७ वैशाख २०८१ शुक्रबार
समाज

बयालीस वर्षपछि सडक स्तरोन्नति

उदयपुर – बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ। 

जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो। 

गाईघाट–फत्तेपुर (सप्तरी) सडक खण्डको २०२४ सालमा उदयपुरगढीसम्म यातायात सञ्चालन गर्ने उद्देश्यले ट्याक खोलिएको थियो। करिब ३० किलोमिटर लामो सो सडक खण्डको १० किलोमिटरमा अहिले स्तरोन्नति गर्न थालिएको छ भने बाँकी २० किलोमिटरमा माटो काट्ने, पुर्ने, ग्राभेल गर्ने, पक्की नाली बनाउने, ह्युम पाइप राख्ने, स्ल्याब कल्भर्ट निर्माणलगायतको काम भइरहेको छ। 

बाहै्रमहिना सडक सञ्चालन सुचारु हुनेगरी स्तरोन्नति गर्न लागिएको स्थानीय विकास अधिकारी गणेश दाहालले बताउनुभयो । राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत करिब रु पाँच करोडको लागतमा १० किलोमिटर सडक कोलोपत्र तथा बाँकी भागमा ग्राभेल गरिने उनले बताए। 

अघिल्लो वर्ष ग्राभेल गरिएको त्रियुगा नगरपालिका–७ मोतिगढादेखि जोगिदहको हाटखोलासम्म सडक स्तरोन्नति गरिनेछ। बाँकी भागको स्तरोन्नतिका लागि रु पाँच करोड ९८ लाखमा ठेक्का दिने प्रकृया शुरु भएको छ। 

कालोपत्र गरिने खण्डमा दायाँबायाँ दुबैतर्फ १०÷१० मिटरको चौडाइमा कालोपत्र गरिने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । सडक स्तरोन्नति गरिएपछि जिल्लाको पूर्वी क्षेत्रका ग्रामिण भेगका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने हडियाका अर्जुन दाहालले बताउनुभयो । सदरमुकाम गाईघाट पूर्वका ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको कृिष उपजले बजार समेत पाउने छ। 

“सडक स्तरीय नहुँदा कृषि उपज वर्षौँदेखि खेतबारीमै कुहिने गरेको छ,” उनले भने। 

गाईघाट–फत्तेपुर सडक सञ्चालन भएपछि गाईघाटदेखि धरान, विराटनगरलगायतका पूर्वका विभिन्न शहरसम्म यातायात सेवा सहज हुनेछ। सडक सञ्चालन नहुँदा सदरमुकाम गाईघाटपूर्वका यात्रु सिरहा र सप्तरी भएर लामो बाटो प्रयोग गर्न बाध्य छन्। रासस 

प्रकाशित: १६ भाद्र २०७४ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App