४ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App